‘एउटै नाउरको सिकार गर्न २३ लाख’

गरिब ,महिला,युवा तथा दलित समुदायका लागि  प्रेरणाकी स्रोत  बनिन सगुना : जसले एकै वर्षमा लोकसेवा आयोगका सात परीक्षा पास गरिन्

मुगु । जति पढेपनी नेपालमा काम छैन अझ गरिब र पिछडिएका जातिकाले त अवसर नै पाउँदैनन् भनेर निराश हुने र वैदेशिक रोजगारीको सोच राख्नेहरूका लागि मुगुकी सगुना परियारले एक वर्ष भित्र लोकसेवाका ७ परीक्षामा नाम निकाल्न सफल भएर  मेहनत गरेमा आफ्नै देशमा पनि रोजगारी पाउन सकिन्छ भन्ने गतिलो जवाफ दिएकी  छन् । 

मुगुकी २५ वर्षीया स्टाफ नर्स सगुना परियार जसले आफूभित्रको आत्मविश्वासलाई देखाएकी छन्  भने दृढ सङ्कल्पलाई सफलतामा परिणत गर्न सफल भएकी छिन् ।  

मुगुको छायाँनाथ रारा नगरपालिका–१, छत्यालवाडा गाउँ कि सगुना एक वर्षमा लोकसेवा आयोगले लिएका ७ पदमा नाम निकाल्न सफल भएकी छन् । हालै सङ्घीय लोकसेवा आयोगको कार्यालय दिपायलले सार्वजनिक गरेको स्टाफ नर्सको नतिजा नाम निस्केसँगै सगुनाले एकै वर्षमा ७ वटा लोकसेवा परीक्षा उत्तीर्ण गर्न सफल भएकी हुन् । 

उनले गत वर्ष लोकसेवा आयोग लुम्बिनीले लिएको प्रदेश निजामती सेवातर्फ अनमी, स्थानीय सेवातर्फ अनमी, कर्णाली प्रदेश अनमी र पब्लिक हेल्थतर्फ नर्सिङ, कोसी प्रदेश अनमी, सङ्घीय लोकसेवा आयोग दिपायलबाट स्टाफ नर्स र निजामती कर्मचारी अस्पतालमा नाम निकालेकी थिइन् । 

दुर्गम ठाउँ, सञ्चारको असुविधाका कारण नर्सिङ कहाँ पढाइ हुन्छ ? कहिले भर्ना खुल्छ रु कहिले प्रवेश परीक्षा हुन्छ ? भन्ने केही थाहा हुँदैन थियो । मुगु दुर्गम जिल्ला,गरिब तथा दलित  परिवार  अझ छोरी मान्छेलाई नर्सिङ पेसासम्मको यात्रा उनका लागि सहज पनि थिएन । सानैदेखि नर्स बन्ने सपना बुनेकी उनी पढाइमा अब्बल नै  थिइन् । परिवारको पूर्ण साथ पाएकी उनले जसोतसो महेन्द्रनगरमा पीसीएल नर्सिङमा भर्ना खुलेको थाहा पाइन । समयमै भर्ना खुलेको थाहा नपाएपछि एक वर्ष ब्याक भएकी सगुनाले यस पटक छात्रवृत्तिमा नाम निकाल्न सफल भइन् ।

 सेती महाकाली नर्सिङ क्याम्पसबाट २०७५ सालमा उत्कृष्ट नम्बरमा नर्सिङ पास गरिन् । पास भए लगत्तै उनी स्वास्थ्य सेवा कार्यालय मुगुमा दुई वर्ष करार सेवामा काम गरिन । नर्सिङ पास भए लगत्तै लोकसेवा आयोगको तयारी गर्ने सोचमा उनी थिइन् तर, कोरोना महामारीका कारण रोकियो । 

कोरोना महामारी कै दौरानमा लोकसेवाले अनमी र जनस्वास्थ्यमा दरबन्दी खुलायो । त्यसपछि उनी लोकसेवा तयारी गर्न जागिर छोडेर काठमाडौँ पुगिन । काठमाडौँमा एक महिना जस्तो तयारी गरेपछि पुनः कोरोनाको दोस्रो लहरले उनको तयारी बीचमै रोकियो । 

त्यसपछि उनले ३ महिनासम्म अनलाइन कक्षा लिएर सङ्घीय, प्रादेशिक र स्थानीय तहमा लोकसेवाले खुलाएको ७ पदमा परीक्षा दिइन् । परीक्षा पश्चात् नाम निस्के ठीकै छ, खालि किन बस्ने भनेर उनी सुशील कोइराला क्यान्सर अस्पताल नेपालगन्जमा करारमा काम गर्न थालिन् । 

 त्यसपछि लोकसेवा आयोगले नतिजा सार्वजनिक गर्न थाल्यो । पहिलोपल्ट कर्णाली प्रदेशले लिएको अनमी र जनस्वास्थ्यतर्फ नर्सिङ पदमा नाम निस्कियो । उनले अनमी छाडेर जनस्वास्थ्यतर्फ नर्सिङ सेवा रोजिन् । अन्तर्वार्तामा सफल भएर उनी गत मङ्सिर ८ गतेदेखि दैलेखको दुल्लु नगरपालिकामा पब्लिक हेल्थ नर्सका रूपमा कार्यरत छिन् । 

आफूभित्र भएको इच्छा र चाहानाअनुसार निरन्तर मेहनत गरे सफलता सहजै प्राप्त गर्न सकिने सगुना बताउँछिन् । ‘आफूभित्र चाहाना, इच्छा र त्यहीअनुसार दृढता र लगाव हुनुपर्‍यो असम्भव भन्ने केही छैन, अवसरका लागि बिदेसिनु नि पर्दैन, विदेश जाने सबैले अवसर नै नपाएर भन्दा पनि आकर्षक तलब सुविधाले पनि होला,’ उनले भनिन् । 

​​​​​​​नेपालमा नर्सहरूले जागिर नै पाउँदैनन्, उनीहरूको भविष्य नेपालमा छैन भन्ने भाष्य गलत रहेको बताउँछिन् सगुना । हरेक ठाउँमा जागिर खानलाई आफ्ना मान्छे चाहिने, भनेको सेवा सुविधा नहुने जस्ता परिस्थितिले कतिपयलाई बिदेसिनु पर्ने बाध्यता पनि हुनसक्ने उनको बुझाइछ । सगुनाले आफ्नै गाउँ नजिक रहेको  सामुदायिक विद्यालय महाकाली माध्यमिक विद्यालयमा कक्षा १० सम्म अध्ययन  गरी एसएलसी उत्तीर्ण गरेकी थिइन् ।

प्रकाशित मिति : ७ माघ २०८०, आइतबार  २ : १३ बजे