बजेट निकासा नहुँदा गुलरिया नेपालगन्ज सडक निर्माणमा ढिलाइ

बाँके । द्रुत गतिमा निर्माणाधीन नेपालगन्ज गुलरिया हुलाकी राजमार्गको सम्झौता अनुसारको रकम सरकारले समयमै निकासा नगर्दा सडक निर्माणमा ढिलाइ भएको कम्पनीले बताएको छ।

२ अर्ब ८५ करोड रकममा निर्माणको सम्झौता गरेको निर्माण कम्पनी शर्मा एण्ड कम्पनीले हुलाकी राजमार्ग निर्माणका क्रममा बाटोमा पर्ने रुखहरू र बिजुलीका पोल हटाउने काम सम्पन्न गरिसकेको छ।

सरकारले दिनुपर्ने ३५ करोड रुपैयाँ हालसम्मपनि भुक्तानी नहुँदा समस्या परेको कम्पनीले बताएकाे छ। योजना अनुसारको काम गर्न नसक्दा निर्माण कम्पनी नै जनता समक्ष झुट हुन परेको शर्मा एण्ड कम्पनीका नविन शर्माको दुखेसो छ।

नेपालगन्ज गुलरिया सडक अन्तर्गत २७ किलोमिटर कालोपत्रे, ११ किलोमिटर चार लेन र १६ किलोमिटर दुई लेनको सडक निर्माण भइरहेको छ।

निर्माण सुरु गरेको एक वर्षमा ५० प्रतिशत काम सम्पन्न गरेको भएतापनि सरकारको ढिलाइको कारण सडक निर्माणमा ढिलाइ भएको हुलाकी राजमार्ग कार्यालय बाँकेले पनि स्वीकार गरेको छ।

रकम अभावका कारण पनि निर्माण कम्पनीलाई भुक्तानी हुन सकेको छैन । काम द्रुत गतिमा भइरहेको कारण समयमा नै रकम निकासा भएमा तीन वर्षको सम्झौता भएपनि एक वर्ष अगावै सकिने हुलाकी राजमार्ग कार्यालय बाँकेका योजना प्रमुख लिला बहादुर भण्डारीको भनाई छ।

स्थानीय तहले सडकसँग समन्वय नगरी हुलाकी राजमार्गमा जथाभाबी हाइमाट्स लाइट राखेकाले दुर्घटनाको बढी जोखिम हुने देखिएको छ।

बर्दिया खण्डको हुलाकी राजमार्गमा शौचालय र गाडी पार्किङ आवश्यक रहेकाले योजना कार्यालय ,स्थानीय तह र वन कार्यालयले समन्वय गर्नु पर्ने देखिन्छ।

नेपालगन्ज गुलरिया हुलाकी राजमार्गमा भौतिक निर्माणको काम उत्साहजनक रुपमा भइरहेको तर बजेटको अभाव भएको देखिएकाले बजेट निकासाका लागि स्थानीय प्रशासन र सरोकारवाला निकायले पहल गर्ने प्रतिबद्धता बर्दिया प्रशासनले गरेको छ। जिल्ला प्रशासन कार्यालय बर्दियाका प्रमुख जिल्ला अधिकारी बेद प्रसाद खरेलले आफ्नो ठाउँबाट सक्दो पहल गर्ने बताउनु भएको छ।

सरकारले हचुवाको भरमा ठुला ठूला योजनाहरू सम्झौता गर्ने तर समयमा रकम निकासा नभएका कारण कयौँ योजनाहरू अलपत्र छन् । विकास निर्माणका कामहरूलाई समयमा नै सम्पन्न गर्नका लागि सरकारी पक्षबाट पहल हुन नसक्नु दुखद हो।यसतर्फ सम्बन्धित निकायको ध्यान जान जरुरी छ।

प्रकाशित मिति : २० माघ २०८०, शनिबार  ९ : ५१ बजे