राष्ट्रपति भवनमा घटस्थापना

देशभर चिसो बढ्यो

काठमाडौँ । पछिल्ला दिनमा तापक्रम निरन्तर घट्दा देशभर चिसो बढिरहेको छ ।

सङ्घीय राजधानी काठमाडौँसहित देशभर चिसो ह्वात्तै बढेकाले यसबाट बच्न आवश्यक उपाय तथा सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।     

महाशाखाका मौसमविद् सञ्जीव अधिकारीका अनुसार आज काठमाडौँको न्यूनतम तापक्रम चार दशमलव पाँच डिग्री सेल्सियस तथा अधिकतम तापक्रम १७ डिग्री सेल्सियस रहेको छ । शुक्रवार काठमाडौँको न्यूनतम तापक्रम तीन डिग्री सेल्सियस थियो । काठमाडौँमा बिहानीपख हुस्सु लागे पनि दिउँसो पारिलो घाम लाग्ने गरेको छ । 

“तापक्रम हल्का घटिरहेको छ । यही तरिकाले तापक्रम ओरालो लाग्ने हो भने माइनसमा जान सक्छ”, मौसमविद् अधिकारीले भन्नुभयो ।

आइतबार बिहान न्यूनतम तापक्रम दुईदेखि चार डिग्री सेल्सियस हुने पूर्वानुमान गरिएको छ । आज बिहान काठमाडौँको भिजिबिलिटी चार किलोमिटर रहेको छ । कोसी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपात भए पनि आगामी तीन दिनसम्म उल्लेखनीय मौसम प्रणाली नरहने मौसमविद् अधिकारीले जानकारी दिनुभयो ।

जुम्लामा सबैभन्दा धेरै तापक्रम घटेर माइनस पाँच दशमलव सात डिग्री सेल्सियस रहेको छ । शुक्रवार जुम्लाको न्यूनतम तापक्रम माइनस ६ डिग्री सेल्सियस थियो । महाशाखाले जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । कोसी, मधेस प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ । तराईका थोरै स्थानमा हुस्सु÷कुहिरो लागेको छ ।

दिउँसो कोसी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहनेछ । कोसी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागको केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

प्रकाशित मिति : २१ पुस २०८०, शनिबार  १० : ०२ बजे