नुनको कोटा नबढ्दा अनिलै खान्छन् मुगाली  

मुगु । सरकारले मुगु आउने नुनको कोटा नबढाउँदा मुगालीहरुले पर्याप्त मात्रामा नुन पाउन सकेका छैनन् ।

मागअनुसार नुन नपाउँदा कयौँ दिन अलिनो खाना खानु परेको जनताहरूले गुनासो गरेका छन् । 

जिल्ला प्रशासन कार्यालय मुगुको आयोजनामा मङ्गलवार बोलाइएको सर्वदलीय सर्वपक्षीय बैठकमा जनताले नुनको लागि सास्ती पाएको र आवश्यकता अनुसारको नुन नपाएको गुनासो उठेको थियो ।

बैठकमा नेपाली काङ्ग्रेस मुगुका उपसभापति कर्णबहादुर रावलले नुन दिँदा नागरिकताको फोटोकपी खोज्ने र स्वयम् व्यक्ति उपस्थित हुन पर्ने र नङमा रङ्ग लगाउनु पर्ने प्रावधानले जनतामा सास्ती खेप्नु परेको बताए । 

बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टीका जिल्ला अध्यक्ष राजबहादुर मल्लले नागरिकता देखाएमा ५ पाकेट नुन पाइने र ५० रुपैयाँको ५ पाकेट मात्र नुन लिन सदरमुकाम बाहिरका जनताले ५ सय बढी खर्च गर्नु परेकाले वडाबाटै जनतालाई नुन वितरणको व्यवस्था मिलाउन सुझाव दिए । 

नीतिगतरुपमा वडाहरूबाट नुन वितरणको प्रावधान भए आफूहरू वडाबाट वितरण गर्न तयार रहेको छायानाथ रारा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पशुपति शाहीले बताए । 

बैठकमा आएका नुनको समस्याबारे आफू जानकार भएको र मुगुमा ०६८ सालको जनसङ्ख्यालाई आधार मानि प्रति व्यक्ति ५ पाकेटका हिसाबले कोटा निर्धारण गरी  नुन उपलब्ध हुँदै आएको  प्रमुख जिल्ला अधिकारी टोपेन्द्र केसीले बताए । 

सरकारले मुगुका लागि वार्षिक २९७० क्विन्टल नुन वार्षिक कोटा छुटाउँदै आएको छ । 

पालिकाअनुसार हेर्दा खत्याड र सोरु गाउँपालिकाका लागि वार्षिक १ हजार ७७० क्युनटल र मुगु कार्मारोङ्ग गाउँपालिका र छायानाथ रारा नगरपालिकाका लागि  १ हजार २०० क्युनटल नुन  कोटा छुटाएको देखिन्छ ।

जनगणना २०६८ अनुसार मुगुको  ५५ हजार २८६ थियो भने  २०७८ को जनगणना अनुसार मुगुको जनसङ्ख्या बढेर ६४ हजार ५४९ पुगेको छ ।

प्रकाशित मिति : २५ पुस २०८०, बुधबार  ४ : १८ बजे