प्रदर्शनका क्रममा वीरगन्जको विभिन्न ठाउँमा झडप, बजार बन्द

वीरगन्ज । वीरगन्जमा सोमबार हिन्दुवादीहरूले प्रदर्शन गर्दै बजार बन्द गराएका छन्।

रौतहटको ईशनाथ नगरपालिकाको घिउडा गाँउमा सरस्वतीको मूर्ति सेलाउने विषयलाई लिएर हिन्दु र मुस्लिम समुदायबीच पाँच दिनदेखि जारी विवादलाई लिएर वीरगन्जमा सोमबार हिन्दुवादीहरूले प्रदर्शन गर्दै बजार बन्द गराएका हुन्।

त्यसक्रममा बजार बन्द गराउँदै हिँडेका हिन्दुवादी र प्रहरीबीच ठाउँ ठाउँमा झडप भएको छ। यस्तै हिन्दुहरूले निकालेको विरोध जुलुसमा मुस्लिम समुदायका एक समूहले अवरोध गर्न खोज्दा प्रहरीले हस्तक्षेप गरेर स्थिति नियन्त्रणमा लिएको छ।

अहिले पनि वीरगन्जको मुख्य बजारको अवस्था तनावपूर्ण नै रहेको छ। चोक चोकमा हिन्दुवादी र मुस्लिमहरू छुट्टाछुट्टै भेला भएर बसेपछि ठूलो संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ।

हिन्दुवादीहरूले जुलुस निकालेर बजार बन्द गराउँदै हिँडेपछि समूह बनाएर मुख्य सडकमा आएका मुस्लिम समुदायको एक समूहले आदर्शनगर र महावीरस्थानमा हिन्दु धर्मको झण्डा च्यात्न थालेपछि स्थिति तनावपूर्ण बनेको भए पनि प्रहरीले हस्तक्षेप गरेर नियन्त्रणमा लिएको प्रहरी निरीक्षक मोहनविक्रम केसीले जानकारी दिए ।

यस्तै हिन्दु समाजले रौतहट,महोत्तरी लगायतका जिल्लामा हिन्दुमाथि अत्याचार भएको भन्दै त्यसमा संलग्नहरूलाई कारबाहीको माग गर्दै जिल्ला प्रशासन कार्यालय पर्सामा ज्ञापनपत्र बुझाएको छ।

प्रकाशित मिति : ७ फाल्गुन २०८०, सोमबार  ४ : ४७ बजे