सुनको मूल्य अहिलेसम्मकै उच्च

विदेशिए गोठाला, हराए गोठ

यस्तो छ आजको मौसम पूर्वानुमान

समितिमा झोँक्किए कानूनमन्त्री – ‘खुसुक्क छिराएछ भनेको के हो ?’

काठमाडौं । संसदको कानून, न्याय तथा मानवअधिकार समितिको बैठकमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङ आइतबार झोँक्किनु भएको छ । केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयकबारेको छलफल चलिरहँदा सदस्यहरुले सुटुक्क पास गर्न खोजिएको भनाइ राखेको भन्दै उहाँ झोँक्किनु भएको हो ।

मैले यो विषयलाई गम्भीरतापूर्वक लिएको छु । केही नेपाल ऐन संशोधन गर्न बनेको जुन विधेयक छ, त्यो समितिको सम्पत्ति हो र यससम्बन्धी सदस्यहरुले उठाउनु भएको विषयप्रति मेरो ध्यानाकर्षण भएको छ,’ उहाँले भन्नुभयो । विधेयकहरु सुटुक्क पारित नहोस् भनेरै समितिमा छलफलका लागि आइपुग्ने प्रक्रिया रहेको उहाँले बताउनुभयो ।

‘यो विधेयक सुटुक्क पास गर्न खोजिएको रहेछ, कति गम्भीर कुरा छ । कसैको नैतिकतामाथि प्रश्न उठाउन पाइन्छ । नैतिक आचरण गलत गरेको भए, प्रश्न उठाउन हुन्थ्यो तर विनासित्तिमा भन्ने चलन छ त्यसरी कसैको नैतिकतामाथि प्रश्न उठाउन पाइन्छ ?,’ उहाँले भन्नुभयो,‘माननीय सदस्यहरुमाथि प्रश्न गर्न चाहन्छु, आफ्नो कुरा राख्न नजाने, शब्द नपाएको हो भने नेपाली शब्दकोषमा धेरै शब्दहरु छन् । अनि छिराको के भन्या त्यो ? खुसुक्क छिराएछ रे, सबैको अगाडि राखेर दिनदिनै पढ्नु भनेर सैद्धान्तिक रुपमा दफा–दफा रुपमा छलफल गर्न लगाएको पनि सुटुक्क छिराएछ पो भन्छ त ?’

छलफलका लागि ल्याइएको विधेयकमा सबैले पढेर काम लाग्ने संशोधनको सुझाव दिनुपर्ने उहाँको भनाइ थियो । ‘हामीलाई राजनीतिमा लागेर कमाउनु छैन । स्पष्ट भन्न चहान्छु, कमाउने धन्दामा को–को लागेका छन् मलाई थाहा छैन । म कानूनमन्त्रीको कार्यभार सम्हालेको बेलासम्म आइपुग्दा पटक पटक कस्टडी पनि परेको हुँ, जेल पनि परेको हुँ, कुखुरा चोरेर परेको होइन,’ उहाँले भन्नुभयो, ‘राजनीतिक व्यवस्था परिवर्तन गर्न, प्रजातन्त्र स्थापना कै लागि भनेर सबै गरेको हो । मन्त्री पद आउँछ जान्छ, तर मेरो जुन लक्ष्य छ त्यो भनेको नेपालमा सुशासन स्थापना गर्दै नेपाली जनतालाई सम्पन्न बनाउने हो । म आफ्नो लक्ष्यबाट पछि हट्नेवाला छैन ।’

समितिका केही सदस्यले सरकारको तयारीका विषयमा आफ्ना भनाइ राखेपछि मन्त्री गुरुङ आफ्नो बोल्ने पालोमा जंगिनु भएको थियो ।
समितिमा उक्त विधेयकको सम्बन्धमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय र सम्बन्धित संशोधन प्रस्तावकर्ता सदस्यहरूसँग छलफल भएको थियो ।

प्रकाशित मिति : १४ माघ २०८०, आइतबार  ६ : ५८ बजे