‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

पाकिस्तान निर्वाचनः इमरान खान समर्थित उम्मेद्वार सबैभन्दा धेरै स्थानमा विजयी

काठमाडौं। जेलमा रहनुभएका पाकिस्तानी पूर्वप्रधानमन्त्री इमरान खानले बिहीबार भएको आमनिर्वाचनमा विजयी भएको दाबी गर्दै आफ्ना समर्थकहरूलाई उत्सव मनाउन आह्वान गर्नु भएको छ ।

खानसँग जोडिएका स्वतन्त्र उम्मेदवारले अहिलेसम्म अधिकांश सिट जितेका छन् । अधिकांश सिट घोषणा भइसकेका छन् । खानको पार्टीलाई निर्वाचनमा पार्टीका रुपमा भाग लिन र आफ्नै निर्वाचन चिह्न प्रयोग गर्न रोक लगाइएको थियो ।

त्यसैले खानको पिटिआई समर्थित उम्मेद्वारले स्वतन्त्र उम्मेद्वारी दिएका थिए । मत गणनाको पछिल्लो परिणाम अनुसार पिटिआईले ९१ स्थानमा जित हासिल गरेको छ । यसैगरी अर्का पूर्व प्रधानमन्त्री नवाज सरिफको पार्टी पाकिस्तान मुस्लिम लिगले ७१ स्थानमा जित हासिल गरेको छ ।

यस्तै पूर्व प्रधानमन्त्री बेनिजिर भुटोका छोरा बिलाबल अलि भुटो जर्दारीको दल पिपिपिले ५१ स्थानमा जित हासिल गरेको छ । अन्य दलहरुले २६ सिट जितेका छन् । निर्वाचन परिणामले कुनै पनि समूह वा दलले समग्र बहुमत ल्याउने अवस्था छैन ।

पूर्व प्रधानमन्त्री खानले भिडियो सन्देश पोष्ट गर्दै आफ्नो दललाई लगाइएको प्रतिबन्धका बाबजुद पनि ठूलो विजयी भएको बताउनु भएको छ । हाल जेलमा सजाय् काटिरहनुभएका खानले आफू माथि लगाइएको आरोप राजनीतिक रुपमा अभिप्रेरित भएको बताउनु भएको छ ।

पीटीआई-सम्बद्ध उम्मेदवारहरूको सफलता अप्रत्याशित भएको धेरै विज्ञहरूले बताएका छन् । निर्वाचनमा पूर्व प्रधामन्त्री शरिफलाई देशको शक्तिशाली सेनाको समर्थन रहेको विश्वास गरिएको थियो । निर्वाचन अघि सरिफको दल विजयी हुने अनुमान समेत गरिएको थियो । तर नतिजा भने फरक आएको छ ।

निर्वाचन आयोगको नियम अनुसार स्वतन्त्र उम्मेदवारहरू चुनावमा निर्वाचित भएपछि निर्वाचन चिह्न भएको कुनै दलमा आबद्ध हुने अनुमान गरिएको छ । पिटिआईको चुनाव चिह्न नभएका कारण खानको दलले समर्थन गरेका उम्मेदवारहरू अर्को दलमा जानुपर्ने बाध्यता छ ।

प्रकाशित मिति : २७ माघ २०८०, शनिबार  ८ : ४४ बजे