पत्रकारिताको मर्यादा बचाउन सम्पूर्ण पत्रकारहरू एक हुनुपर्ने

​​​​​​​बाँके ।  एमाले पोलिटव्यूरो सदस्य तथा प्रतिनिधि सभा सदस्य सूर्य थापाले सत्य, तथ्य विचार जनतामाझ लग्न जरुरी रहेको, त्यो काम प्रेस जगतको प्रमुख जिम्मेवारी भित्र पर्ने बताउनु भएको छ। 

प्रेस चौतारी नेपाल लुम्बिनी प्रदेशको प्रथम साधारण सभा तथा भेलालाई सम्बोधन गर्दै उहाँले श्रमजीविका मुद्दा, सङ्गठित, पेशागत दक्षता योग्य बनाउन प्रेस चौतारीले भूमिका खेल्नुपर्ने बताउनु भएको हो।
पत्रकार महासङ्घमा गठबन्धनका कारण जित्नुले हार्ने र हार्नुपर्नेले जित्ने परिपाटी सुरुवात भएको र यो प्रवृत्ति गलत भएको बताउनुभयो।‘

२००८ सालमा सत्यनारायण बहादुर श्रेष्ठले स्थापना गरेको पत्रकार महासङ्घ हाल विपुल पोख्रेल अध्यक्ष भएको महासङ्घ नै रहेको उहाँले बताउनुभयो।‘इतिहास मेटाउन पाइँदैन। म यो इतिहास मेटाउने खेलको विपक्षमा छु’, उहाँले भन्नुभयो‘पत्रकार महासङ्घको इतिहास तोडमोड गर्न पाइँदैन। यसमा म स्पष्ट छु।’चौतारी लुम्बिनी प्रदेशका अध्यक्ष शोभाखर पन्थीको अध्यक्षतामा सम्पन्न सभालाई सम्बोधन गर्दै केन्द्रिय उपाध्यक्ष गणेश पाण्डेले नयाँ पुस्तालाई सङ्गठित गर्नुपर्ने, पत्रकार महासङ्घमा नेतृत्व स्थापित गर्ने सवालमा चौतारीले भूमिका खेल्ने बताउनुभयो।

यस्तै संगठनकाअर्का उपाध्यक्ष सविन प्रियासनले प्रदेश सरकारले प्रदेश सञ्चार परिषद्लाई भूमिका दिन नसकेको प्रति गुनासो गर्दै दबाब सृजना गर्न आवश्यक रहेको धारणा राख्नुभयो।

प्रेस चौतारीका महासचिव हिरामान लामाले सङ्गठन निर्माण, विस्तार र सुदृढीकरणका लागी व्यक्तिवादी सिद्धान्त हाबी हुन नहुने, सामाजिक सञ्जालको प्रभावकारी प्रयोगमा ध्यान दिनुपर्ने बताउनुभयो।

सभालाई नेकपा एमाले लुम्बिनी प्रदेश प्रचार विभाग प्रमुख डिआर घिमिरे, नेकपा एमाले लुम्बिनी प्रदेश सचिव लक्षमण आचार्य, प्रेस चौतारी लुम्बिनी इन्चार्ज मोहन चापागाईँ, प्रेस चौतारी लुम्बिनी प्रदेशका सल्लाहकार भरत केसी, लुम्बिनी प्रदेश सञ्चार परिषद् संयोजक मिलन गाहा, संसदीय मामिला पत्रकारका अध्यक्ष घनश्याम गौतम, नेकपा एमाले दाङका अध्यक्ष हुकुमबहादुर बस्नेत लगायतका वक्ताहरूले परिवर्तनलाई संस्थागत गर्न सञ्चार क्षेत्रको भूमिका महत्वपूर्ण हुने भएकाले जनसरोकारको सवालमा कटिबद्ध भएर भूमिका खेल्नुपर्नेमा जोड दिनुभएको थियो ।

प्रकाशित मिति : ६ फाल्गुन २०८०, आइतबार  ९ : २२ बजे