राजनीतिमा विचार गौण, नेतृत्वमा व्यक्तिगत स्वार्थ र कुर्सी प्रधान भयो भने त्यहाँ कम्फर्टेबलवाद र लोकप्रियतावाद अर्थात अवसरवाद हावी हुन्छ। जसले राष्ट्रिय स्वार्थमाथि चुनौती दिने नियतका साथ राजनीति गरेर राष्ट्रघात गरिरहेका छन्। आज यही राष्ट्रघातको राजनीति बलियो बनाउन शेरबहादुर देउवा र माझण्ड (माधव, झलनाथ र प्रचण्ड) हरू कम्फर्टेबल सत्ता गठबन्धन कायम गरेर त रवी लामिछानेहरू लोप्रियतावादको निलो झण्डा बोकेर चर्चको घण्टी बजाउँदै जनतालाई झुक्याउने प्रयास गरिरहेका छन्। जनता पनि हो कि क्या हो भन्ने भ्रममा तिनै खराब पात्रहरूप्रति भरोसा गर्न खोजिरहेका छन्।
इण्डोवेस्टले नेपाली काँग्रेसबाट पूर्ण रूपमा आफ्नो रणनीति सफल नहुने निर्क्योल भएपछि २०५२ सालदेखि प्रचण्डलाई अघि लगाएर जनक्रान्तिको आवरणमा हत्याहिंसा र ध्वंसको राजनीति सुरू गराएको थियो। अलि पछि प्रचण्डबाट पनि पार नलाग्ने भएपछि कम्फर्टेबल सत्ता गठबन्धन बनाउन सघायो। अहिले कम्फर्टेबल सत्ता गठबन्धनमा पनि त्यो क्षमता नदेखिएपछि भूतपूर्व नेपाली रवी लामिछानेको नेतृत्वमा रास्वपा खडा गरायो र हिजो आफूले तयार गरेका पात्रहरूलाई बिस्तारै समावेस र संलग्न पनि गराउँदैछ। इण्डोवेस्ट कै रणनीतिअनुसार डा. स्वर्णिम वाग्लेलगायतलाई नेपाली कांग्रेस छोडाएर रास्वपामा प्रवेस गरायो। रास्वपालाई भूतपूर्व नेपालीहरूको साथ सहयोग पनि जुटाउँदैछ। भोलिका दिनमा यी सबै पक्षको संलग्नतामा अर्को कम्फर्टेबल गठबन्धन पनि बनाउने छ। झट्ट हेर्दा आरोप लगाएको जस्तो देखिएतापनि यथार्थ यही हो।
हाम्रो विवेक र चेतनाले समयमा नै न नेपाली कांग्रेसको राजनीतिक चरित्र चिन्न सक्यो, न प्रचण्डको नियतलाई बुझ्न सक्यो, न त रास्वपाको नेतृत्वको चरित्रलाई नै बुझ्न सकिरहेको छ। हाम्रो यो कमजोरीमा इण्डोवेस्टले बेला-बेलामा बेग्ला-बेग्लै पात्र र प्रवृत्तिहरूलाई प्रयोग गरेर नेपालको आन्तरिक राजनीतिमा आफ्नो प्रत्यक्ष हस्तक्षेप बढाइरहेको छ। यसका लागि इण्डोवेस्टले नेपालको देशभक्त, प्रगतिशील र लोकतान्त्रिक राजनीतिलाई विवादित र विभाजित गरेर बदनाम गर्न देउवा र माझण्डहरूको उपयोग गरिरहेका छ। माझण्डहरूको नेतृत्वमा त नेकपा हुँदै एमालेमा जबरजस्त विभाजन गराइएको थियो। आमजनताको आशंका र प्रश्नहरूका बीच अमेरिकी परियोजना एमसीसी संसदको सामान्य बहुमतबाट अनुमोदन गरिएको थियो भने जलविद्युत परियोजनाहरू कब्जा गरिदैछ। खुकुलो नागरिकता विधेयक फर्जी तरिकाबाट कार्यान्वयनमा ल्याइएको छ।
त्यतिमात्र होइन, त्यही प्रकृतिको रणनीतिबमोजिम नेपालमा राजनैतिक तथा संवैधानिक अस्थिरता सिर्जना गरेर इण्डोवेस्टले भाषिक, सांस्कृतिक र धार्मिक अतिक्रमण पनि बढाइरहेको छ। तर हामी नेपालीहरू भने सत्यतथ्य नै नबुझी इण्डोवेस्टको षडयन्त्र र रणनीति असफल बनाउनभन्दा सफल बनाउने सहयोगी भूमिकामा देखिएका छौं। जसले एकातिर राजनैतिक तथा संवैधानिक अस्थिरता बढाएर लोकतान्त्रिक गणतन्त्रलाई असफल बनाउँदै छ भने अर्कातिर देशभक्त, प्रगतिशील र लोकतान्त्रिक राजनीतिलाई कमजोर बनाएर सार्वभौम र समृद्ध नेपाल सुखी नेपाली बनाउने राष्ट्रिय आकांक्षा कमजोर हुँदैछ।
यो लेखकको बुझाइमा जबसम्म शिक्षा व्यवस्थासँगै प्रशासनिक, आर्थिक, न्यायिक र सामाजिक संरचनामा संरचनात्मक परिवर्तन गरेर देशभक्त, प्रगतिशील र लोकतान्त्रिक राजनीतिलाई बलियो बनाउन सकिन्न तबसम्म नेपालमा इण्डोवेस्टको रणनीतिक स्वार्थमा राजनीति गर्ने देउवा, माझण्ड र रवीहरूको हल्ला र सक्रियता बढीरहन्छ। जनता पनि लोकतान्त्रिक गणतन्त्र र राजनीतिमाथि प्रश्नहरू उठाइरहन्छन् र असन्तुष्ट भइरहन्छन्। जनतामा बढेको असन्तुष्टीको जगमा देश विरोधी राजनीति बलियो भएर राष्ट्रिय स्वार्थ कमजोर भइरहन्छ। यो आजको राजनीतिक र सामाजिक यथार्थ हो।
नेपालको स्वार्थ बलियो बनाउन हामीले सबभन्दा पहिले नागरिकहरूलाई क्षमतावान, नैतिकवान, चरित्रवान, सकारात्मक र रचनात्मक बनाउनु पर्छ। नागरिकको मनस्थिति सकारात्मक र रचनात्मक बनाउँदै २१ औं शताब्दीका चुनौतीहरूलाई सामना गर्न सक्ने क्षमता विकास गर्न शैक्षिक, आर्थिक, प्रशासनिक र न्यायिक व्यवस्थामा समयानुकुल सुधार र परिवर्तन गरिरहनु पर्छ। तर यसो गर्न हाम्रो राजनीतिक, प्राज्ञिक, प्रशासनिक र न्यायिक नेतृत्वहरू अनपेक्षित रूपमा असफल भइरहेका छन् किनभने उनीहरू राजनीतिबाहेक शैक्षिक, प्रशासनिक, आर्थिक, न्यायिक र सामाजिक संरचनामा पनि संरचनात्मक परिवर्तनका लागि संवैधानिक र नीतिगत परिवर्तन गर्न चुकेको देखिन्छ। तर आरोपित राजनीतिक नेतृत्वमात्र भइरहेको छ। जबकी न सबै खराब छन् न त सबै असल छन् भनेर हामीले बुझ्न र हाम्रो मति र गति पनि सुधार्न सकेनौं। जसले गर्दा २०४६ सालको राजनैतिक परिवर्तनपछि अपेक्षित गतिमा देशको परिस्थिति र जनताको मनस्थितिमा परिवर्तन पनि देखिएन।
यसो हुनुमा २०४६ सालको राजनैतिक परिवर्तनपछि त्यो परिवर्तनलाई नाकाम बनाउन इण्डोवेस्ट र तत्कालिन दरबारले सहकार्य र लगानी गरेर प्रचण्डको नेतृत्वमा माओवादीलाई सक्रिय बनाएको थियो। अहिले पनि त्यही प्रकृतिको सहकार्य र लगानी गरेर लोकतान्त्रिक गणतन्त्र असफल बनाउँदै देश असफल बनाउने प्रयासहरू भइरहेका छन्। अहिले मात्र पात्र र प्रवृत्तिहरू फेरिएका र नयाँ थपिएका छन्। त्यसैले आज राजनीतिलाई वैचारिक, लोकतान्त्रिक, जनमुखी र देशमुखी बनाउन प्राज्ञिक वर्गले सकारात्मक भाष्यका साथ रचनात्मक भूमिका निर्वाह गर्दै गुणदोषका आधारमा राजनीतिक पात्र र प्रवृत्तिहरूको टिप्पणी र विश्लेषणहरू गर्न सक्नुपर्छ। सञ्चार माध्यमहरूले स्वतन्त्र र निष्पक्ष भएर राज्यको चौथो अंगका रूपमा काम गर्ने क्षमता र योग्यता देखाउनु पर्छ। यसरी प्राज्ञिक वर्ग र सञ्चार माध्यम अघि बढ्न तयार भए भने जनतामा देखिएको भ्रम हटेर असन्तुष्टी पनि घट्नेछ। जनतामा भ्रम हट्न र असन्तुष्टी घट्न थाल्यो भने देशमा विचारहीन राजनीतिको आधार भत्किन थाल्नेछ।
त्यसैले यति बेला हामीले समस्या औंल्याउने र त्यसको दिगो समाधानमा सहयोगी भूमिका निर्वाह गर्न सक्नुपर्छ। देशको वृहत्तर हितमा हामीले हाम्रो क्षमता र भूमिका उपयोग गर्न सक्नुपर्छ। समाजमा निर्माण भइरहेको गलत भाष्यलाई हटाउन पनि सकारात्मक भूमिका निर्वाह पनि गर्न सक्नुपर्छ। राष्ट्रिय स्वार्थ किन र कसरी बलियो बनाउने भन्ने प्रश्नमा केन्द्रीत भएर सधैं गतिविधिहरू गर्नुपर्छ। आज हामीले इण्डोवेस्टले अंगिकृत र भूतपूर्व नेपालीहरूमार्फत बढाइरहेको हस्तक्षेपलाई असफल बनाउन संविधान र नागरिकता कानुनमा नै संसोधन गर्नुपर्छ। अंगिकृत नागरिकता र एकपटक नागरिकता त्यागेका पात्रले पुनः नागरिकता लिन कडा सर्त र प्रक्रिया अपनाउनु पर्ने गर्नुपर्छ।
इण्डोवेस्टले नेपालमाथि आफ्नो प्रभाव र दबाब विस्तार गर्न धेरै तरिकाहरू अपनाइरहेका छन्। उनीहरूको मुख्य उद्देश्य;
देशभक्त, लोकतान्त्रिक र प्रगतिशील शक्तिलाई कमजोर बनाउने।
नेपाली मूलका सच्चा नेपालीहरूलाई अल्पमतमा पार्न खुकुलो नागरिकता विधेयक कार्यान्वयन गर्ने।
भूतपूर्व नेपालीहरू प्रयोग गरेर आफ्नो एजेण्डामा राजनीतिक दल चलाएर आफूअनुकुलको व्यवस्था, नीति र कानुन बनाउने।
आफ्नो स्वार्थमा आर्थिक अनुदान दिने र कार्यान्वयन गराउने। र
नेपालमा राजनैतिक तथा संवैधानिक अस्थिरता बढाएर नियन्त्रित अस्थिरता सिर्जना गर्ने।
यस सन्दर्भमा हामीले एक दुईजना राजनीतिक पात्रहरूको रूप र सारलाई उदाहरणको रूपमा लिन सक्छौं। रवी लामिछानेले आफ्नो पहिलो श्रीमती र आफ्ना सन्तानहरूलाई अमेरिकन बनाएर उतै राखेका छन्। रेखा थापा आफ्नो सन्तानलाई जन्मदै अमिरकन बनाउन अमेरिकामै सुत्केरी हुन उता पुगेकी छिन्। त्यस्तै डा. स्वर्णिम वाग्लेको श्रीमती र सन्तानहरू पनि अमेरिकी नागरिक नै हुन भन्ने चर्चा छ। अनि यीनै रवी, स्वर्णिम र रेखाहरू जनतालाई देश हामी बनाउँछौं भन्दै भ्रमको राजनीति गरिरहेका छन्। हामीले बुझ्नुपर्छ, यस्ता पात्रहरूबाट देश समृद्ध बन्ने होइन, इण्डोवेस्टको क्रिडास्थल बनाउने हो। त्यसैले हामीले हाम्रो मति र गति सुधारेर मात्रै इण्डोवेस्टको रणनीति असफल बनाउन सकिन्छ। यो कुरो नेताले मात्र होइन, जनताले पनि बुझ्नुपर्छ।
फेरि इण्डोवेस्टले आफ्नो रणनीति सफल बनाउन हाम्रो बौद्धिक वर्गलाई झुक्याएर अर्थात अघोषित रूपमा प्रयोग गरिरहेको छ। तर बौद्धिक वर्ग राम्रो रोजगार र अवसर पायौं र सजिलै घर चलाउन सक्यौं भनेर दत्तचित्त भएर क्रियाशील भइरहेका छन्। कतिलाई नियोगहरूमा काम दिएको छ, कतिलाई अन्तर्राष्ट्रिय संघसंस्था चलाउन नियुक्त गरेको छ त कतिलाई गैर-सरकारी संस्थाहरूलाई अनुदान दिएर काममा लगाएको छ। जसले गर्दा एकातिर बौद्धिक वर्ग चाहेर पनि इण्डोवेस्टको रणनीतिविरूद्ध लेख्न र बोल्न सकिरहेका छैनन्। अर्को शब्दमा भन्नु पर्दा बौद्धिक वर्ग बाह्य अनुदानको मन्द विष खाएर लठ्ठिएको अवस्था छ। जसका कारणले उनीहरू चाहेर पनि देशको स्वार्थमा क्रियाशील हुने अवस्था बन्न सकिरहेको छैन्। सामान्य जनता कम्फर्टेबलवाद र लोकप्रियतावादको भ्रममा पर्नु कुनै अनौठो विषय नै भएन।
त्यसैले अन्तमा भन्नुपर्छ, राजनीतिक, प्राज्ञिक, प्रशासनिक र न्यायिक नेतृत्वहरूले सुझबुझ र आँटका साथ देशको पक्षमा उभिने सामर्थ्य देखाएर इण्डोवेस्टको रणनीतिहरू असफल बनाउने नियतका साथ सक्रिय बन्नुपर्छ। अन्यथा देशको अवस्था अझ नाजुक बनेर नियन्त्रित अस्थिरता झन बढ्नेछ र इण्डोवेस्टले बनाएको दलदलमा देश पूर्ण रूपमा फस्न पुग्नेछ।
प्रकाशित मिति : २३ माघ २०८०, मंगलबार ३ : ०८ बजे
प्रतिक्रिया