यस्तो छ आजको मौसम पूर्वानुमान

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

आज आठौँ निर्वाचन दिवस, निर्वाचनलाई जीवन पद्धतिकोरुपमा ग्रहण गर्न आग्रह

काठमाडौं । आज आठौं निर्वाचन दिवस । २०१५ साल फागुन ७ गते नेपालमा आमनिर्वाचन प्रारम्भ भई नेपालीहरुको आफ्नो मताधिकार उपयोग गर्न पाएको महत्वपूर्ण दिनकोरुपमा स्मरण गरी ‘निर्वाचनको सफलता, निर्वाचन शिक्षाको व्यापकता’ भन्ने नारासहित मनाइँदैछ ।

दिवसको सन्दर्भमा प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले शुभकामना सन्देशमार्फत् निर्वाचनलाई जीवन पद्धतिकोरुपमा ग्रहण गर्न आग्रह गर्नुभएको छ ।

‘निर्वाचन दिवसले आम मतदाताहरूमा निर्वाचन र मतदानको महत्वलाई मनन् गरी निर्वाचनका क्रियाकलापहरूमा सरिक हुन सदैव जागरूकता र प्रेरणा प्राप्त हुनेछ भन्ने विश्वास व्यक्त गर्दै निर्वाचनलाई जीवन पद्धतिको रुपमा ग्रहण गर्न आग्रह गर्दछु,’ प्रमुख निर्वाचन आयुक्त थपलियाले भन्नुभयो ।

वर्तमान संविधान जारी भएपछि भएका दुई आवधिक निर्वाचन र विभिन्न समयमा सम्पन्न उपनिर्वाचन एवम् राष्ट्रियसभा सदस्यको निर्वाचनबाट देशभर करिब ८३ हजार ४ सय जनप्रतिनिधिहरू निर्वाचित भएका छन् ।

‘वर्तमान निर्वाचन प्रणालीलाई मितव्ययी र कम खर्चिलो बनाउन, बढ्दै गएको निर्वाचन तथा प्रचारप्रसार खर्चलाई नैतिकता र इमान्दारिताको अभ्यास, स्वनियन्त्रण पद्धतिको अनुशरण र सामाजिक सचेतनाको प्रयासबाट निस्तेज गर्ने विषयमा साझा संकल्प र इमान्दार प्रयत्नको खाँचो छ,’ प्रमुख निर्वाचन आयुक्त थपलियाले भन्नुभयो, ‘यस विषयमा राजनीतिक दल,आम मतदाता तथा सरोकारवालाहरूसँग निरन्तर सम्वाद र अन्तरक्रिया गरी उम्मेदवारले गर्ने खर्चको सीमा निर्धारण र अनुगमन संयन्त्रलाई प्रभावकारी बनाउने विषयमा आयोग सम्वेदनशील छ ।’

उहाँले विगतका निर्वाचनको तुलनामा पछिल्ला निर्वाचनहरू स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय एवम् मितव्ययी हुँदै गएको दाबी गर्नुभएको छ ।

प्रकाशित मिति : ७ फाल्गुन २०८०, सोमबार  १० : २० बजे