नाबालकसहित बेपत्ता महिला मृत भेटिइन्

विराटनगर । तीन साताको नाबालकसहित बेपत्ता भएकी महिला ताप्लेजुङमा मृत अवस्थामा भेटिएकी छन् । पाँचथरको याङवरक गाउँपालिकाकी २६ वर्षीया यमुना भूर्तेल चापागाईंको शव तमोर नदी किनारमा भेटिएको प्रहरीले जनाएको छ ।

आठराई त्रिवेणी गाउँपालिकामा पर्ने तमोर नदी किनारमा सोमबार उनको शव भेटिएको उल्लेख गर्दै नाबालकको अवस्था भने अज्ञात रहेको प्रहरीले जनाएको छ ।

आइतबार बिहान बच्चालाई खोप लगाउन भनेर घरबाट हिँडेकी उनी अबेरसम्म नफर्केपछि खोजी गरिएको थियो ।

खोजीका क्रममा ती महिलाले प्रयोग गरेको मोबाइल र उनका केही कपडा आइतबारै तमोर नदी किनारमा भेटिएको थियो ।

त्यसपछि ती सामान भेटिएको स्थान आसपास क्षेत्रमा स्थानीय बासिन्दा र प्रहरी मिलेर उनको खोजी गरेका थिए । खोजीका क्रममा केही तल तमोर नदी किनारमा मृत अवस्थामा फेला परेको प्रहरीको भनाइ छ ।

उनको के कारणले मृत्यु भएको भन्ने खुलेको छैन । प्रहरीले घटनाबारे अनुसन्धान र नाबालकको खोजी भइरहेको जनाएको छ ।

प्रकाशित मिति : १५ माघ २०८०, सोमबार  ८ : २० बजे