‘एउटै नाउरको सिकार गर्न २३ लाख’

सामूहिक हत्या अघि काजीको भिडियो रेकर्ड (सुसाइड नोट), श्रीमती परपुरुषहरूसँग लागेको आरोप

काठमाडौं । काठमाडौंको सितापाइलामा बुधवार भएको हत्याकाण्डपछि झुन्डिएको अवस्थामा फेला परेका राजु घिमिरे भन्ने काजी विश्वकर्माको मोबाइलबाट प्रहरीले सुसाइड नोट प्रकृतिको भिडियो फेला पारेको छ ।

काठमाडौं प्रहरी परिसर स्रोतका अनुसार काजीले घटनापछि उक्त भिडियो रेकर्ड गरेको देखिएको छ । भिडियोमा काजीले श्रीमती ईश्वरीमाथि अनेकन् लाञ्छना लगाएका छन् ।

धेरै परपुरुष सम्बन्धमा रहेको र केही घटनाबारे आफूलाई अहिले आएर थाहा पाएको उनले भिडियोमा बोलेको अनुसन्धान अधिकारी बताउँछन् । ईश्वरीले एक व्यक्तिमाथि लगाएको बलात्कारको आरोपमा पक्राउ परेका एक व्यक्ती गत फागुन १ गते मात्र धरौटीमा छुटेका थिए ।

प्रहरीका अनुसार भिडिओमा उनले भनेका छन्–मैले हिजो बेलुका भनेको काम गरिसकेको छु। मैले भनेको सबै कुरा भइसक्यो। यो भिडिओ सुनेर रमेशलाई र चितवनको केटालाई छाड्ने होइन। रमेशबारे पनि सबै कुरा तँलाई थाहा रहेछ (बुहारी जेनिशा)। तैँले सबै कुरा किन गुपचुपमा राखिस् ?तैँले सबै कुरा मलाई भनेको भए आज यो घटना नै हुने थिएन। तैँले मलाई पहिले नै केही कुरा भनिनस्, त्यही भएर मैले यस्तो निर्णय गरेँ । मैले बाँचेर गरी खाने ठाउँ भएन। त्यही भएर मैले यस्तो निर्णय गरेको छु। तिमीहरू मिलेर गरिखानू। ममीजस्तो भएर नहिँड्नु। त्यअनिशलाई चाबी र कागजपत्र जिम्मा दिएको छु। अनिशबाट तैँले लिनु, कसैलाई पनि नदिनु चाबी। सुन सबै दराजमै छ। अनिशलाई हेला नगर्नू,नत्र राम्रो हुँदैन ।

ईश्वरी र काजीका तर्फबाट एक छोरा र एक छोरी थिए। ईश्वरीको पहिलाको श्रीमानतर्फका एक छोरा र छोरीलाई काजीले स्विकारेर आफैसँग बसालेका थिए ।

ईश्वरी, ईश्वरीको पहिलाको श्रीमानतर्फको छोराकी छोरी र आफ्नी छोरीको हत्या गरेर काजीले बुधवार आत्महत्या गरेको प्रहरीको प्रारम्भिक निष्कर्ष छ ।

प्रकाशित मिति : ९ फाल्गुन २०८०, बुधबार  ६ : २८ बजे