नेपालगञ्जमा सामूहिक आगो ताप्ने व्यवस्था,दाउरा उपमहानगरपालिकाले दिने

बाँके। शीतलहरसँगै चिसो बढेपछि नेपालगञ्ज उपमहानगरपालिकाले विभिन्न सार्वजनिक ठाउँ तथा चोकमा दाउरा वितरण गरेर सामूहिक रुपमा आगो ताप्ने व्यवस्था गरेको छ ।

उपमहानगरपालिकाले आइतबार बिहानैदेखि दाउरा वितरण सुरु गरेको नगर प्रमुख प्रशान्त विष्टले बताए । 

उनका अनुसार नगरका मुख्य २० ठाउँमा दाउरा वितरण गरिएको छ । नगर प्रमुख विष्टले अब नियमितरुपमा निरन्तर नगरका अन्य सार्वजनिक स्थान, चोक तथा वडाका भित्री चोकमा समेत दाउरा वितरण गर्ने बताए ।

‘शीतलहरको सुरुआतसँगै चिसो अत्यधिक बढेकाले सर्वसाधारणको सहजताका लागि सामूहिक आगो ताप्ने व्यवस्था मिलाएका हौँ’, नगरप्रमुख विष्टले भने, ‘जाडोका कारण आगो ताप्न नपाएर बाँकेमा कसैले पनि ज्यान गुमाउनु पर्ने छैन ।’

नेपालगञ्जका रामलीला मैदान, भेरी अस्पताल अगाडि, त्रिभुवनचोक, त्रिवेणी मोड, सेतु विक चोक, बसपार्क बाहिर, बसपार्क भित्र, कारकाँदो चोक, विशाल चोक, पीपल चौतारा खजुरारोड, जिल्ला प्रहरी कार्यालय अगाडि खजुरारोड, जिल्ला प्रहरी कार्यालय परिसर, शिव मन्दिर चोक, धम्बोझी चोक, धम्बोझी चोकस्थित मस्जिद, विपी चोक, विटिएस चोक, गणेशमान चोक, मानव सेवा आश्रम र नीलसगर सेवा आश्रममा आगो ताप्ने व्यवस्था गरिएको नगर प्रहरी प्रमुख सूर्यबहादुर बोगटीले जानकारी दिए ।

प्रकाशित मिति : २९ पुस २०८०, आइतबार  २ : ४७ बजे