मेलम्चीका अस्थायी संरचनामा चल्यो डोजर

सिन्धुपाल्चोक। सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकाले शनिबारबाट मेलम्ची बजारको मुख्य सडकको दाँयाबाँया बनेका अस्थायी संरचना एवं घर-टहरा हटाउन डोजर चलाएको छ।

३५ दिने सूचना दिएर आफैं हटाउन समय दिए पनि नहटाइका संरचना, सडक पेटी मिचेर बनाइएका संरचना, होडिङ बोर्डलगायतका समग्री हटाउन सुरु गरेको हो। ‘हामीले मेलम्ची बजारको मुख्य सडकको दायाँबायाँ बनेका अस्थाई संरचना हटाउन ३५ दिने सूचना जारी गरेका थियौं,' वडा-११ का अध्यक्ष चन्द्रबहादुर तामाङले भने, 'सूचनालाई बेवास्था गरी नहटाइएका संरचना डोजर लगाएर हटाउन सुरु गरेका हौं।'

मेलम्ची नगरपालिका-११ मा पर्ने मेलम्ची खानेपानीको साइट कार्यालयदेखि मेलम्ची बजार सहित होटल रिभर साइड इनसम्मको क्षेत्रमा मुख्य सडकको दायाँबायाँ निर्माण भएका अस्थायी संरचना हटाउन सुरु गरेको नगरपालिकाले जनाएको छ। स्थानीय सरकार सञ्चालन ऐन २०७४ बमोजिम नअटाईएका संरचना हटाउदा लाग्ने सम्पूर्ण खर्च घर धनी स्वयम्बाट असुलउपर गरिने समेत नगरपालिकाले जनाएको छ।

 मेलम्ची नगरपालिकालाई सुन्दर, फराकिलो र सौन्दर्ययुक्त बनाउने भन्दै गत पुस २६ गते बसेको कार्यपालिकाको बैठकले सडक अतिक्रमणको कारणले बजार क्षेत्र कुरुप हुँदै गएको भन्दै बजारको मुख्य सडकको दायाँबायाँ बनेका अस्थायी संरचना हटाउने निर्णय गरेको थियो। 

प्रकाशित मिति : १२ फाल्गुन २०८०, शनिबार  ४ : ४० बजे