रौतहटमा जग्गाको विवादमा झडप हुँदा एक जनाको मृत्यु

रौतहट । रौतहटको पूर्वी भेग दुर्गा भगवती गाउँपालिकामा जग्गाको विषय लिएर भएको दुई पक्षीय झडपमा एक जनाको मृत्यु भएको छ भने एक जना पक्राउ परेका छन् ।

दुर्गा भगवती-२ भलोहिया स्थित भएको दुई पक्षीय झडपमा स्थानीय वर्ष ४० का जयप्रकाश दासको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्गा भगवती-२ भलोहिया हाल पिपरा सिमानामा बस्दै गरेका ४० वर्षीय जयप्रकाश दास र सोही स्थानका ५० वर्षीय चन्देश्वर महतोबीच शुक्रबार अपरान्ह झडप हुँदा महतोले दासलाई धकेल्दा उनी भुइँमा लडेका थिए । लडेर अचेत भएका जयप्रकाश गाउँमा सामान्य उपचार पछि थप उपचारका लागि प्रादेशिक अस्पताल गौरमा लैजाँदा डाक्टरले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

हत्यामा संलग्न एक जनालाई पक्राउ गरिएको तथा घटना बारे थप अनुसन्धान भइरहेको रौतहट प्रहरी प्रमुख एसपी महेन्द्र कुमार श्रेष्ठले जानकारी दिनुभएको छ ।

मृतकको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल गौरमा राखिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । घटनास्थल सदरमुकाम गौर देखि झण्डै १५ किलोमीटर उत्तर पूर्वमा पर्छ ।

प्रकाशित मिति : १२ फाल्गुन २०८०, शनिबार  १० : ४० बजे