साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

‘नेशनल डे कन्सर्ट’ सम्पन्न

यी हुन् सहकारी ठगीमा फरार २९ जना

नेपालका वाम घटक : को ठुलो, को नदी, को कुलो ?

नेपालको वाम आन्दोलन एकता र विभाजनको घन चक्करबाट गुज्रिरहेको छ । नेतृत्वको जुँगाको लडाइँबाट सुरु हुने टुटफुटलाई विचारको चास्नीमा डुबाउने र आफ्नो स्वार्थ पुरा गर्ने खेल निरन्तर चलिरहेको छ ।

नेपालको कम्युनिष्ट आन्दोलनको विभाजनमा सामन्तवादी-प्रतिक्रियावादी षडयन्त्रको प्रमुख भूमिका रहँदै आएको छ । २०१७ सालको राजा महेन्द्रले जननिर्वाचित सत्ता हत्याउँदा समर्थन गर्ने ‘कम्युनिष्ट’ होउन् वा पछिल्लो के पी ओली  सरकार गिराउन नेपाली काँग्रेसलाई सघाउने माओवादी-समाजवादी होउन्, यो शृङ्खलाले निरन्तरता पाएको छ । नेपाली समाजको आमूल रूपान्तरण र नेपाली श्रमजीवी वर्गको पक्षमा प्राप्त हुने ठुल्ठुला अवसर यही टुटफुट र विभाजनको कारण गुमेका छन् र वाम शक्तिको विभाजनको फाइदा उठाएर कहिले सामन्तवादी त कहिले साम्राज्यवादी-पुँजीवादी शक्तिले नेपाली जनतामाथि हैकम जमाउँदै आएको छ ।

२००६ सालमा गठित नेपाल कम्युनिष्ट पार्टीले मार्क्सवाद-लेलिनवादको मार्ग निर्देशनमा लोकजनवादी राज्यसत्ता स्थापना गर्ने उद्घोष गरेको थियो । त्यसयता विभिन्न समयमा गठित वा पुनर्गठित वाम नद-नदीहरू सबैले समाजवादी समुन्द्रमा पुग्ने रणनीतिक गन्तव्य तय गरे पनि अधिकांश घटक कार्यनीति र कार्यदिशाको गोल चक्करमा रुमलिएका छन् ।

अचम्म त के छ भने देशका लाखौँ टोलसम्म आफ्नो सङ्गठन चलायमान रहेको, पटक-पटक सरकारको नेतृत्व गरेको, नेपालको धरातलीय यथार्थमा आधारित जनताको बहुदलीय जनवादी सिद्धान्तको विकास गरेको, सत्तामा हुँदा रणनीतिक महत्वका समाजवादोन्मुख कार्यक्रम लागू गरेको नेकपा(एमाले)देखि भर्खरै गठन भएका र देशभरि पचास-सय कार्यकर्ता पनि नभएका वाम घटकले आफू नै अब्बल र एक नम्बर पार्टी रहेको दाबी गर्दै आएका छन् ।

२०४९ सालमा सम्पन्न एमालेको पाँचौँ राष्ट्रिय महाधिवेशनबाट पारित जनताको बहुदलीय जनवादको जगमा २०५१ सालमा प्रथम जननिर्वाचित कम्युनिष्ट सरकार गठन भएको थियो । जनस्तरमा मनमोहन सरकारको लोकप्रियता चरमचुलीमा पुगेको बेला चीनमा जस्तो गाउँबाट सहर घेर्ने र बन्दुकको बलद्वारा नौलो जनवादी व्यवस्था स्थापना गर्ने उद्देश्यका साथ माओवादी पार्टीले सशस्त्र विद्रोह सुरु गरेको थियो । सुरुमा कुलो आकारमा रहेको यो घटक १० वर्षमा ‘माओवादी बाढी’मा परिणत भयो । यस्तो लाग्दथ्यो, त्यो बाढी नदीमा परिणत हुँदै समाजवादी समुन्द्रसम्म पुग्दछ । तर त्यसो भएन । क्रमशः ‘बाढी’ सुक्यो, कुलोसरह सुक्यो, सुकिरहेछ ।

भन्न परोइन, नदीको आफ्नो मिसन हुन्छ । चट्टान फोड्दै गन्तव्यमा पुग्ने तागत राख्दछ । नदी प्राकृतिक हुन्छ, नदी निरन्तर हुन्छ । नदीले आहारा र सहारा दुवै प्रदान गर्छ । आरोह-अवरोहबीच नेपालको कम्युनिष्ट आन्दोलनको मूल प्रवाह नेकपा(एमाले)ले आफूलाई समाजवादी समुन्द्रमा पुग्ने स्पष्ट मिसन बोकेर साम्राज्यवादी-प्रतिक्रियावादी चट्टानसँग जुध्दै अगाडि बढेको नदी-शक्तिको रूपमा पटक-पटक प्रमाणित गरेको छ । देश र जनताको हितलाई सर्वोपरि राखेर अगाडि बढ्न सक्ने, साम्राज्यवादी-प्रतिक्रियावादी शक्तिसँग मुकाविला गर्न सक्ने र आफ्ना आन्तरिक कमजोरीलाई सहजै सच्याउने क्षमता एमालेबाहेक अरू कुनै वाम पार्टीमा दृष्टिगोचर हुँदैन ।

सबैलाई थाहा छ- कुलोको गन्तव्य कसैको खेतबारीसम्म मात्र हुन्छ । कुलो कसैको स्वार्थपूर्तिको लागि उसैले वा अरू कसैले निर्माण गरिदिएको हुन्छ ।

प्रचण्ड नेतृत्वको माओवादी, माधव नेपाल नेतृत्वको एकीकृत समाजवादी नदी बन्ने हुँकार गरे पनि अन्ततः प्रतिक्रियावादी-पुँजीवादी शक्तिका खेतबारी पटाउने कुलो साबित भएका छन् । एमालेको लोकप्रियतालाई शमन गर्न बाह्य शक्तिको इसारामा माओवादी कुलो खनिएको रहेछ भन्ने कुरा माओवादी सुप्रिमो पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री भएको बेला ह्वात्त बढेको विदेशी चलखेल र देशको सार्वभौमिकता अखण्डतामाथि आघात पर्ने सम्झौता हुनुले प्रष्ट पार्दछ । एमाले सरकारका पालामा सुरु गरिएको सन्तुलित कूटनीतिलाई तिलाञ्जलि दिएर ‘ठुल दाइ’ कूटनीतिको अङ्गीकार गर्ने प्रचण्डको नीति देशको हितमा छैन ।

प्रतिक्रियावादी-पुँजीवादी आफ्नो खेत पटाउन माओवादी ‘स्थायी’ कुलो अपर्याप्त भएपछि ‘एकीकृत समाजवादी’ नामक अर्को अस्थायी कुलो थपियो । ‘नदी’ बन्ने क्षमता आर्जन गर्न नसकेका तर ‘कुलो’ बन्न तँछाडमछाड गर्ने अरू वाम पार्टीको त के कुरा गर्नु ?

प्रकाशित मिति : २८ पुस २०८०, शनिबार  ८ : ४१ बजे