सवारी दुर्घटनामा परी प्रहरी हवल्दारको मृत्यु

गोरखा । जिल्ला प्रहरी कार्यलय गोरखा माताहत अस्थायी प्रहरी पोस्ट धारापानीमा कार्यरत प्रहरी सहायक हवल्दार रमेश रानाको सवारी दुर्घटनामा परी मृत्यु भएको छ। 

घरबिदा सकेर कार्यस्थल फर्कने क्रममा ३३ वर्षका उनको नारायणगढ-मुग्लिन सडकखण्डमा पुल बनाउन खनेको खाल्डोमा खसेर मृत्यु भएको हो। 

रुपन्देहीको कन्चन गाउँपाालिका वडा नं ४ निवासी राना गण्डकी प्रदेश विपद व्यवस्थापन गुल्म बाग्लुङ दरबन्दी भई अस्थायी प्रहरी पोस्ट धारापानीमा कार्यरत थिए।

 गत माघ ११ गते घर विदामा गएका उनी फर्कने क्रममा बुटवलबाट गोरखातर्फ आउँदै गर्दा दुर्घटनामा परेका हुन्। उनी आफैंले चलाएको ग२३प १५५९ नम्बरको मोटरसाइकल भरतपुर महानगरपालिका वडा नं २९ पन्ध्रकिलोस्थित नारायणघाट-मुग्लिङ सडकखण्डमा अनियन्त्रित भई पुल बनाउन खनेको खाल्डोमा खसेर दुर्घटनामा परेको थियो।

दुर्घटनामा परेका उनी र मोटरसाइकल पछाडि सवार ३३ वर्षका विकासकुमार पुनलाई उद्धार गरी पुरानो मेडिकल कलेज भरतपुर लगिएको थियो। तर, उपचारको क्रममा रानाको मंगलबार राति साढे ११ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यलय गोरखाका डीएसपी रमेशकुमार श्रेष्ठले बताए। दुर्घटनाबाट घाइते भएका विकास कुमार पुनको भने सोही अस्पतालमा उपचार भई रहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : १७ माघ २०८०, बुधबार  ९ : ३३ बजे