विदेशिए गोठाला, हराए गोठ

यस्तो छ आजको मौसम पूर्वानुमान

आलमको मुद्दाका साक्षी झिकाउने आदेश

​​​​​​​रौतहट । जिल्ला अदालत रौतटले पहिलो संविधानसभा निर्वाचनको पूर्वसन्ध्यामा रौतहटको राजपुर गाउँमा भएको बम बिस्फोटको घटनाको आरोपी नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री मोहमद अफताब आलमविरुद्ध दायर मुद्दाका साक्षी झिकाउने आदेश गरेको छ । आइतबार भएको आदेशमा घाइतेको फरेन्सी जाँचको प्रतिवेदनसमेत माग गरिएको छ । 

न्यायाधीश मातृकाप्रसाद आचार्यको इजलासमा आलमको पेसी तोकिएको थियो । १६ वर्ष पुरानो मुद्दाको अन्तिम सुनुवाइका लागि पेसी तोकिएकोमा अझै बकपत्रका लागि साक्षीहरु उपस्थिति नभएकाले झिकाउन आदेश भएको अदालतका श्रेस्तेदार माधव ढोडारीले जानकारी दिए । 'धेरै प्रहरी नै बकपत्रका लागि आएका छैनन्', उनले भने 'अब सबै साक्षीलाई झिकाउन जिल्ला प्रहरीलाई पत्राचार गर्छौं । अदालतले बिस्फोटमा घाइते गौरी शंकररामको स्वास्थ्य परीक्षणको रिपोर्टसमेत मागेको छ ।

विस्फोटक पदार्थ प्रयोग गरी ज्यान मार्ने उद्योग तथा कर्तव्य ज्यानसम्बन्धीको कसूरको मुद्दामा अन्तिम सुनुवाइका लागि पेसी तोकिएको थियो । प्रतिवादीको तर्फबाट अधिवक्ता मोहम्मद मजरुल हक साबिर हुसेन आफताब आलम लालबाबु रायले बहस गरेका थिए । बादीका तर्फबाट पुष्प पौडेल र जिल्ला न्यायाधिवक्ता बद्रीकुमार कार्कीले बहस गरेका थिए । जिल्ला न्यायाधिवक्ता कार्कीले अदालतसमक्ष साक्षी झिकाउन माग गरेका थिए ।

अदालतले आलम लगायतका ११ जनाविरुद्ध दायर भएको विस्फोटक पदार्थ बम समेतको प्रयोग गरी ज्यान मार्ने उद्योग तथा कर्तव्य ज्यानसम्बन्धी कसुरमा अन्तिम सुनुवाइका लागि पेसी तोकेको हो ।

प्रकाशित मिति : २८ माघ २०८०, आइतबार  ६ : ५० बजे