काठमाडौं । नेपाल आयल निगमको कार्यकारी निर्देशक पदका लागि १४ जनाले आवेदन दिएका छन् । आइतबारसम्मको म्यादमा विभिन्न क्षेत्रमा क्रियाशील १४ जनाले निवेदन दिएका हुन् । उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालयले गत ७ पुसमा एक सूचना जारी गर्दै दरखास्त आह्वान गरेको थियो ।
आवेदन दिनेमा काठमाडौंका सहदेव चन्द, दिलीपशेखर श्रेष्ठ र उत्तरकुमार रेग्मी, पंकजकुमार दास, माधव रेग्मी र आमोदप्रसाद चौधरी, महोत्तरीका कमलेन्द्रलाल कर्ण, चितवनका डा. डोलप्रसाद चापागाई, धनुषाका रामदेव यादव, सप्तरीका संजीवकुमार श्रेष्ठ, गोरखाका चण्डिकाप्रसाद भट्ट, दाङका बसन्तकुमार पाण्डे, बाग्लुङका डोलिन्द्रप्रसाद शर्मा र ललितपुरका शत्रुध्नप्रसाद पुडासैनी छन् ।
मन्त्रालयको वाणिज्य तथा आपूर्ति सचिवको नेतृत्वमा कार्यकारी निर्देशक छनोट समिति गठन हुने गरेको छ । सो समितिले निवेदन दिएका उम्मेदवारहरुलाई अन्तरवार्ता र व्यावसायिक कार्ययोजनाको प्रस्तुतीकरणपछि अन्तिम तीनजनाको नाम मन्त्रिपरिषद्मा पेस गर्ने र तीमध्ये एकजनालाई कार्यकारी निर्देशकको पदमा मन्त्रिपरिषद् बैठकबाट नियुक्त गर्ने प्रावधान छ ।
यसपटक निवेदन दिएका गोरखाका भट्ट उद्योग मन्त्रालय मातहतकै विशेष आर्थिक क्षेत्र प्राधिकरण (सेज) को कार्यकारी निर्देशक हुन् निवेदन दिएकामध्ये दाङका पाण्डे हाल हेटौंडा सिमेन्ट उद्योगको महाप्रबन्धकको रुपमा कार्यरत छन् । पाण्डे ०७८ चैतमा हेटौंडा सिमेन्टको महाप्रबन्धक नियुक्त भएका थिए ।
टोखाका दिलीपशेखर श्रेष्ठ सहसचिवबाट अवकाश प्राप्त सिभिल इन्जिनियर हुन् । उनी सहरी विकास मन्त्रालय मातहतको सहरी विकास तथा भवन निर्माण विभागको उपमहानिर्देशकबाट अवकाश भएका थिए । उनले लामो समय पुनःनिर्माण प्राधिकरणमा समेत काम गरेका थिए ।
त्यस्तै, चन्द नेपाल राष्ट्र बैंकका इन्जिनियर हुन् । उनी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका भाञ्जा नाता पर्छन् । बाग्लुङका शर्मा साझा प्रकाशनको पूर्वमहाप्रबन्धक हुन् ।
प्रकाशित मिति : १ माघ २०८०, सोमबार ११ : ५२ बजे
प्रतिक्रिया