साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

‘नेशनल डे कन्सर्ट’ सम्पन्न

यी हुन् सहकारी ठगीमा फरार २९ जना

कम्फर्टेबलवाद र लोकप्रियतावादबाट देश कसरी जोगाउने !

“देशको इतिहास पानीमाथिको पाइला जस्तो होइन, इतिहासका पाइलाहरू मेटिँदैनन्। पृथ्वी नारायण शाह इतिहासको त्यस्तो पाइला हो, जसले हामीलाई स्वतन्त्र देश दियो र हामीलाई सार्वभौम र स्वाभिमानी नेपालीको रूपमा चिनायो।”

पृथ्वी जयन्ती अर्थात् राष्ट्रिय एकता दिवस मनाउनु भनेको नेपालको राजनीतिका काउसोहरू कम्फर्टेबलवाद (नवउदारवाद र उपयोगितावाद) र लोकप्रियतावादबाट देशलाई जोगाउने प्रेरणा र शक्ति प्राप्त गर्नु हो। तर हामीलाई नेपाली बनाउन नायकत्व गर्ने पृथ्वी नारायण शाहलाई सम्झनु र उहाँको योगदानको सम्मान गर्नु भनेको राजतन्त्रात्मक व्यवस्था फर्काउनु होइन। यति बेला हामी नेपालीका सामु एकातिर पछिल्लो समय देखिएको कम्फर्टेबलवाद र लोकप्रियतावादबाट नेपालको राजनीतिलाई मुक्त बनाउनु पर्ने भएको छ भने अर्कातिर गौरवपूर्ण इतिहासको सम्मान गर्दै उ बेला पृथ्वी नारायण शाहको नेतृत्वबाट पराजित विस्तरवादबाट देश जोगाउनु पर्ने चुनौती थपिएको छ।

आज सामाजिक सञ्जालहरूमा सामाजिक चरित्र नहुँदा र सञ्चार माध्यमहरूले राज्यको चौथो अङ्ग बन्न नसक्दा देशमा स्वछन्द र अराजक प्रवृत्तिले प्रभाव जमाउन खोज्दैछ। त्यही स्वछन्द र अराजक प्रवृत्तिको आडमा कम्फर्टेबलवाद र लोकप्रियतावादले विस्तारवादको रणनीति सफल बनाउने गरी देशको स्वार्थविपरीत राजनीति गरिरहेको छ। कम्फर्टेबलवाद सत्तामा बसेर विस्तारवादको सेवा गर्दैछ भने लोकप्रियतावाद गाउँघर पसेर जनतालाई भ्रमित बनाएर भावनात्मक रूपमा भड्काउँदैछ। हामीले बुझ्नुपर्छ, “कम्फर्टेबलवाद र लोकप्रियतावादले राष्ट्रिय स्वार्थ कमजोर बनाउने राजनीति गरिरहेको छ। त्यसैले पृथ्वी नारायणको भाषामा यी दुवै पक्षहरू राष्ट्रका शत्रु हुन्।”

देश बलियो र समृद्ध बनाउनु भनेको राजनीतिक, कूटनीतिक, आर्थिक र सांस्कृतिक रूपमा सबल हुनु हो। राजनीतिक, कूटनीतिक, आर्थिक र सांस्कृतिक रूपमा सबल बनाउन हामीले देशको राजनीतिलाई कम्फर्टेबलवाद र लोकप्रियतावादबाट मुक्त बनाउँदै देशभक्त प्रगतिशील लोकतान्त्रिक राजनीतिलाई अघि बढाउनु पर्छ। त्यसैले आज एकातिर राजनीतिको चरित्र देशमुखी बनाउनु पर्ने भएको छ भने अर्कातिर लोकतान्त्रिक गणतन्त्रलाई परिपूर्ण बनाउने दृष्टिकोणका साथ अघि बढ्नु पर्ने परिस्थिति बनेको छ। तर हामीलाई यो खालको राजनीतिबाट विमुख बनाउन सत्ता, सदन, सडक, सञ्चार र सञ्जालहरूको व्यापक दुरुपयोग भइरहेको छ।

आज कम्फर्टेबलवाद र लोकप्रियतावादबाट देशभित्र र बाहिर रहेका नेपालीहरू सामाजिक(आर्थिक शोषणमा परिरहेका छन्। एउटाले सत्तामा बसेर राष्ट्रिय ढुकुटी दुरुपयोग गरेर त अर्काले विदेशमा विविध कारणले श्रम बेच्न बाध्य भइरहेका नेपालीबाट पैसा उठाएर नेपालको राजनीति प्रदूषित बनाइरहेका छन्। यो आजको राजनीतिक यथार्थ हो। यो यथार्थ जनतालाई बुझाउन सकिएको छैन। जसले गर्दा उनीहरू जनतालाई अलमल्याउन र बाह्य स्वार्थमा निर्णय र सम्झौता गर्न सफल भइरहेका छन्।

त्यसैले पृथ्वी जयन्तीका अवसरमा हामीले राष्ट्रका आन्तरिक तथा बाह्य शत्रुहरूलाई चिनेर तिनीहरूलाई कमजोर बनाउने सङ्कल्पका साथ एकजुट भएर अघि बढ्नु पर्ने भएको छ। यसका लागि जनतालाई राष्ट्रको पक्षमा क्रियाशील बन्न सिकाउने, सघाउने र जगाउने दृष्टिकोणका साथ राजनीतिक, शैक्षिक, प्रशासनिक, न्यायिक र सामाजिक गतिविधिहरू गर्ने परिपाटी विकास गर्नुपर्ने भएको छ। अन्यथा भोलिका दिनमा इण्डोवेस्टबाट हाम्रो राष्ट्रिय पहिचान जोगाउन कठिन हुनेछ। कम्फर्टेबलवाद र लोकप्रियतावादका नाइकेहरू आज नेपाली भर्सनका लेण्डुप, कारजाई र जेलेन्स्कीहरू झैँ भएर गतिविधिहरू गरिरहेका छन्।

यी नेपाली भर्सनका लेण्डुप, कारजाई र जेलेन्स्कीहरूमध्ये एकाथरीले राज्य सत्ताको उपयोग गरेर त अर्काथरीले सदन, सडक, सञ्चार र सञ्जालको माध्यमबाट इण्डोवेस्टको स्वार्थमा राजनीति गर्दैछन्। यदि देशभक्तिपूर्ण प्रगतिशील लोकतान्त्रिक राजनीति बलियो बनाएर उनीहरूलाई रोक्न सकिएन भने इण्डोवेस्टको दबाब र प्रभाव झन् बढेर राष्ट्रिय स्वार्थ अझ कमजोर हुनेछ। त्यसैले जनतालाई जगाउँदै र राजनीतिक रूपमा सचेत र जागरूक बनाउँदै ती नेपाली भर्सनका लेण्डुप, कारजाई र जेलेन्स्कीहरूलाई पराजित गर्नुपर्ने भएको छ। यो चुनौतीलाई स्विकारेर अघि बढ्न सकिएन भने पृथ्वी जयन्ती मनाउनुको कुनै अर्थ हुने छैन। यसर्थ हामीले आफ्ना कमजोरीहरू सुधारेर राष्ट्रको पक्षमा राजनीति गर्ने समय अझै  घर्किएको छैन भन्ने वस्तुगत वास्तविकता हामीले जनतालाई बुझ्नु र बुझाउनु पर्ने भएको छ।

चक्रपथका नियमित स्तम्भकार  कडेलको यो लेख एक हप्ता अघि नै प्राप्त भए पनि प्राविधिक कारणबश ढिलो प्रकाशित हुन गएकोमा क्षमा चाहान्छौं । – सम्पादक 

 

प्रकाशित मिति : ८ माघ २०८०, सोमबार  ४ : ४० बजे