दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आज उम्मेदवारी दर्ता हुँदै

काठमाडौँ । राष्ट्रियसभा सदस्यको रिक्त १९ पदका लागि आगामी माघ ११ गते हुने निर्वाचनको आज उम्मेदवारी मनोनयन पत्र दर्ता हुँदैछ ।

सातै प्रदेश मुकाममा स्थापना गरिएका निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयन पत्र दर्ता आज बिहान १० बजेदेखि अपराह्न ३ बजेसम्म हुनेछ । 

उम्मेदवारी मनोनयन दर्ता गर्नुअघि आयोगका तर्फबाट गरिनुपर्ने सम्पूर्ण तयारी र कार्य जिम्मेवारी पूरा गरिएको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो ।

राष्ट्रियसभा निर्वाचनमा प्रदेशसभा सदस्य र गाउँपालिका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिका प्रमुख र उपप्रमुख मतदाता  छन् । कानुनी व्यवस्थाअनुरूप प्रदेशसभा सदस्य पाँच सय ४९ र पालिका प्रमुख र उपप्रमुख गरी जम्मा २०४७ जनाको मतदाता नामावलीमा स्वीकृत भएको छ ।

निर्वाचनमा प्रदेशसभा सदस्यको मत भार ५३ तथा पालिका प्रमुख र उपप्रमुखको मत भार १९ कायम गरिएको छ । उक्त निर्वाचनमा प्रदेशसभा सदस्यको कूल मत भार २९ हजार ९७ र पालिका प्रमुख र उपप्रमुखको कूल मत भार २८ हजार चार सय ६२ रहने छ । आयोगका अनुसार मतदाताको अन्तिम नामावली आइतबार प्रकाशन भइसकेको छ ।

यस्तै, उम्मेदवारीउपर यही पुस २४ गते दाबी विरोध र उजुरी, २५ र २६ गते जाँचबुझ गरी उम्मेदवारीको नामावली प्रकाशन हुनेछ भने २७ गते नाम फिर्ता लिन चाहने उम्मेदवारको नाम फिर्ता र उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुनेछ । उम्मेदवारलाई निर्वाचन चिह्न पुस २८ प्रदान गरिने छ । 

यस निर्वाचनमा सात प्रदेशमा एक–एक मतदान स्थल र दुई–दुई मतदान केन्द्र कायम गरिएको छ । 

मतदान माघ ११ गते बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म हुनेछ ।  स्थायी सदनका रूपमा रहेको ५९ सदस्यीय राष्ट्रियसभाका एक तिहाइ सदस्यको कार्यकाल प्रत्येक दुई वर्ष पूरा सकिन्छ । 

निर्वाचनमा विभिन्न प्रदेश र क्षेत्रबाट महिला, दलित, अपाङ्गता भएका व्यक्ति वा अल्पसङ्ख्यक र अन्य समुदायबाट सदस्यको चयन हुनेछ ।

प्रकाशित मिति : २३ पुस २०८०, सोमबार  ६ : ४९ बजे