साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

‘नेशनल डे कन्सर्ट’ सम्पन्न

शिक्षामा ‘पहिलो भाषा पहिले’ किन?

फेब्रुअरी २१ मा अन्तर्राष्ट्रिय मातृभाषा दिवसमा बहुभाषिक शिक्षा नीति, अभ्यास र प्रभावका बारेमा चर्चा हुनेछ। युनेस्कोले २०२२-२०३२ लाई अन्तर्राष्ट्रिय मातृभाषा दशकको रूपमा मनाउने भनेको छ। यो वर्षको अन्तर्राष्ट्रिय मातृभाषा दिवसको मूल नारा "बहुभाषिक शिक्षा सिकाइ र अन्तरपुस्ताबीचको सिकाइको आधार स्तम्भ हो।" तय गरिएको छ। हामीले बुझ्नु पर्नेछ, "अन्तर्राष्ट्रिय मातृभाषा दिवस मनाउनुको अन्तर्य सरोकारवालाहरूलाई बहुभाषिक शिक्षाको आवश्यकता र महत्त्व बुझाउनु, ठीक कानुन, नीति र कार्यक्रम बनाउन सघाउनु र पहिचानमा भएको विविधताहरूलाई बलियो बनाउन सक्दा मात्रै राष्ट्रिय पहिचान बलियो हुन्छ भनेर सिकाउनु हो।"

 

नेपालको सन्दर्भमा यी तीनै क्षेत्रमा हामी असफल भइरहेका छौं। अझ कति असफल हुन्छौ, कुनै पत्तो छैन्। किनभने न हामीसँग बहुभाषिक शिक्षा कार्यान्वयन गर्ने नीति र कार्यक्रम छ, न सरोकारवालाहरूलाई यसको आवश्यकता र महत्त्व बुझाउन सकिएको छ, न त सरोकारवालाहरूमा पहिचान बलियो बनाउने संकल्पसहित दृढ इच्छाशक्ति देखिएको छ। शिक्षामा स्थानीय भाषा अर्थात मातृभाषाहरूको प्रयोगले प्राथमिकता नै पाएन। स्थानीय भाषाहरूलाई सरकारी कामकाजको भाषा बनाउने कुरो कागजमा मात्रै सिमित भएको छ। केही गैर-सरकारी संस्थाहरूले बहुभाषिक शिक्षा र साक्षरता कार्यक्रम गरेतापनि त्यसको प्रभावकारिता देखिएको छैन् किनभने शिक्षा तथा साक्षरताको आवरणमा धर्मान्तरणलाई सघाउने गतिविधिहरू हुने गरेका छन्।

 

भाषाले संस्कृति, संस्कृतिले समाजको प्रकृति र सामाजको प्रकृतिले राष्ट्रको संस्कृति र प्रवृत्तिलाई बलियो बनाउँदै समाज र राष्ट्रको पहिचान बलियो बनाउन सघाउँछ। यसका लागि शिक्षामा भाषाहरूको व्यवस्थित र सन्तुलित प्रयोग सुनिश्चित गर्नुपर्छ। जबसम्म शिक्षामा भाषा र संस्कृतिको प्रयोग व्यवस्थित, सन्तुलित, प्रभावकारी र नियमित बनाउन सकिन्न तबसम्म एकातिर राष्ट्रिय पहिचान सबल बन्दैन् र अर्कातिर सामाजिक-आर्थिक रूपमा देश कमजोर भइरहन्छ। सामाजिक-आर्थिक रूपमा कमजोर देश राजनीतिक र कूटनीतिक रूपमा पनि कमजोर हुन्छ। अनि बाह्य हस्तक्षेप बढेर नियन्त्रित अस्थिरता बढिरहन्छ। नेपालमा अहिले भइरहेको पनि त्यही हो।

 

यो दुश्चक्रबाट देशलाई मुक्त बनाउन हामीले शिक्षा व्यवस्थालाई पूर्वीय विश्वदृष्टकोणको जगमा आमूल परिवर्तन गर्दै राष्ट्रिय पहिचान सबल बनाउन सक्षम र असल नागरिक तयार गर्नुपर्छ। तर यसो हुन नदिन एकातिरबाट कम्फर्टेबल सत्ता गठबन्धन त अर्कातिरबाट भ्रमपूर्ण र विचारहीन लोकप्रियतावादीहरूले सत्ता, सदन, सडक, सञ्चार र सञ्जालको दुरूपयोग गरेर जनतालाई आक्रोशित र भ्रमित पारिरहेका छन्। त्यही जनआक्रोश र भ्रमलाई आफ्नो राजनीतिक धरातल बलियो बनाउने आधार ठान्दैछन्। त्यसैले यति बेला राष्ट्र र राष्ट्रियता बलियो बनाउन र देशलाई समृद्धिको यात्रा अघि बढाउन हामी वैचारिक, सामाजिक, सांस्कृतिक र आर्थिक रूपमा बलियो हुनुपर्छ। हामीलाई वैचारिक, सामाजिक, सांस्कृतिक र आर्थिक रूपमा बलियो बनाउने सबभन्दा बलियो माध्यम शिक्षा हो। जुन गुणस्तरीय पनि हुनुपर्छ। अन्तर्राष्ट्रिय मातृभाषा दिवस मनाउँदै गर्दा हामीले यो कुरो हेक्का राख्नुपर्छ।

 

अन्तर्राष्ट्रिय मातृभाषा दिवसका सन्दर्भमा ग्लोरिया ई. एन्जालडुवाको भनाइ बढी सान्दर्भिक हुनसक्छ,  “कुनै व्यक्तिबाट उसको भाषा खोस्नु भनेको उसको मौलिक क्षमता कमजोर बनाउनु र मानवताको अंश खोस्नु हो।” प्रत्येक भाषिक समुदायको भाषाको संरक्षण, प्रबर्द्धन र प्रयोग सुनिश्चित गर्नुपर्छ किनभने यो उनीहरूको मौलिक हक हो। तर नेपालमा भाषिक समुदायको भाषिक मानवअधिकार बेवास्ता गरिएको र लगभग खोसिएको अवस्था छ। तर सम्बन्न्धित भाषिक समुदायहरूले यो कुरो बुझ्ने प्रयास गरेका छैनन्।

 

हामीले बुझ्नु र बुझाउनु पर्छ, “साझा भाषा साझा संस्कृति निर्माणको आधार होइन।” (एण्डी मोलिन्स्की) किनभने “बेलायत र अमेरिका साझा भाषा भएर पनि विभाजित भएका थिए।” (जर्ज बर्नार्ड शा) भाषिक विविधतालाई स्वीकार गरेर मात्रै राष्ट्रिय साझा संस्कृति निर्माण गर्न सकिन्छ र राष्ट्रिय एकता बलियो बन्छ। यसका लागि न्यायलय, प्रशासिक कार्यालय र शिक्षालयहरूमा भाषाहरूको सन्तुलित प्रयोग सुनिश्चित गर्न हामी उदार र सहयोगी हुनुपर्छ।

 

शिक्षामा कुन तहमा कुन भाषालाई प्रमुख माध्यम भाषाका रूपमा प्रयोग गर्ने भन्ने सवालमा अझै पनि सरोकारवालाहरूबीच एउटै धारणा बन्न सकेको छैन्। जसका कारणले शिक्षामा भाषाहरूको सन्तुलित प्रयोग गर्नका लागि पाठ्यक्रममा नै स्पष्ट व्यवस्था हुन सकेको छैन्। तर सैद्धान्तिक रूपमा स्वीकारिएको के छ भने आधारभूत शिक्षामा पहिलो भाषा अर्थात घरको भाषा अर्थात मातृभाषालाई मुख्य माध्यम भाषा बनाउनु पर्छ। तर विचार एउटा व्यवहार अर्को भइरहेको छ। देशमा विचार एउटा भन्ने व्यवहार अर्को गर्ने प्रवृत्ति मुख्य समस्या बनेको छ। यो प्रवृत्ति सामाजिकदेखि लिएर राजनीतिक गतिविधिमा स्पष्ट देखिएको छ।

 

भाषामा शक्ति हुन्छ। त्यो शक्ति पुरानो अथवा एउटा पुस्ताबाट नयाँ अथवा अर्को पुस्तामा हस्तान्तरण गर्नका लागि पनि शिक्षामा भाषाहरूको प्रयोग सुनिश्चित गर्नुपर्छ। किनभने भाषाले हामी र हाम्रो समुदायलाई चिनाउँछ, यसले हामीलाई हाम्रो विश्वदृष्टिकोण व्यक्त गर्नमात्र होइन, हाम्रा क्षमताहरूको बजार बढाउन पनि सहयोग गर्छ। त्यसैले हामीले हाम्रा वास्तविकता, सन्दर्भ, संस्कृति, सामाजिक परिवेस र अनुभवहरूलाई बुझ्ने र अभिव्यक्त गर्ने क्षमता बढाउन पनि मातृभाषाहरूको प्रयोग शिक्षामा अनिवार्य गरिनुपर्छ।

 

आधारभूत शिक्षामा भाषा र भाषिक विविधता अर्थात पहिलो भाषा अर्थात घरको भाषा अर्थात मातृभाषालाई मुख्य माध्यम भाषा बनाउनुको मुख्य उद्देश्य विद्यार्थीहरूमा;

  • ·शैक्षिक उपलब्धिमा देखिएका असमानताहरू अन्त्य गर्ने
  • ·सिक्ने सीपहरूमा राम्रो आधार विकास गर्ने
  • ·विद्यार्थीमैत्री विद्यालयको वातावरण बनाउने
  • ·सबैलाई गुणस्तरीय शिक्षा दिने आधार तयार गर्ने
  • ·संज्ञानात्मक शक्तिमा सुधार गर्ने
  • ·विद्यालय छाड्ने प्रवृत्ति रोक्ने
  • ·विद्यार्थीहरूलाई जीवनपर्यन्त सिकारू बनाउने
  • ·विद्यार्थीको भाषिक समुदायहरूको पहिचान बलियो बनाउने
  • ·वैश्वीक नागरिक बन्ने आधार तयार गर्ने

 

यस प्रसँगमा बहुभाषिक शिक्षण विशेषज्ञ, भ्यालेन्टिना स्पिरोपौलोको विचार बढी सान्दर्भिक र प्रासँगिक हुन सक्छ, उनी भन्छिन्,  "जब बच्चाको सबैभन्दा बलियो भाषा अर्थात घरको भाषा माध्यम भाषासँग मेल खाँदैन, यसले गम्भीर चुनौतीहरू सिर्जना गर्छ अनि बच्चामा एक्ल्याइएको र बहिष्करणमा पारिएको अनुभूति गराउँछ।"

 

म्यानमारमा बसेर बहुभाषिक शिक्षामा काम गरिरहेकी केटी क्रेग भन्छिन्, "भाषाले पहिचान, जातीय र सांस्कृतिक मूल्यहरूलाई मूर्त रूप दिन्छ: एक फस्टाउँदै गरेको स्थानीय भाषाले यो अमूर्त सम्पत्तिलाई युवा पुस्तामा हस्तान्तरण गर्न मद्दत गर्नेछ।" हामीले बुझ्नुपर्छ, “भाषाहरू एकअर्काबीच संवाद गर्न, शिक्षा प्राप्त र प्रदान गर्न, परमपरागत ज्ञान, विज्ञान, कला र सीपहरू पुरानो पुस्ताबाट नयाँ पुस्तामा हस्तान्तरण गर्न, अभिलेख राख्न र सहज तरिकाले नयाँ कुरा सिक्न प्रयोग गरिन्छ।”

 

विद्यार्थीहरूको भाषिक, सांस्कृतिक र पारिवारिक पृष्ठभूमि, उनीहरूको सिक्ने क्षमता र शैली अनि शारीरिक बनौटमा भएका भिन्नताका कारणले उनीहरूलाई एउटै तरिकाले र एउटै भाषाका माध्यमबाट सिकाउन खोज्नु भनेको समावेसीताको विपरीत हो। त्यसैले भाषाहरूको सन्तुलित प्रयोग गर्ने नीति लिनुपर्छ किनभने विद्यार्थीहरूले जानेको भाषाबाट सिकाउँदै र जानेको विषय सिक्दै नयाँ भाषाबाट सिकाउने र नयाँ विषय पढाउने वातावरण बनाउन पनि आधारभूत शिक्षामा “पहिलो भाषा पहिले” नै प्रयोग गर्ने वातावरण तयार गर्न संघीयदेखि स्थानीय सरकार अनि अन्य सरोकारवालाहरू सक्षम हुनुपर्छ।

 

 

प्रकाशित मिति : ८ फाल्गुन २०८०, मंगलबार  ६ : ४५ बजे