दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

विदेशिए गोठाला, हराए गोठ

किर्ते नागरिकता प्रकरण: सूचना माग्दा प्रमाण गायब, प्रमाण लुकाउन १० लाखको चलखेल

​​​​​​​वीरगन्ज । वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले किर्ते गरी युवतीलाई नागरिकता दिलाएको प्रकरण झन् पेचिलो बन्दै गएको छ । नागरिकता पाउन पेस गरिएका प्रमाणहरू जिल्ला प्रशासन कार्यालय पर्साबाट गायब भएसँगै यो प्रकरण पेचिलो बन्दै गएको हो । जिल्ला प्रशासन कार्यालय पर्साका तत्कालीन प्रमुख जिल्ला अधिकारी उमेश ढकालकै बेला उक्त प्रमाणहरू गायब गरिएको चर्चा छ ।

मेयर राजेशमान सिंह श्रेष्ठको ठेक्कापट्टाका पूर्व सहकर्मी एवं छिमेकी समेत रहेका नुरेनबी ठकुराइले उक्त नागरिकता पाउन पेस गरिएका प्रमाणका प्रतिलिपिहरू माग गरेपछि सूचना गायब गरिएको समाचार श्रोतको दाबी छ । ‘ठुलो रकमको चलखेलमा अनुसूची फारम र जन्म दर्ताको प्रमाणहरू गायब गरिएको हो । यसो त त्यस बेला १० लाख रुपैयाँको चलखेल भएको चर्चाले जिल्ला प्रशासन कार्यालय तरङ्गित भएको थियो।’ नाम उल्लेख नगर्ने सर्तमा स्रोतले भन्यो ।

वीरगन्ज महानगरपालिका वडा नम्बर ३ बस्ने नुरेनबी ठकुराइले २०६९ मङ्सिर ११ गते सूचना पाउन जिल्ला प्रशासन कार्यालय पर्सामा निवेदन दर्ता गराएका थिए । सूचनाको प्रतिलिपि ऐन ७ को २ बमोजिम सूचनाको हक पाउन पेस गरिएको निवेदनमा तत्कालीन प्रमुख जिल्ला अधिकारी उमेश ढकालले तोक लगाएपछि दर्ता गरिएको थियो ।

वीरगन्ज महानगरपालिका वडा नम्बर ३ बस्ने राजेशमान सिंहले जिल्ला प्रशासन कार्यालय पर्साबाट सनाखत गरी कति जनालाई नागरिकता दिलाएको र उनका कति जना छोरा छोरीहरू छन् र कति जना छोरा छोरीलाई उनले नागरिकता दिलाएको भन्दै सूचना माग गरिएको छ । साथै, सबै नागरिकता लिन पेस गरिएको प्रमाणका प्रतिलिपिहरू समेत माग गरिएको छ ।

‘सूचनाको हक अनुसार प्रमाणका सबै प्रतिलिपि माग गर्दै निवेदन दर्ता गराउन जाँदा सिडिओ ‘ओके’ भन्दै निवेदनमा तोक लगाउनुभयो ।’ नुरेनबीले भने,‘त्यसपछि म लगायत नेपाली काँग्रेसका सभापति महमद साहबुदिनजी जिल्ला प्रशासन कार्यालयमा लगातार तिन चार दिन गयौ ,तर प्रतिलिपि दिन आनाकानी गरियो ।’

अन्तिममा सिडिओले नै बोलाएर “व्यक्तिगत नागरिकता सम्बन्धी विवरणका प्रमाणहरू परिवार बाहेक अरू कसैलाई दिन नमिल्ने” भन्दै हामीलाई फर्काउनु भयो ।’ नुरेनबिले बताए । मेयर राजेशमान सिंहले छोरी बनाएर अरूलाई नागरिक दिलाएको कुरा नुरेनबीको निवेदन पछि मात्रै जिल्ला प्रशासन कार्यालयमा तरङ्गित भयो । किर्तेको वास्तविकता थाहा पाएपछि हाकिमहरूको ठुलो चलखेल भएको समाचार श्रोतको दाबी छ ,‘उनको निवेदन पछि तिन चार दिनको ठुलो चलखेलमा प्रमाण लुकाउने काम भएको हो ।’

नगर प्रमुख सिंहले नागरिकतामा किर्ते गरेको भन्दै नेपाली काँग्रेसका क्षेत्रीय सभापति महमद साहबुदिनले कारबाही निवेदन दर्ता गराएको लगभग एक हप्ता हुन लागेको छ । श्रेष्ठको नागरिकता प्रकरणबारे छानबिन गर्न गठित समितिले तीन दिन देखि खोजेको फाइल फेला पार्न सकेको छैन ।जसले गर्दा यो प्रकरण झन् पेचिलोसँगै शङ्कास्पद बन्दै गएको छ ।

कार्यालय स्रोतका अनुसार रुबीनाको नागरिकता लिन पेस गरिएका मुख्य प्रमाणहरू नुरनबीको निवेदन पछि नै गायब पारिएको हो । जसमा आमा बुवाको नाता प्रमाणित हुने जन्म दर्ताको प्रमाण देखि जिल्ला प्रशासन कार्यालयले नागरिकता प्रदान गर्नु अगाडि फोटो सहित वडाबाट सिफारिस गरिएको अनुसूची फारम जसमामा आमा, बुवा वा परिवारका व्यक्तिले दुवै औँठाछाप सहितको हस्ताक्षर गरी सनाखत गरेको हुन्छ । रुबीना श्रेष्ठको नागरिकताबारे गरिरहेको छानबिनमा अहिलेसम्म ढड्डाबाहेकको अन्य प्रमाण फेला नपरेको पर्साका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले बताउनुभयो ।

उहाँका अनुसार छानबिन समितिले गहिरिएर छानबिन गरिरहेको छ । ‘प्रकरणसँग सम्बन्धित मुख्य कागजातहरू अहिलेसम्म भेटिएको छैन, जसले गर्दा अनुसन्धान अगाडि बढ्न नसकेको हो ।’ समय सीमा भित्र कागजात फेला नपरे त्यसपछि अर्को बाटो अवलम्बन गर्ने तयारीमा प्रमुख जिल्ला अधिकारी भुसाल रहेको बुझिएको छ । केही कर्मचारीले नियतवश नै अनुसूची फर्म बेपत्ता बनाएको देखियो भने हदैसम्मको कारबाही गर्ने तरखरमा प्रमुख जिल्ला अधिकारी भुसाल रहेको बुझिएको छ ।

नागरिकता किर्ते प्रकरणको बारेमा ५ दिन भित्रमा अनुसन्धान प्रतिवेदन पेस गर्न निर्देशन दिइएको प्रमुख जिल्ला अधिकारी भुसालले बताउनुभयो । मेयर सिंहले भने नागरिकता प्रकरणमा जवाफ दिन वा सञ्चार माध्यमहरूसँग खुलेर कुरा गर्न आनाकानी गर्दै आएका छन् । नगर प्रमुख सिंहले आफ्नो व्यक्तिगत सामाजिक सञ्जालको वालमा ‘कुनै प्रश्नको जवाफ समयले दिने गर्छ ,जुन जवाफ समयले दिन्छ त्यो एकदम सुन्दर हुने गर्छ ।’ उल्लेख गर्दै सार्वजनिक गरेका छन् ।

नागरिकताको सनाखत गर्ने व्यक्तिको नाम राजेशमान सिंहसहित उनको नागरिकता नम्बर उल्लेख छ । बुवाको प्रमाणको रूपमा सिंहकै नागरिकताको प्रतिलिपि पेस गरिएको छ । नागरिकतामा बाबुको नाम लेखिए पनि आमाको नाम भने उल्लेख छैन ।

नागरिकता प्रकरणमा विभिन्न दलहरूको विरोध पछि गृह प्रशासन माथि दबाब बढ्दै गएको छ । बुधवार नगर प्रमुखले किर्ते गरेको प्रकरणको छानबिनको माग गर्दै वीरगन्जमा जुलुस प्रदर्शन भएको थियो । जुलुस पछि वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहविरुद्ध थप १५ जना स्थानीय नेताहरूले संयुक्त रूपमा जाहेरी दिएका थिए ।

नक्कली बाबु बनेर नागरिकता दिएको प्रकरणमा उनी विरुद्ध वीरगन्जका सचेत नागरिकको तर्फबाट विभिन्न पार्टीका प्रतिनिधि र स्थानीयहरूले जिल्ला प्रशासन कार्यालय पर्सामा जाहेरी दिएका हुन् । जाहेरीमा नक्कली बाबु बनेर नागरिकता दिलाएका वीरगन्ज महानगरपालिकाका वडा नम्बर ३ का ५३ वर्षीय मेयर राजेशमान सिंह र नागरिकता जारी गराएकी वर्ष २१ की युवतीलाई विपक्षी बनाइएको छ ।

प्रकाशित मिति : १ माघ २०८०, सोमबार  २ : ०४ बजे