साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

‘नेशनल डे कन्सर्ट’ सम्पन्न

वडाध्यक्ष नवीनमा पाइएको नवीनपन

​​​​​​​नवीनजंग कार्की, वर्ष २८– मोरङको पूर्वोत्तर क्षेत्र पथरी शनिश्चरे नगरपालिका वडा नं. ८ निवासी एकजना तेजतर्रार युवा । खाइलाग्दो ज्यान परेको एउटा आकर्षक नक्षत्र र भरलाग्दो तरुणतन्नेरी । आमयुवामाझ स्थापित अग्रणीपात्र । स्थानीय जागरण अभियानको सामाजिक–सांस्कृतिक सहचारी । परिवर्तनशील र मुक्तिकामी जनमतको साथी र सारथि । बामपन्थी आन्दोलनको विद्यार्थी । नेकपा (एमाले) को निर्भीक कार्यकर्ता र सम्बद्ध जनसंगठनको नेता र आफैंमा सक्रिय कार्यकर्ता । सर्वाधिक लोकप्रिय मतभार सहित निर्वाचित वडाध्यक्ष । वडाध्यक्षका रूपमा उपस्थित परिवेश चिन्न, प्रस्तुत समस्या चिर्न र तदानुकूल योजना बुन्न सक्ने औसतमा अग्रसरपात्र, बहालवाला जनप्रतिनिधि । 

तत्कालीन परिस्थिति र परिवेश
साविकको शनिश्चरे गाविसअन्तर्गत यो भूगोलमा नेपाली काँग्रेसले हल्लन नसक्ने जरो किलो गाडेको वडाको रूपमा चिनिएको वडामा उम्मेदवारी क–कसको पर्छ ? अरुअरु वडाको तुलनामा यो वडाको निकै चासो र चियोचर्चो हुन्थ्यो । पहिलो पुस्ताकै बसन्त भट्टराई, शेखर थापालगायत काँग्रेसका घगडान नेताहरूको पैतृक बर्चस्व र बासस्थल भएको यो वडामा काँग्रेससँग जोरी खोज्नु भनेको आफ्नो छँदाखदाको सिंग र जुरो दुबै भत्काउनुसरह मानिन्थ्यो ।  

आमा अम्बिका र बुबा राजकुमार कार्कीका कोखबाट जायजन्म हुनुभएका दुई सन्तानमध्ये जेठो सन्तानको रूपमा जन्मनुभएका नवीनले वडाध्यक्ष हुन चाहने दर्जनौँ आकांक्षीमाझ निर्विघ्न ढंगले आफूलाई उभ्याउनुभयो । घरनजिकै अवस्थित श्री बुद्ध मावि, सखुवारा, सोमबारेबाट एसएलसी उत्तीर्ण गर्नुभएका भाइ नवीनजंग कार्कीको उपस्थिति र प्रस्तुति नितान्त फरक थियो । रणनीतिक महत्त्वका योजनाउन्मुख उहाँले राजनीतिक प्रतिस्पर्धाको खुला मैदानमा अरु सबैखाले प्रतिस्पर्धीलाई सहजै पछार्ने र जनमतको बलमा लतार्ने आँट गर्नुभयो । 
अखिल र युवा संघको राजनीतिक ब्यानरमुनि अभ्यस्त रहँदै हुर्कने र बढ्नेक्रममा समाजमा नुन, चिनी र पानीको सम्मिश्रित औषधीय गुणस्वरुप विकास भएर घोलिनुभएका नवीनको उपस्थितिलाई कतिपयले फुच्चे केटाको संज्ञा पनि दिए । हुन पनि नगरभरिमा उठाइएका तमाम उम्मेदवारमाझ कान्छो उमेर समुहको नवीनको उपस्थिति साँच्चिकै सानो लाग्नु स्वभाविक थियो ।  

बसाइँ एउटा वडामा र उम्मेदवारी अर्को वडाको वडाध्यक्षको लागि भनेर अनाहकमा द्विविधा फैलाउने, मतदातालाई अन्यौल बनाउने र आमरूपमा भ्रम सिर्जजा गर्ने जस्ता घृणास्पद गतिविधिहरू मञ्चन गरिए । बाल्यकालीन उर्जासँगै प्राप्त राजनीतिक चेतना, विकसित संगठनात्मक ज्ञान र ज्ञाननिर्देशित अभ्यास र सामाजिक–सांस्कृतिक गतिविधिमाझ प्रकट अन्तरघुलनकै कारण नवीनले पासा पल्टाइदिनुभयो, सूर्य चिन्ह ध्वाजाबाहक उम्मेदवारको आफूमातहतको पाँच अनुहारलाई उभ्याउनुभयो, मानिसको उब्जेको अस्वाभाविक दम्भ र घमण्डलाई थचक्कै बसाइदिनुभयो र असाधारण जनमत लिएर ठूलो मतभारको अन्तरसहित वडाध्यक्षमा निर्वाचित हुनुभयो । वडासदस्यको रूपमा आफ्नै सहयोद्धाहरू क्रमशः बाबुराम चौधरी, झमकबहादुर कुरुमभङ, शान्ता योङहाङ र शिवकुमारी विश्वकर्माको दब्रिलो उपस्थिति सहित नवीन फराकिलो मतान्तरले विजयी हुनुभयो । 

जनप्रतिनिधिको रूपमा नवीन 
निर्वाचित भएयता नवीनको नवीनतम् उपस्थितिलाई मानिसले ख्यालखेलाँची होइन, विषयगत गम्भीरताका साथ लिएका थिए । धरमर हुँदै गएको नगरप्रमुख र उपप्रमुखलाई समेत विजय बनाउन सहयोग पुग्ने मतभारको फराकिलो मतान्तरसहित उपस्थित नवीनको कार्यकालमाथि नवीनता प्रस्तुत गर्न पाउने अवसर र केही हदसम्म चुनौति दुबै एकसाथ आइलागेका थिए । नगर प्रवक्ताको रूपमा नवीनको उपस्थिति स्वभाविक हिसावले अवसर थियो भने जुनकुनै पनि हिसावले आफूभन्दा न्युनतम् दशक उमेर वर्षान्तरका ठूलाबडाजनलाई मातहतमा लिएर काम गर्नु समाजको वर्णविकासक्रमका दृष्टिकोणले चुनौति थियो । समयक्रममा सबै विषयहरू क्रमशः सम्हालिँदै गए, पन्छिँदै गए र थन्किँदै गए । जनप्रतिनिधि हुनु भनेको प्राप्त जनमतको सेवामा तल्लीन रहन हो, यसवापत कुनै पनि प्रकारको सेवासुविधा लिन खोजि गर्न होइन भन्ने संस्कार सहित राजनीतिक मूल्यनिर्देशित अडानमा दृढ नवीनको नयाँ छविले प्रतिनिधिमाझ पनि भिन्दैखालको उचाइ भर्दै गयो ।  

भरखरै अघिमात्र पथरी बहुमुखी क्याम्पसमा अध्ययनरत सहपाठी, सहधर्मी र छिमेकी वडा निवासी हस्ना थापासँग बिना कुनै तामझाम घरजम गर्नुभएका वडाध्यक्ष नवीनका लागि जीवनका सौन्दर्यतामा केही आकर्षणताहरू थपिँदै गएका छन् ।  

साक्षर वडा निर्माण अभियान, वडादेखि ढोकासम्म, मर्दापर्दाको साथी स्थानीय सरकार, मृत्यु संस्कारमा वडालगायत दर्जनौँ कार्यक्रम सञ्चालनमा ल्याउनुभएका वडाध्यक्ष नवीनजंग कार्कीमा आफ्नो उमेर समुहको कुनै पनि युवाले गरिखान देशबाहिर जान नपरोस् भन्ने ध्याउन्न छ । सेवाग्राहीले सेवाको अनुभूति पाउन घर–घरमै सेवासुविधा प्रवाहमा निकै चर्चा बटुल्नुभएका वडाध्यक्ष नवीनलाई नगरकार्यपालिकाको कार्यालय निर्माण गर्न नसकेको पीडाबोध भएको अनुभूति आर्जन गर्न सकिन्छ ।  

वर्षौंयता वडाध्यक्ष नवीनको बुबा स्वयं देशबाहिर हुनुहुन्छ । बुबाको फर्किने टुंगो छैन बरु दिनहुँजसो युवापंक्ति ठूलो संख्यामा देशबाहिर छ । फलतः पारस्पारिक हेलमेल र मानवीय सम्बन्ध आदानप्रदान अभावपूर्तिको अवस्था विकास भएसँगै कतिपय घरपरिवारको संरचना टुटेको छ । एक्लाएक्लै दिनरात बिताउनुपर्ने अवस्था विकास भएको छ । यसबेला एक्ला, असाहय, बृद्धबृद्धा सेवाग्राहीलाई कष्ट नहोस् भनेर वडादेखि ढोकासम्मको कार्यक्रम चलाएका वडा नं. ८ का जनप्रतिनिधिहरूको दिनचर्या सेवाप्रवाहमा बित्छ । आफ्नै कार्यालयमार्फत सञ्चालित कार्यालयीय कामकाज र यसले दिने सेवा पनि समुदायको बृहत्तर हितका लागि घर–घरमा पुग्नु नवीन वडाध्यक्षको रूपमा आएपछि कार्यक्षमता सहितको नवीनतम् परियोजना हो अर्थमा स्थानीयले लिएको बुझिन्छ ।  

निर्वाचित भएको डेढ वर्षयता स्थानीय मतदाताबाट चुनावताका प्रकट साह्रागाह्राका क्षणलाई सम्बोधन र व्यवस्थापन गर्न तल्लीन वडाध्यक्ष कार्की नेतृत्वको पंक्ति आफ्नो वडाबाट छिमेकी वडासम्म पुग्न आवश्यक बाटोघाटो बनाउन, उज्यालो गाउँ निर्माण गर्न, शैक्षिक क्षेत्रमा अपेक्षित सुधार ल्याउन, किसानका समस्यालाई वर्गीकरण गर्दै यसको सम्बोधन र व्यवस्थापन गर्न, आफ्नो नागरिक सामान्य प्रकृतिको बिरामी भएको हकमा औषधीउपचारको प्रबन्ध गर्न, प्राप्त दरबन्दीअनुसार सेवाप्रवाहमा जनमैत्री कर्मचारीको व्यवस्थापन गर्न, घर–घरमा स्वच्छ खानेपानी वितरण र विस्तार व्यवस्थापन गर्न, खेतीको सम्भाव्यता सहित कृषकलाई त्यसतर्फ आकर्षित गर्न, यसमा आवश्यक प्राविधिक सहयोग जुटाउन, आवश्यक मात्रामा बिउबिजन, नर्सरीका बिरुवा, मलखाद र विषादी वितरणलाई व्यवस्थापन गर्न, आफ्नो कार्यावधिलाई मतदाताका नजरमा छर्लङ मूल्यांकन गर्न गराउन असाधारण मेहनतका साथ अत्यन्तै इमान्दारितापूर्वक काममा लागेको देखिन्छ ।  

काम गर्ने तीब्र इच्छाशक्ति, परिस्थिति–परिवेश, सीमित स्रोतसाधन र स्थानीय अपेक्षा मेलखाँदो विषय होइन रहेछ भेटघाटमा वडाध्यक्ष कार्की पोखिनुहुन्छ । मानवीय आकांक्षा र आवश्यकता असीमित छन्, तिनको पूर्ताल र व्यवस्थापन दिगो आर्थिक र सामाजिक विकासको योजना बिना कति सम्भव होला र ! उहाँको ठम्याइँ रहँदै आएको छ । 
व्यक्तिगत स्वार्थ र नियमविपरीत कामले मनमुटाव सिर्जना गर्ने हो । वडा नं. ८ को जनप्रतिनिधिमा यो देखिँदैन । चुनावताका गरिएका बाचाकबोल र प्रतिबद्धताद्वारा निर्दिष्ट कार्यसम्पादनप्रतिको सम्झनलायक तदरुक्तताले कहिल्यै कसैमा कुनै बेमेलको स्थिति विकास नभएको र कञ्चिभर पनि समस्या झेल्नु परेको अवस्था आएको छैन वडासदस्य बाबुराम चौधरीको बुझाइ रहँदै आएको छ । सानैस्तरमा सस्याना भए पनि केही उद्योग स्थापना गर्न पाए, सञ्चालनमा ल्याउन पाए स्थानीय स्तरमा रोजगारीको वातावरण सिर्जना हुने, लक्षित समुदायका मानिसको जीवनस्तर उक्सने, बसाइँसराइ न्युनीकरण हुने र वैदेशिक रोजगारीतर्फको संख्या घट्ने विश्वास सदस्य चौधारीमा हुट्हुटिका रूपमा देखिन्छ ।  

सहज जीविकोपार्जनको लागि गाउँमा बस्न सक्ने वातावरण बने श्रमशील जनशक्तिको पलायन दरको भयावह अवस्थालाई नियन्त्रणमा लिन सकिने आत्मविश्वास सहित अहोरात्र क्रियाशील वडाध्यक्ष कार्की यतिबेला समग्र विकास, पूर्वाधार, सुविधाको पर्याप्त सामाजिक व्यवस्था, आममानिसको पहुँचमा आधारित शिक्षा र स्वास्थ्यका लागि कटिबद्ध हुनुहुन्छ । 

नेपाली राजनीतिआकाशको क्षितिजमै सर्वाधिक लोकप्रिय नेता, राजनेता एवम् नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीलाई घाँस नखाने बाघको रूपमा चित्रित गर्दै उहाँको परिकल्पनाको सुखी नेपाल समृद्ध नेपालीको रणनीतिक कार्यक्रममार्फत निर्देशित वडाध्यक्ष नवीनमा पाइएको नवीनपन र मनले समाजवादको आधारशीला निर्माणमा प्रशस्तै योगदान गरेको छ । 
२०३० देखि ०३६ सालतिरै घना वनक्षेत्र अर्थात् औलोयुक्त जंगलकाल, झोडाफडानी गरि अहिलेसम्म बसोबासरत् बहुसंख्यक स्थानीय नागरिक र यसखालको समुदायलाई उसले भोग गरेको जग्गा जमिनमाथि स्वामित्व कायम नहुने विषयतर्फ हर्दम खबरदारी गर्ने यो जनप्रतिनिधिको पंक्ति पार्टीको घोषणापत्र कार्यान्वयनमा प्रतिबद्ध छ । यो प्रकृतिको जमिनसम्बन्धी २०४४–०४५ सालयता निकालिएका कतिपय लालपूर्जा एकलौटी पहुँचका आधारमा निकालिएकोले यसप्रति वडाध्यक्ष कार्कीको भने अलिक खह्रो बुझाइ र प्रतिबादपूर्ण विश्लेषण विकास भएको पाइन्छ । ​​​​​​​

नवीनका नवीनता
आफ्नो वडाको भूगोल निर्वाचन क्षेत्रभित्र जसको लागि निकटतम् सहयोगी कोही छैन, साहरा कोही छैन, र कहिँ केही छैन, उसको लागि वडा छ भन्ने उद्घोष सहित वडाध्यक्ष कार्कीले वडा अध्यक्ष मेरो साथी कार्यक्रम सञ्चालनमा ल्याउनुभएको छ । यसअन्तर्गत पलङ अभावमा भूइँमा सुत्ने नागरिकलाई पलङ उपलब्ध गराउने, चिसो सिरेटो छल्न उपकरणहरू उपलब्ध गराउने, आगो बाल्न दाउरा उपलब्ध गराउने, औषधी अभावमा ओछ्यान लागेकालाई घरघरमै पुगेर औषधीउपचार गर्ने, सांस्कृतिक सम्पदाको संरक्षणका लागि तालिम प्रशिक्षण सञ्चालन गर्ने, बिपन्न परिवारको निःशुल्क स्वास्थ्य बीमा गरिदिने, वडाका चौक र हाटबजार क्षेत्रमा निःशुल्क वाइफाइ जोन निर्माण गरिदिने, सडकबत्ती जहाड हुनेलगायतका काम हुँदै आएका छन् ।
आफ्नो गाउँ, आफै बनाऔँ नेकपा एमाले नेतृत्वको सरकारकालमा आरम्भ गरिएको योजना परियोजनालाई वडामा बतासेली चोकमा झोलुङ्गे पुल निर्माण गरिएको छ भने गर्मीयाममा शीतल लिनका लागि बाटबाटै ठडिएका वरपिपल र स्वामीको बिरुवाको संरक्षण गर्ने र उपलब्ध जनश्रमदानमार्फत फलैचा र चौताराहरू निर्माण हुने गरेका छन् ।
मानिसका आधारभूत आवश्यकतालाई पूर्णता दिन बाटाघाटाको बिस्तारका अतिरिक्त निरोगी वडा निर्माणको लागि खुल्ला व्यामशाला निर्माण, रातो र निलो कार्ड प्राप्त गर्ने अपाङ्गता भएका व्यक्तिहरूको हकमा सपरिवार निः शुल्क स्वास्थ्य बीमा, सबै सामुदायिक विद्यालयमा अनिवार्य योजनाबद्ध अनुगमन, सीसीटीभी क्यामरा जडान, विद्युतीय हाजिरी प्रणाली, सडकबत्ती बिस्तार, विद्यालयमा मौसमअनुसार पठनपाठनको व्यवस्थापन आदि भएका छन् । 

२०४६ सालको ऐतिहासिक जनआन्दोलनको लहरले सिर्जना गरेको बाम–प्रजातान्त्रिक नेतृत्व समयक्रममा जागिर पेशासँग आबद्ध भयो । पूर्णकालीन नेतृत्वको अभाव खड्किरहेको थियो । समयक्रममा विकसित स्थानीय युवापात्र प्रकाशबहादुर कार्की र नवीनजंग कार्की (दुबै काका–भतिज) लाई आफूले नजिकैबाट बुझेको र राजनीतिक संगठनमा प्रवेश गराएसँगै तातेताते शैलीमा अभ्यस्त गराएको विगत सम्झँदै वैकल्पिक नेतृत्व तयार भएकोमा एमाले कोशी प्रदेश कमिटी सल्लाहकार सदस्य एवम् नेता मोहनकुमार न्यौपाने खुशीले गद्गद हुनुहुन्छ । 
युवामाझ नवीनको नवीन र सिर्जनात्मक उपस्थितिले आमयुवामा आशा जागेको, भरोसा बढेको र नयाँ ढंगले रक्तसञ्चार भएको समकालीन पुष्पराज पौडेललगायत युवामतको विश्वास रहँदै आएको छ । आफूले कखराकालदेखि नै पढाएको एउटा मेधावी विद्यार्थीले औसत कान्छो उमेरमै सामाजिक मनोविज्ञानको समेत सुक्ष्म अध्ययन सहित यो तहमा समाजको रणकौशल नेतृत्व गर्न सफल भएकोमा निलकण्ठ सुवेदी, देवेन्द्र बस्नेत, फौदराज खड्का, खगेन्द्र दाहाललगायत गुरुजनले सस्वरले खुशी व्यक्त गर्दैगर्दा प्रधानाध्यापक बोधराज सिग्देल भने वडाध्यक्ष नवीनप्रति भविष्यको एउटा आशा, भरोसा र सम्भावनाको रूपमा विकसित हुनुपर्ने विश्वास व्यक्त गर्नुहुन्छ ।  

नेकपा (एमाले) जस्तो आन्तरिक लोकतन्त्रमा विश्वास गर्ने अन्तरसंगठनात्मक जीवनको प्रतिनिधित्व गर्दै संसदीय भूमिकामा रहनुहुने वडाध्यक्ष नवीनको यो उदाहरणीय प्रस्तुति र गर्विलो उपस्थितिले स्थानीय स्तरमा पार्टी संगठन बिस्तारको अभियानअन्तर्गत आफूहरूको जाँगर ह्वात्तै बढेको वडाध्यक्ष नवीनजंग कार्कीको काका एवम् नेकपा (एमाले) पथरी शनिश्चरे नगरपालिका कमिटी उपाध्यक्ष प्रकाशबहादुर कार्कीको विश्वास जिउँदोजाग्दो छ । ​​​​​​​

प्रकाशित मिति : ६ माघ २०८०, शनिबार  ३ : ३८ बजे