राष्ट्रपति भवनमा घटस्थापना

कारागारका कैदी बाजुरा भ्रमणमा,प्रशासनलाई छैन अत्तोपत्तो

अछाम। अछाम कारागारमा रहेका कैदी बाजुरासम्म घुम्दै आएको खुलेको छ। जिल्ला कारागारका कैदीलाई जेलर जनक शाहीले बाजुरा जिल्लाको भ्रमण गराएको खुलेको हो ।

अछाम कारागारमा लागु औषध मुद्दामा कैद सजाय काटिरहेका कञ्चनपुरका नरेश अवस्थीले बाजुराको भ्रमण गरेका छन् । अवस्थीलाई जिल्ला कारागार अछामका जेलरले मङ्सिर ७ गते बाजुरा जिल्लाको भ्रमण गराएका हुन्। 

अवस्थीको बाजुरा भ्रमणका विषयमा प्रशासनलाई भने कुनै जानकारी नै थिएन । उनी भ्रमणबाट आइसकेपछि मात्रै प्रशासनलाई जानकारी भएकाे हाे । 

​प्रशासनलाई जानकारी भएपछि सुरक्षा प्रमुखसहितको टोली परिवर्तन भएको छ। तर, जेलर शाहीलाई कारबाही गरिएको छैन। 

जिल्ला प्रशासन कार्यालय, अछामका सूचना अधिकारी सन्तोष विकका अनुसार जेलर शाहीलाई सचेत मात्र गराएको छ। कारागारका तत्कालीन सुरक्षाकर्मीका इन्चार्ज रविन्द्र कलौनीसहितको टोली भने फेरिएको छ। गत मङ्सिर २५ गते नै टोली फेरिएको हो।

जिल्ला प्रशासन कार्यालय, अछामले जेलर शाहीलाई उन्मुक्ति दिएपछि उनको दम्भ झन् बढेको कैदीहरूको गुनासो छ। उनले लागु औषध मुद्दामा कैद काट्दै आएका अवस्थीसँगको साँठगाँठमा अन्य कैदीहरूलाई दुःख दिने कामसमेत गर्दै आएका छन्। 

उनले कैदीबन्दीहरूलाई आफ्नो विरुद्धमा नबोल्न लिखित कागजसमेत गराएका छन्। अन्य कैदीहरूको सिधा तथा लुगाको भरपाईसमेत अवस्थीले गर्दै आएका छन्। 

अछाम कारागारका जेलर जनक शाहीलाई धेरै पटकसम्म सम्पर्क गर्दा पनि उनी सम्पर्कमा आएनन्। जिल्ला कारागार भित्र लागु औषधको समेत ओसार पसार हुँदै आएको खुलेको छ। 

मङ्गलवार राति सफाइ कर्मचारी मार्फत मासु भित्र राखेर ७४० मिलिग्राम लागु औषध कारागार भित्र लैजान खोज्ने २३ वर्षीय जनक बडुवाल पक्राउ परेका थिए।

प्रकाशित मिति : २० पुस २०८०, शुक्रबार  ४ : ०६ बजे