सुनको मूल्यमा नयाँ कीर्तिमान

आज बजारबाट ४० अर्ब रुपैयाँ झिक्दै राष्ट्र बैंक

काठमाडौँ  ।  बैंक तथा वित्तीय प्रणालीमा पैसा बढी भएपछि आज फेरि राष्ट्र बैंकले ४० अर्ब रुपैयाँ झिक्न लागेको छ । तरलता व्यवस्थापनका लागि निक्षेप संकलन उपकरणमार्फत राष्ट्र बैंकले उक्त रकम झिक्न लागेको हो ।

गत बिहीबार २० अर्ब रुपैयाँ झिकेको राष्ट्र बैंकले आज (माघ २३ गते मंगलबार) निक्षेप संकलनमार्फत नै ४० अर्ब रुपैयाँ बजारबाट तान्न लागेको हो ।

अन्तर बैंक दर तीन प्रतिशतभन्दा तल झरेपछि फेरी बजारबाट पैसा झिक्न लागिएको राष्ट्र बैंकले जनाएको छ । हालको व्यवस्था अनुसार अन्तर बैंक दर तीन प्रतिशतभन्दा तल रहेको अवस्थामा राष्ट्र बैंकले बजारबाट पैसा झिक्नुपर्छ भने ७ प्रतिशतभन्दा बढी भएपछि बजारमा पैसा पठाउनु पर्छ । यो प्रक्रियालाई ब्याजदर करिडोर भनिन्छ । ब्याजदरमा अस्वभाविक परिवर्तन नहोस र स्थायित्व कायम होस भन्नका लागि राष्ट्र बैंकले ब्याजदर करिडोर कार्यान्वयनमा ल्याएको हो ।

निक्षेप संकलन खरिदका लागि आज दिउँसो ३ बजेसम्म बोलकबोल गर्न राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई आब्ह्वान गरेको छ । घटीमा १० करोड र बढीमा पाँच करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी बोलकबोल गर्न सकिने राष्ट्र बैंकको सूचनामा उल्लेख छ ।

प्रकाशित मिति : २३ माघ २०८०, मंगलबार  २ : ०५ बजे