पत्रकारलाई दुर्व्यवहार गर्नेलाई कारबाही गर्न सात दिने अल्टिमेटम

बर्दिबास । नेपाल पत्रकार महासंघ महोत्तरी शाखाका सचिव राजकरण महतोमाथि काठमाडौँमा भएको भेदभावजन्य दुव्र्यवहारकाे घटनामा संलग्नलाई कारबाही गर्न सात दिने अल्टिमेटम दिएको छ ।

बुधवार नेपाल पत्रकार महासंघ महोत्तरी शाखाको बसेको कार्यसमिमितको बैठकले सचिव महतोमाथि भएको दुर्व्यवहार घटनाको दोषी उपर कारबाही गर्न सम्बद्ध निकायलाई सात दिने अल्टिमेटम दिने निर्णय भएको नेपाल पत्रकार महासंघ महोत्तरी शाखाका सहसचिव रामनारायण महतोले जानकारी दिनुभयो । उहाँका अनुसार सो समयाबधिभित्र दोषीमाथि कारबाहीअघि नबढाए सङ्घर्षका कार्यक्रम गर्ने कार्यसमितिबाट निर्णय भएको छ ।

यसअघि शाखाले घटना लगत्तै विज्ञप्ति निकालेर घटनाको घोर भर्त्सना गर्दै दोषीमाथि कडा कारबाही गर्न माग गरेको थियो । ‘घटना भएको तीनदिन बितिसक्दा पनि दोषीलाई पहिचान र पक्राउ गरिएको छैन । यसले अनेकन आशङ्का उत्पन्न भएको हाम्रो ठहर छ,’ कार्यसमितिको बैठकपश्चात् सहसचिव महतोले भने ‘आजको मितिले सात दिनभित्र दोषी उपर कारबाही प्रक्रिया अघि नबढाए सङ्घर्षमा उत्रिन्छौँ ।’

आइतबार पत्रकार महतो कोटेश्वरबाट पैदल तीनकुने जाने क्रममा तीनकुने स्थित सडक किनारमा रोकी राखेको बा.२ ख ४५३४ नम्बरको सुन्दरीमाई यातायात (चक्रपथ परिक्रमा) नामक गाडीका कन्डक्टर र चालकले पत्रकार महतोलाई भेदभावजन्य दुर्व्यवहार गरेका थिए । ती गाडीका कर्मचारीहरूले बिनाकारण ‘भैया’ भनेर अभद्र व्यवहारसँगै गालीगलौज गर्दै उनीमाथि कुटपिटको प्रयाससमेत गरेका थिए ।

​​​​​

प्रकाशित मिति : ११ माघ २०८०, बिहिबार  १० : ४२ बजे