ताप्लेजुङमा अनिश्चितकालिन बजार, पसल तथा यातायात बन्दको आह्वान

काठमाडौं – प्रहरी हिरासतमा रहेका ताप्लेजुङका व्यवसायी भद्रवीर रेग्मीको रिहाइको माग गर्दै ताप्लेजुङ उद्योग बाणिज्य संघ र नेपाल उद्योग तथा व्यवसायी महासंघले शनिवारबाट बजार पसल बन्द सहितका आन्दोलनका कार्यक्रम घोषणा गरेका छन्।

चरणबद्ध आन्दोलनका रुपमा उनीहरुले यातायात बन्द समेतको घोषणा गरेका छन्। दुबै संस्थाहरुले शुक्रवार प्रेस विज्ञप्ति जारी गर्दै ‘अति सामान्य घटना’का कारण पक्राउ गरी हिरासतमा राख्ने, मुद्दालाई सम्वन्धित निकायमा पेश गर्न आलटाल गर्ने गतिविधिका पछाडि ठूलो रहस्य रहेको भन्दै रेग्मी माथि लागेको मुद्दा फिर्ता लिई रिहा गर्न आग्रह गरेका छन्।

शुक्रवारभरीमा रेग्मीको रिहाई नभए शनिवारबाट अनिश्चितकालिन बजार पसल र यातायात बन्दको आवहान गरिएको दुबै संस्थाले प्रकाशित गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ।

ताप्लेजुङ उद्योग बाणिज्य संघका सदस्य समेत रहेका भएका रेग्मी अलैंची व्यवसायी संघ ताप्लेजुङका अध्यक्ष समेत हुन्। ताप्लेजुङ उद्योग बाणिज्य संघका कार्यवाहक अध्यक्ष दावा शेर्पा तथा महासचिव कमल लिम्बूद्धारा जारी विज्ञप्तिमा समाजमा हुने छिटफुट घटनालाई आपसी सहमतिमा समाधान गर्ने प्रयत्न हुँदै गर्दा जिल्ला प्रहरी कार्यालयको निगारानीमा रहेको सिसीटिभी फुटेज सार्वजनिक गराएर सहमतिको वातावरण बिगार्ने प्रयास भएको आरोप लगाईएको छ।

घटनालाई उत्तेजित बनाउन सिसीटिभी फुटेज सम्पादन गरी बाहिर ल्याएको आरोप समेत विज्ञप्तिमार्फत लगाईएको छ। नेपाल उद्योग तथा व्यवसायी महासंघका जिल्ला अध्यक्ष गोबिन्दराज बराल र सचिव राजेन्द्र भारतीद्धारा जारी विज्ञप्तिमा पनि ताप्लेजुङ उद्योग बाणिज्य संघले भने जस्तै कुरा उल्लेख गरिएको छ।

फुङलिङ नगरपालिका वडा नं ५ बस्ने धनप्रसाद ओझालाई कुटपिट गरेको अभियोगमा प्रहरीले रेग्मीलाई पक्राउ गरी हिरासतमा राखेको छ। ताप्लेजुङ उद्योग बाणिज्य संघ र नेपाल उद्योग तथा व्यवसायी महासंघले विज्ञप्तिमा ओझालाई दैनिक होहल्ला गर्ने, अस्लिल तथा अपशब्द प्रयोग गरी छरछिमेकीलाई गालीगलौज गर्ने गरेको अभियोग लगाएका छन्। आफ्नै पसलमा बसिरहेको समयमा पुस १२ गते धनप्रसादले भद्रवीरकी श्रीमति दिलमायामाथि आक्रमणका लागि जाईलागेको, पछाडि हट्दा समेत आक्रमण गरिरहेको देखेपछि प्रतिरक्षाका क्रममा उक्त घटना भएको भन्दै व्यवसायीहरुले रेग्मीको बचाउ गरेका छन् ।

ओझाबाट बिगत समय देखि नै यस्तो कार्य हुँदै आएकोले स्थानीय समुदायकातर्फबाट प्रहरी कार्यालयमा लिखित निबेदन दिदाँ समेत सुनुवाई नभएको व्यवसायीहरुले विज्ञप्तिमार्फत जनाएका छन्। यो घटना पछि धनप्रसादको परिवारको निबेदनका आधारमा प्रहरीले रेग्मीलाई अभद्रव व्यवहारमा मुद्दा चलाएको छ।

प्रकाशित मिति : २० पुस २०८०, शुक्रबार  ९ : ०१ बजे