साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

‘नेशनल डे कन्सर्ट’ सम्पन्न

यी हुन् सहकारी ठगीमा फरार २९ जना

विवेकमाथि आक्रोशको वर्चस्व, गुम्दैछ सर्वस्व

" जब विवेकभन्दा आक्रोश माथि हुन्छ, तब त्यसले कहिल्यै सही बाटो लिदैन्।"

 

हाम्रा अपेक्षाहरू एकातिर चेतना र व्यवहार अर्कातिर भइरहेको छ। हिजोआज हामीमा विवेकभन्दा आक्रोश हाबी हुन थालेको छ। जसले गर्दा देशको अवस्था राम्रो अर्थात् समृद्ध नेपाल सुखी नेपाली बनाउने क्षमता भएको देशभक्त, प्रगतिशील र लोकतान्त्रिक राजनीतिभन्दा बाह्य स्वार्थमा रमाउने कम्फर्टेबवादी र अवसरवादी विचारहीन लोकप्रियतावादी राजनीति अनि नैतिक र चरित्रहीन पात्रहरूको बढी चर्चा भइरहेको छ। जबसम्म यो खालको भ्रमित जनमनोविज्ञान कायम रहन्छ, तबसम्म जनअपेक्षाहरू सम्बोधन नभएर जनतामा रहेको असन्तुष्टि र आक्रोश घट्नुभन्दा बढी रहन्छ।

 

जनतामा असन्तुष्टि र आक्रोश बढाउने राजनीतिक परिस्थिति तयार गर्न इण्डोवेष्टले आफ्नो प्रभाव र दबाब प्रयोग गरेर नेपालमा नियन्न्त्रित अस्थिरता बढाउँदै छ। इण्डोवेष्टलाई उसको प्रभाव विस्तार गर्न कम्फर्टेबवाद र अवसरवादी विचारहीन लोकप्रियतावादले प्रत्यक्ष भूमिका निर्वाह गरिरहेको छ। त्यसैले त उनीहरूले इण्डोवेस्टको स्वार्थमा एमसीसी परियोजना सांसदबाट अनुमोदन गर्न सघाए, खुकुलो नागरिकता विधेयक कार्यान्वयनमा ल्याए, असंलग्न परराष्ट्र नीति विपरीत हुने गरी क्रियाकलाप गर्न आफ्नो सामर्थ्यहरू लगाए र राष्ट्रिय स्वार्थ कमजोर बनाए। यो अवस्थाको अन्त्यका लागि सबभन्दा पहिले जनताको चेतना, विवेक र व्यवहारमा सकारात्मक रूपान्तरण गर्नुपर्छ। यसका लागि शिक्षा तथा सामाजिक व्यवस्थामा आमूल परिवर्तनसँगै प्रशासनिक, न्यायिक र आर्थिक व्यवस्थामा पनि संरचनात्मक परिवर्तन गर्नुपर्छ।

 

यति बेला हामी सत्य तथ्य बुझेर दृष्टिकोण बनाउने भन्दा पनि लहलहैमा लागेर हिँड्ने र भिडको भाषामा रमाउने भइदियौँ। जसले गर्दा राजनैतिक तथा संवैधानिक व्यवस्थामाथि प्रश्न उठिरह्यो। राजनैतिक परिवर्तनलाई दिगो, जनमुखी र देश समृद्ध बनाउने राजनीति कमजोर भइरह्यो। यसबाट स्पष्ट हुन्छ, जनताको व्यवहार विवेकले भन्दा आक्रोशबाट निर्देशित भइरहेको छ। जब विवेकभन्दा आक्रोश माथि हुन्छ, त्यसले कहिल्यै सही बाटो लिँदैन। हामीले बुझ्नुपर्छ, "समस्या सुनाउनु समस्याको समाधान होइन। त्यस्तै खराबका विकल्पमा झन् खराब खोज्नु र रोज्नु कदापि बुद्धिमानी होइन। एउटा गल्तीलाई अर्को गल्तीले सच्याउन सकिन्न। प्रचण्ड अर्थात् उपयोगितावादको १० वर्षे आतङ्क कमजोर बनाएका हामीले अवसरवादी विचारहीन  लोकप्रियतावादको अराजकता र स्वछन्दता खोजेका होइनौँ।"

 

खराबलाई खराब भन्न डराउनु पर्दैन। खराब पात्र र प्रवृत्तिलाई अघि लगाएर देशको अवस्थामा सकारात्मक परिवर्तन गर्न पनि सकिन्न। कसैले बारम्बार चर्को स्वरमा बोल्दैमा भ्रम सत्य हुँदैन र सत्यलाई असत्यले जित्न सक्दैन। अराजक र स्वछन्द प्रवृत्तिले देश समृद्ध बनाउने राजनीतिको नेतृत्व गर्ने नैतिक अधिकार पनि राख्दैन। लोकतान्त्रिक प्रणाली संस्थागत हुन नदिन ५२ सालतिर क्रान्तिको कुरो गरियो भने आज स्वतन्त्र र नयाँको नारा लगाईंदैछ। हिजो क्रान्तिको कुरो गर्ने र आज नारा लगाउनेहरूको रूप फरक देखिए तापनि सार अर्थात् उद्देश्य एउटै हो, इण्डोवेष्टको रणनीति सफल बनाउने। यो कुरो जनतालाई बुझाउन नसक्दा हिजो १० वर्षे हत्याहिंसा र ध्वंस व्यहोर्नु पर्‍यो भने भोलि देश इण्डोवेस्टको क्रिडास्थल बन्नेछ।

 

अवसरवादी विचारहीन लोकप्रियतावादलाई आदर्श मानेर पछि लाग्नु भनेको काशी जानु कुत्तिको बाटो हो। तर पनि हामी भ्रममा रमाएर भिडको लहलहैमा लागेर खराब पात्र रबी लामिछानेलाई आदर्श मान्दैछौं। विवेकभन्दा आक्रोशलाई माथि राखेर खराब पात्रको नेतृत्वमा देशको अवस्था बदलिने परिकल्पना गर्दैछौं। हामीले बुझ्नुपर्थ्यो, रबी लामिछाने नेपाली भर्सनका कारजाई-जेलेन्स्की हुन। तर बुझिरहेका छैनौँ किनभने हामी गलत सूचना र भ्रमलाई आधार बनाएर निर्णयहरू गरिरहेका छौँ। जबसम्म हाम्रो चेतनाले असल र खराब छुट्टाउने ल्याकत राख्दैन तबसम्म कहिले क्रान्ति त कहिले नयाँको नारामा अलमलिएर हामीले आफ्नो र देशको भविष्य अन्धकार बनाउन सघाइरहेका हुन्छौँ।

 

यो अवस्थाको अन्त्यका लागि सञ्चार माध्यम र सञ्चारकर्मीहरूले निष्पक्ष र स्वतन्त्र भएर सत्य तथ्य जनतासमक्ष पुर्‍याउने क्षमता देखाउन र खराबलाई खराब भन्न सक्नुपर्छ। समाजमा स्थापित गर्न खोजिएको गलत भाष्यलाई तथ्य र तर्कहरूले खण्डन गर्न सघाउनु पर्छ। राज्यको चौथो अंग भएर राज्यको स्वार्थमा सञ्चार माध्यमहरूले काम गर्नुपर्छ। पेसागत मूल्यमान्यता र मर्यादाभित्र रहेर सञ्चारकर्मीहरूले देशको पक्षमा सकारात्मक परिणाम ल्याउने गरी प्रश्नहरू गरेर समस्याको समाधानमा सहयोगी पनि बन्नुपर्छ। जनताको विवेक उन्नत बनाउन सघाउनु पर्छ।

 

जसले हिजो देशमा केही हुन्न भनेर राष्ट्रिय पहिचान नागरिकता त्याग्यो र अमेरिकन बन्यो आज त्यो पात्र देशको अवस्था बदल्छु भन्दै चर्को स्वरमा किन कराउँदै छ? देशलाई ढाँटेर त्यागेको नागरिकता देखाएर नेपाली राहदानी किन बनायो? अमेरिकी राहदानीमा पर्यटक बनेर आएको पात्रले कानुन विपरीत किन कसको स्वार्थमा काम गर्‍यो? फेरि उसका सन्तानहरू यस देशका नागरिक पनि होइनन् अनि कसका लागि देशको अवस्था बदल्छु भन्दै छ? अनि हिजोआज जान्नेलाई छान्ने भनेर देशलाई किन झुक्याउँदैछ? यी प्रश्नहरूको तर्क सङ्गत उत्तरविना नै भ्रममा परेर लहलहै लागेर त्यस्ता पात्रको पछि किन लागिरहेका छौँ? आफैँलाई प्रश्न गर्नुपर्ने भएको छ।

 

यति बेला हामी जनताले बुझ्नुपर्छ, विवेकभन्दा माथि आक्रोशलाई राखेर गरिने निर्णयहरू आत्मघाती हुन्छन्। ती आत्मघाती निर्णयहरूले भोलिका दिनमा राष्ट्रघातीहरूलाई बलियो बनाउने सम्भावना हुन्छ। अहिले नेपालमा जस्तो प्रकृति र प्रवृत्तिको राजनीति हुँदैछ अनि जस्तो चरित्र र नैतिकता भएको पात्रलाई राजनीतिक नेतृत्व ठानिदैछ, त्यसले भोलिका दिनमा राष्ट्र र राष्ट्रियतामाथि सङ्कट निम्त्याउने छ। सिक्किम भारतमा विलय हुनुमा यस्तै प्रकृतिको राजनीतिको भूमिका थियो। जनादेशबाट नै राजासँग मिलेर तिनले सिक्किम भारतमा बुझाएका थिए। उति बेला हामीले प्रचण्डलाई चिन्न सकेनौँ, यति बेला रबीहरूलाई चिन्न सकिरहेका छैनौँ। प्रचण्डलाई नचिन्दा के भयो, भोगिरहेका छौँ, अब रबीहरूलाई नचिनेर अर्को गल्ती नगरौँ।

 

नेपालमा राजनैतिक तथा संवैधानिक अस्थिरता कायम गर्न पहिले लोकतान्त्रिक प्रणालीका विरुद्ध प्रचण्डको नेतृत्वमा हतियार बोक्न र जनतालाई आन्तरिक रूपमा शरणार्थी बन्न बाध्य बनाइयो। यो नै युवा विदेश पलायनको एउटा मुख्य कारण हो। अहिले राजनीतिक दल र नेतृत्वका विरुद्ध गतिविधिहरू बढाएर राजनैतिक तथा संवैधानिक अस्थिरता अझ बढाउन नयाँ र स्वतन्त्रको नारा लगाईंदैछ। हिजो प्रचण्डलाई इण्डोवेस्टले प्रयोग गर्‍यो भने आज रबीहरूलाई प्रयोग गर्दैछ। तर यो कुरो न हिजो जनताले बुझे न त आज नै किनभने जनता खराब शिक्षा र सूचनाबाट प्रशिक्षित र दीक्षित भइरहेका छन्।

 

समृद्ध नेपाल सुखी नेपाली अर्थात् नयाँ नेपाल बनाउने हो भने हामीले हाम्रो शैक्षिक, आर्थिक, न्यायिक र प्रशासनिक प्रणालीको वस्तुनिष्ठ समीक्षा गरेर त्यसमा समयानुसार संरचनात्मक परिवर्तन पनि गर्नुपर्छ। यो अनिवार्य भइसक्यो। तर हामी भ्रममा छौँ र भन्दैछौं, राजनैतिक तथा संवैधानिक व्यवस्था ठीक भएन। राजनैतिक तथा संवैधानिक व्यवस्थामाथि दोष देखाएर जसरी हामी पन्छिदैछौं, त्यसले त बाह्य अर्थात् इण्डोवेस्टको स्वार्थ बलियो बनाउँदै छ।

 

आज हामीले बुझ्नुपर्छ, नवउदारवादको उदारीकरण र खुला बजारीकरणले नेपालको अर्थ व्यवस्था दलाल पुंजीवादको कब्जामा पुर्‍याइयो भने शिक्षामा निजीकरण, अंग्रेजीकरण र नि:शुल्कीकरणले सार्वजनिक शिक्षा ध्वस्त बनाइयो। प्रशासनिक र न्यायिक प्रणाली पनि दलालीमा रमाएको तिनका गतिविधि र निर्णयहरूले प्रमाणित गरिरहेको छ। जसले झ्यालखानाको चिसो छिँडीमा बस्नु पर्ने पात्रहरूलाई राजनीतिक नेता बन्न सघाएको छ। उदाहरणका रूपमा रबी लामिछाने र रेशमलाल चौधरीहरूलाई लिन सकिन्छ। हुन त अरू पात्रहरू पनि छन्। तर जल्दोबल्दो उदाहरण यी नै हुन्।

 

राष्ट्र र राष्ट्रियता सबल बन्नका लागि राष्ट्रिय पहिचानसँगै सामाजिक आर्थिक रूपमा हामी बलियो बन्नुपर्छ। हामी सामाजिक आर्थिक रूपमा हामी बलियो हुन हाम्रो आक्रोशमाथि विवेक हाबी हुनुपर्छ र हामीले देशभक्त, प्रगतिशील र लोकतान्त्रिक विचार बोकेको राजनीति र राजनीतिक नेतृत्वलाई चिनेर त्यसलाई बलियो बनाउनु पर्छ। सबै नेता र राजनीतिक दल खराब भन्ने गलत भाष्यबाट हामी मुक्त हुनुपर्छ। खराब र असल छुट्याउन सक्नुपर्छ। सामाजिक सञ्जालहरूलाई सूचनाको श्रोत बनाएर धारणा बनाउने बानी छोड्नु पर्छ। अनि मात्र देशको अवस्था र जनताको मनोविज्ञानमा सकारात्मक परिवर्तन देखिन थाल्नेछ। अन्यथा विवेकमाथि आक्रोशको वर्चस्व बढी रहन्छ अनि कम्फर्टेबलवादी र अवसरवादी विचारहीन लोकप्रियतावादीहरूको राजनीतिक दुकान चलिरहन्छ। यो दुकानले राष्ट्रिय स्वार्थ कमजोर पारिरहन्छ।

 

प्रकाशित मिति : १ फाल्गुन २०८०, मंगलबार  ५ : २० बजे