अछाममा जिप दुर्घटना : एक बालकको मृत्यु, १६ जना घाइते

अछाम । अछामको चौरपाटी गाउँपालिका–५ लुग्रामा  जिप दुर्घटना हुँदा एक बालकको ज्यान गएको छ।

लुग्राबाट साँफेबगर आउने क्रममा जिप चौरपाटी गाउँपालिका–५ लुग्रामा दुर्घटना भएको हो । दुर्घटनामा १६ जना घाइते भएका भएका छन्।  घाइतेमध्ये तीनजनाको अवस्था गम्भीर रहेको छ ।

डोटीको पूर्वीचौकी गाउँपालिका–४ घर भई आमासँगै मावली घर लुग्रा आएका १८ महिनाका इशान खड्काको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ।  मृतक बालककी आमा अनिशा खड्का ,चौरपाटी गाउँपालिका–५  का आठ वर्षीय स्माइल रावल  र ११ वर्षीय आयुस खड्का गम्भीर घाइते भएको प्रहरीले जनाएको छ। 

घाइतेहरूको  बयलपाटा अस्पतालमा उपचार भइरहेको छ।  चौरपाटी बस्ने ५१ वर्षीय तेजबहादुर रावलले चलाएको से १ झ ४२९ नम्बरको जिप लुग्राको आमरुख नजिक दुर्घटना भएर करिब एकसय ५० मिटर तल खसेको थियो। 

घटना बारे अनुसन्धान भइरहेको अछाम प्रहरीका सूचना अधिकारी प्रहरी निरीक्षक राजेन्द्र साउदले जानकारी दिए।

प्रकाशित मिति : ९ फाल्गुन २०८०, बुधबार  १२ : २१ बजे