‘एउटै नाउरको सिकार गर्न २३ लाख’

घुस रकमसहित समातिएका वडा अध्यक्ष धरौटीमा छुटे

काठमाडौं ।  काभ्रेको बनेपा नगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष नृपेश बादे विरुद्ध दायर गरिएको भ्रष्टाचार मुद्दामा विशेष अदालतले १५ लाख धरौटीमा छाड्ने आदेश दिएको छ । आईतबार साँझ नै बादे १५ लाख धरौटी बुझाएर तारेखमा छुटेका छन् । उनलाई २०८० माघ ३ गते साँझ भक्तपुरबाट घुस रकम सहित अख्तियारको टोलीले पक्राउ गरेको थियो ।

विशेष अदालतका अध्यक्ष समेत रहेका न्यायाधीश टेकनारायण कुँवर, न्यायाधीशद्धय तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासमा भएको थुनछेक बहसबाट बादेलाई घुस लिए बराबरको रकम धरौटी माग गरेको हो । विशेष अदालतका उप रजिस्ट्रार, प्रवक्ता तथा सूचना अधिकारी धनबहादुर कार्कीका अनुसार बादे विशेष अदालतको आदेश अनुसार धरौटी बुझाएर रिहा भएका हुन् । घरबाटो सिफारिस गर्ने प्रयोजनका लागि सेवाग्राहीसँग घुस मागेको उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले अध्यक्ष बादेको साथबाट जापानी रुपैयाँ १० हजार र अमेरिकी डलर एक सय रुपैयाँ पनि बरामद गरेको थियो । 

काठमाडौ जिल्ला अदालत, काभ्रेपलाञ्चोक जिल्ला अदालत, उच्च अदालत पाटन, मालपोत कार्यालय काभ्रेपलाञ्चोक, नापी कार्यालय काभ्रे लगायतका निकायबाट भएको निर्णय, फैसला कार्यान्वनका क्रममा २०७० पुष ७ गते देखि वडा कार्यालयमा सिफारिसका लागि पुगेका सेवाग्राही रामेछाप जिल्ला गुम्देल गाविस वडा नम्वर ४ घर भई हाल काठमाडौ जिल्ला काठमाडौ महानगरपालिका वडा नम्वर ६ बौद्ध महांकाल बस्ने ४७ बर्षिय वाङछु शेर्पा पछिल्लो पटक उच्च अदालतको १५ दिने परमादेश बोकेर २०८० साल असोज २४ गते बनेपा नगरपालिका वडा नम्वर ९ को कार्यालयमा पुगेका थिए । सेवाग्राहीलाई तथ्य, प्रमाण र मुलुकका आधिकारीक निकायले सिफारिस दिनु, नरोक्नु, रोक्नुपर्ने कुनै कारण छैन भनेर गरेको परमादेशलाई समेत वडा अध्यक्ष नृपेश बादेले अस्विकार गरेको उजुरीमा उल्लेख छ । 

साविक दक्षुटोल गाविस वडा नम्वर ३ कित्ता नम्वर १७८, १८१, १९५, २२८, २२९, १९६, २०२, ६०३ र १०१ को जग्गाहरु मध्ये विश्वचन्द्र बादे श्रेष्ठको नाममा पर्ने जग्गा लिलाम गरी विगो भरी भराउ गर्न २०७० जेठ १४ गते र २०७० जेठ ३१ मा लिलाममा चढाउँदा समेत कसैले पनि लिलाम सकार नगरे पछि वाङछु शेर्पा आफैले सकार गरेका थिए । २०७० पुष ७ गतेको दा.खा. पुर्जी बमोजिम दा.खा. दर्ता गरिदिनु पर्नेमा विपक्षी विश्वचन्द्र बादे लगायत, तत्कालिन समयका वडा सचिवहरु, वडा अध्यक्षहरुले दा.खा गर्न सिफारिस नगरी दिएका कारण संविधानद्वारा प्रदत्त मौलिक हक र कानूनद्वारा प्रदत्त कानूनी हकमा गम्भिर आघात पुग्नुका साथै अपुरणीय क्षति पुगेको भन्दै उच्च अदालत पाटनमा परमादेशका लागि शेर्पा पुगेका थिए । उच्च अदालत पाटनका न्यायाधीशद्वय राजेन्द्र खरेल र कृष्णराम कोईरालाले वडा कार्यालय, वडा अध्यक्ष, मालपोत कार्यालय काभ्रेपलाञ्चोक र विश्वचन्द्र बादे श्रेष्ठ विरुद्ध २०८० असोज २४ गते परमादेशको आदेश गरेका थिए । उक्त आदेश समेत वादेले मानेका थिएनन । मुद्दा दायर भए लगत्तै वडा अध्यक्ष नृपेश बादे निलम्वनमा परेका थिए । मुद्दाको अन्तिम टुङ्गो नलाग्दासम्म उनले कुनै जिम्मेवारी बहन गर्न पाउने छैनन ।बादे नेपाली काग्रेंसबाट टिकटलिई बिजयी बनेका थिए ।   बनेपा ९ मा कार्यवाहक अध्यक्ष मनिषा तामाङलाई तोकिएको छ ।

प्रकाशित मिति : २८ माघ २०८०, आइतबार  ७ : ३२ बजे