मृत भेटिएकी जर्मन महिलाको शव पोष्टमार्टमका लागि शिक्षण अस्पताल लगियो

काठमाडौं ।  ललितपुरको नागबहालमा एक जना जर्मन नागरिक मृत अवस्थामा फेला परेकी छन्। ग्रिन तारा हेरिटेज होम एण्ड अपार्टमेन्टमा बस्दै आएकी अन्दाजी ५७ वर्षीया एडल हिप डोरा नाम गरेकी जर्मन महिला मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। 

घटनाको जानकारी पाउने बितिकै प्रहरीको टोली घटनास्थलमा पुगेको थियो। कोठाको ढोका खोलेर हेर्दा लडेको अवस्थामा फेला परेको र टाउकोमा घाउ भएर धेरै रगत बगेको देखिएको ललितपुर प्रहरी प्रमुख एसएसपी शेखर खनालले जानकारी दिए। घटनापछि तालिमप्राप्त कुकुर र पाटन अस्पतालको फोरेन्सीक टोलीले जाँच गर्दा तत्काल शंकास्पद् अवस्था नदेखिएको खनालले बताए।

शवको पोष्टमार्टमका लागि शिक्षण अस्पताल लगिएको प्रहरीले जनाएको छ। उक्त महिला विगत दुई वर्षदेखि अपार्टमेन्टमा बस्दै आएकी थिइन्। त्यस्तै उनले काभ्रेमा रिसोर्टसमेत सञ्चालन गरेको खुल्न आएको प्रहरीले जनाएको छ। 

प्रकाशित मिति : १५ माघ २०८०, सोमबार  ८ : २६ बजे