दलित गाउँका पहिलो शिक्षक

आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

काम गर्ने उमेर समूहका मानिस स्वदेशमै रहेर देश बनाउने काममा सरिक हुनुपर्छः महासचिव पोखरेल

दाङ । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले काम गर्ने उमेर समूहका मानिसहरू स्वदेशमै रहेर देश बनाउने काममा सहभागी हुनुपर्ने बताउनुभएको छ ।  

नेपाल विद्युत प्राधिकरण कर्मचारी युनियनद्वारा शुक्रबार दाङको घोराहीमा आयोजित भेटघाट तथा अन्तर्क्रिया कार्यक्रममा उहाँले यस्तो धारणा राख्नुभएको हो । 

महासचिव पोखरेलले भन्नुुभयो– काम गर्ने मानिस जति सबै विदेश गए देश कसरी बन्छ ? 
उहाँले वर्तमान गठबन्धन सरकारका लागि नागरिक पलायनताप्रति कुनै चिन्ता नरहेको बताउनुभयो । 
महासचिव पोखरेलले यतिबेला नेपाल राष्ट्रलाई कमजोर बनाउन अनेक खालका षडयन्त्र भइरहेको र सरकारले राष्ट्र हितको प्रतिनिधित्व गर्न नसकेको बताउनुभयो । 

उहाँले भन्नुभयो– नेपाल राष्ट्रलाई कमजोर बनाउनको लागि सुनियोजित ढङ्गले षडयन्त्र भइरहेको छ, नेपाल राष्ट्र इतिहासकै सबैभन्दा कमजोर अवस्थामा उभिएको छ भन्नुपर्दा अत्यन्त दुःख लाग्छ । 
महासचिव पोखरेलले सरकार देश र जनता प्रति उदासीन बन्दै गएको बताउनुभयो । 

नेपाल सरकारको बजेट प्रणालीबाट जाने रकम भन्दा बढी रकम भारतीय दूतावासले एउटै योजनामा खर्च गर्ने गरी सम्झौता गर्नु त्यसकै उदाहरण भएको उहाँले बताउनुभयो । यसले स्थानीय तहका जनप्रतिनिधिलाई आफ्नो सरकारको बजेट प्रणालीमा होइन भारतीय दूतावासमा धाउन बाध्य बनाउने काम गरेको उहाँको भनाइ छ । 

अहिले नेपालको धर्म, संस्कृतिमाथि आक्रमण भइरहेको भन्दै महासचिव पोखरेलले मानिसहरू बहकिएर जातीय अतिवादी र धार्मिक अतिवादीको पछि लागेको बताउनुभयो । 

सत्तारुढ दलका मानिसहरू र मन्त्रीहरूले हिंसालाई प्रोत्साहित गरेर नागरिकको जीवन लिनेसम्मका काम गरेको भन्दै अहिले मुलुक मानवीय सङ्कटको अवस्थामा पुगेको उहाँले बताउनुभयो । 
महासचिव पोखरेलले एमालेले सम्पन्न गरेको समृद्धिका लागि सङ्कल्प यात्राले अतिवाद नियन्त्रणमा भूमिका खेलेको विश्वास व्यक्त गर्नुभयो । एमालेका नेता कार्यकर्ताले मात्र होइन अन्य दलका नेता, कार्यकर्ताले पनि सो यात्राको खुलेर प्रशंसा गरेका उहाँले बताउनुभयो । 

मुलुकलाई अहिलेको अवस्थाबाट सही बाटोमा लैजान राजनीतिक दलसँगै कर्मचारी प्रशासनको पनि भूमिका रहने महासचिव पोखरेलले बताउनुभयो । तर कर्मचारी प्रशासनमा व्यापक राजनीतिकरण गरिएको कारण कर्मचारी प्रशासन पनि कमजोर हुँदै गएको उहाँको भनाइ छ ।  

अहिले देश निर्माणको काम ठप्प भएकाले नागरिकमा निराशा र पलायनता बढेको महासचिव पोखरेलको भनाइ छ ।

प्रकाशित मिति : २७ पुस २०८०, शुक्रबार  १० : १३ बजे