झापामा विषालु सर्पको टोकाइबाट एक महिलाको मृत्यु

झापा।  झापाको कचनकवलमा विषालु सर्प कोब्राको डसाइबाट एक महिलाको मृत्यु भएको छ। 

मृत्यु हुनेमा कचनकवल गाउँपालिका–१ निवासी ओमबहादुर दाहालकी श्रीमती अन्दाजी ६५ वर्षीया टिकामाया दाहाल रहेकी जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। बिहीबार बिहान करिब साढे ११ बजेको समयमा आफ्नै खेतमा काम गरिरहेका बेला सर्पले दायाँ खुट्टामा डसेको थियो। 

घाइते भएकी उनलाई उपचारका लागि सर्पदंश उपचार केन्द्र बनियानी लगिएको थियो। उपचार केन्द्रमा पुर्‍याउँदासम्म उनको शरीरमा विष फैलिसकेको थियो। उनको शरीरमा अक्सिजनको मात्र पनि कम भइसकेको थियो। त्यहाँका चिकित्सकले उनलाई बचाउन १० वटा एन्टी स्नेक भेनम प्रयोग गरेका थिए। 

स्वास्थ्य अवस्था झन् गम्भीर बन्दै गएपछि केन्द्रमा भ्यान्टिलेर नहुँदा उनलाई थप उपचारका लागि बिर्तामोडस्थित बीएण्डसी अस्पताल रेर्फर गरिएको थियो। उनको उपचारका क्रममा बीएण्डसी अस्पतालमा दिउँसो १ बजेर ४० मिनेटमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक ढुण्डिराज गिरीले जानकारी दिए।

प्रकाशित मिति : ३ फाल्गुन २०८०, बिहिबार  ८ : १६ बजे