बालसुधार गृहबाट भागेका १४ बालबन्दी अझै भेटिएनन्

बाँके । बाँकेको नौबस्तास्थित बालसुधार गृहबाट भागेका १४ जना बालबन्दी अझै भेटिएका छैनन् । पुस १५ गते बालसुधार गृहमा विवाद भएको मौका छोपेर फरार भएका २३ जनामध्ये ९ जना फेला परेपनि अन्य १४ जना भने अझै फरार भएका हुन् ।  

फरार हुनेहरूमध्ये जबरजस्ती करणीका ९, कर्तव्य ज्यान मुद्दाका २, ज्यान सम्बन्धी कसुरका १, अप्राकृतिक मैथुनका १ र डाकाचोरी मुद्दाका १ जना छन् ।

उनीहरूलाई भर्खरै मात्र त्यहाँ सारिएको थियो । उनीहरूमध्ये १० जना यसअघि जयन्दु बालसुधार गृहमा थिए भने अरू २ जनालाई रुपन्देहीबाट ल्याइएको थियो । हेटौडा र पर्साका बाल सुधार गृहबाट ल्याइएका १–१ जना छन् ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख डिएसपी नारायण डाँगीले चाँडोभन्दा चाँडाे सबै जनालाई नियन्त्रणमा लिइने बताए । 

सुधार गृहमा ११६ जना बालबन्दी रहेकोमा झडप र तोडफोडपछि अहिले १०२ जनामा सीमित छन् । बालसुधार गृहमा प्रहरी सुरक्षा बलियो नहुँदा बालसुधार गृहमा विवाद दोहोरिरहेको छ ।

प्रहरीका अनुसार बालसुधार गृहमा रहेका बालबन्दीलाई सामान दिने बाहानामा भेट्न आउनेहरूले कपडामा चुरोटदेखि मादक पदार्थ समेत पुर्‍याएको पाइएको छ । सो घटनापछि सशस्त्र प्रहरीको कमान्डमा रहेको बाल सुधार गृहमा सशस्त्र प्रहरीको टोली नै परिवर्तन गरिएको छ ।

बालबालिका सम्बन्धी ऐन–२०७५ को दफा ४३ को उपदफा ४ को व्यवस्थाअनुसार बाल सुधार गृहमा रहने क्रममा बालबालिकाको उमेर १८ वर्ष नाघेमा उनीहरूको सुधार, सिप तथा शिक्षाको निरन्तरताजस्ता विषयलाई ध्यान दिई बाँकी अवधिका लागि गृहमा अन्य बालबालिकाबाट अलग राख्नुपर्ने बाल अधिकारकर्मीको भनाई रहेको छ।

प्रकाशित मिति : २५ पुस २०८०, बुधबार  ३ : ५६ बजे