सुर्खेतमा दुई यातायात व्यवसायी समूहबीच झडप

सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा टिकट काउन्टरका विषयमा दुई यातायात व्यवसायी समूहबीच शनिबार बिहान झडप भएको छ । झडपमा दुई जना घाइते भएको प्रहरीले जानकारी दिएको छ ।

वीरेन्द्रनगर नगरपालिका–१० बुलबुले चोकस्थित भिजिट कर्णाली यातायात प्रालि र संयुक्त यातायात प्रालिका व्यवसायीबीच झडप भएको हो । यातायात व्यवसायीको आक्रमणबाट बुलबुले काउन्टरमा रहेका भिजिट कर्णाली यातायतका कर्मचारी समेत घाइते भएको भिजिट कर्णाली यातायात प्रालिका अध्यक्ष प्रकाश शाहीले बताएका छन् ।

उनले सुर्खेतका यातायात व्यवयासी र उनीहरुले खटाएको कर्मचारीबाट आफूहरुको बुलबुले चोकमा रहेको मुख्य टिकट काउन्टरमा आक्रमण भएको बताएका छन् । आक्रमण हुँदा संरचनासहित कर्मचारी लोकेन्द्र शाही, गगनशाही लगायत चार जना घाइते भएको जानकारी दिए । बसपार्कबाट आएको यायायात व्यवसायीको हुलले आक्रमण गरेको उनले बताएका छन् ।

अध्यक्ष शाहीले यातायात सञ्चालनका विषयमा कानुनी प्रक्रिया पूरा गरेर भिजिट कर्णाली यातायात प्रालिले गत पुस २४ गतेदेखि स्कार्पियो जीपबाट नागरिकहरूलाई सेवा दिइरहेको बताए । उनका अनुसार घाइतेहरुको उपचार प्रदेश अस्पताल कालागाउँ वीरेन्द्रनगरमा उपचार भइरहेको छ ।

संयुक्त यातायात व्यवसायीमा आवद्ध केही व्यक्तिले हतियार प्रहार गरेर आफ्ना कर्मचारीलाई घाइते बनाएको भिजिट कर्णाली यातायात प्रालिको आरोप छ । संयुक्त यातायात सेवाले भने भिजिट यातायात प्रालिलाई मनोमानी तरिकाले टिकट काटेको आरोप लगाएको छ । झडपपछि केही समय बन्द भएको रत्नराजमार्ग खुलाइएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार उक्त स्थानमा प्रहरी तैनाथ गरिएको छ ।

प्रकाशित मिति : ६ माघ २०८०, शनिबार  ११ : २९ बजे