युक्रेन युद्धले दिएको पीडा : मृतक जीतबहादुरका १० वर्षका छोरोले गरे किरिया

​​​​​​​बागलुङ । बर्खा सकिएर चाडपर्व नजिकिँदै थिए । अक्करे भीरमा लर्किएको बाबियोले दसैँको निम्ता दिँदै थियो । घरछेउकै पाखोवारिमा सयपत्री र मखमलीमा कोपिला लाग्दै  थियो । अब दशैं तिहार जस्ता पर्व आउन धेरै टाढा थिएन। पर्वको मुखैमा गाउँघरबाट बिदेसिएकाहरू घर फर्कने लहर चलिरहँदा जीतबहादुर झोला बोकेर परदेश हिँड्नुभयो । केही वर्ष मलेसिया र दुबई मा काम गरेर फर्कँदासमेत जीतबहादुरको घरको ऋण घटेको थिएन।  परिवारको खर्च बढ्दो थियो । चाडबाडले पनि खर्च नै थप्थे । त्यसैले त जीतबहादुर रोकिनुभएन !

केही महिना पहिलेदेखि प्रक्रियामा रहेको रुस घुम्न जाने प्रवेशाज्ञा प्राप्त भएको खबर आयो । ऋणको बोझ घटाउने र परिवारलाई सुन्दर भविष्य दिने सपना बोकेर जीतबहादुर रुस उडे । 

बागलुङको ताराखोला गाउँपालिका–२ सिलेका जीतबहादुर विक रुस पुगेको पाँच महिना भयो । रुस पुगेपछि एकपटकमात्रै घरखर्च पठाएका विकले दोस्रोपटक पैसा पठाएर ऋणको व्याज बुझाउने बेला मृत्युको खबर आएको छ ।  पारिवारिक आर्थिक अवस्था सुधार्ने आशमा रुस पुगेका जीतबहादुरले अन्ततः सपना पुरा नगर्दै हार्नु पर्‍यो । 

युक्रेनविरुद्धको लडाइँमा ३६ वर्षीय विकको ज्यान गएको उहाँका साढु भाइ सनबहादुर विकले बताउनुभयो । ‘अनेकौँ समस्यासँग जुधेर राम्रो हुन्छ भनी रुस जानुभएको हो, सुन्दर सपनाहरू सुनाउनुहुन्थ्यो तर ती सपना उतै बिलाए,’ बिकले भन्नुभयो ‘जाने बेला त कम्पनीको काम हो भन्नुहुन्थ्यो, पछि सेनामा भर्ती भएको खबर आएको थियो ।’

तीन सन्तानका बाबु विकको मृत्युपछि सिले गाउँ यत्तिखेर शोकमग्न छ । परिवार छटपटीमा छ । एकातर्फ परिवारको मुली नै नफर्किने गरी परलोक गए भने अर्कोतर्फ ऋणको भारीले थप पीडामा परिवार छ । गत माघ २० गते निधन भए पनि परिवारजनलाई बुधबार मात्र जानकारी आएको थियो ।

पर्यटक भिसामा गत असोज ११ गते रुस पुगेका विक रुसी फौजमा भर्ना भएको सनबहादुरले बताउनुभयो । ‘त्यहाँ पु¥याएर दुई महिना शरणार्थी शिविरमा राख्यो रे, त्यसपछि भर्ती गरेको खबर पठाउनुभएको थियो,’ उहाँले भन्नुभयो, ‘यस्तो होला भन्ने लागेको थिएन् ।’

विक यसअघि गाउँमै गाडी चालक रहेको उनका साढु भाइ सनबहादुरले बताउनुभयो । ‘कहिले खाडी जानुभयो, कहिले मलेसिया, केही गर्दा नभएपछि मेरै गाडी चलाएर बस्नुभएको थियो,’ उहाँले भन्नुभयो, ‘रुस पुगेपछि कम्पनीमा काम पाउने र घरका समस्या समाधान गर्ने उहाँको सपना थियो ।’ जीतबहादुरकी श्रीमती बिष्णा विक र १२ वर्षकी छोरी तथा १० वर्षका छोरा घरमा छन् भने एक छोरीको विवाह भइसकेको छ । 

यसैबीच जीतबहादुरका १० वर्षका छोराले बाबुको कुशको शव बनाएर दाहसंस्कार गर्नुभएको छ । जीतबहादुरका १० वर्षका छोरा यत्तिखेर किरियामा हुनुहुन्छ । 

प्रकाशित मिति : ११ फाल्गुन २०८०, शुक्रबार  ११ : ५३ बजे