बर्दियाबाट काठमाडौं जाँदै गरेकाे बस दाङमा दुर्घटना हुँदा २ जनाको मृत्यु, २ घाइते

दाङ । दाङमा बस दुर्घटना दुई जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

गएराति बर्दियाबाट काठमाडौं जाँदै गरेको प्रदेश ३-०१००५ ख ९७१९ नम्बरको यात्रु बस लमही नगरपालिका-९ रिहार नजिकै दुर्घटना भएको हो ।

दुर्घटनामा गेरुवा गाउँपालिका-१ निवासी ३६ वर्षीय भिमनाथ योगि र ठेगाना नखुलेका युवराज चौधरीको मृत्यु भएको इलाका प्रहरी कार्यालय अमिलियाका प्रहरी निरीक्षक लालबहादुर श्रेष्ठले जानकारी दिनुभयो ।

बसमा ४७ जना सवार रहेका दुई जना घाइते भएको र अन्य यात्रुहरु सकुशल रहेको प्रहरीले जनाएको छ ।

बस चालक सामान्य घाइते भएको र उनको कोहलपुरमा उपचार भइरहेको छ ।

मृतकहरुको शव लमही अस्पतालमा राखिएको छ । बसको पट्टा भाँचिएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ८ माघ २०८०, सोमबार  ७ : २५ बजे