राष्ट्रपति भवनमा घटस्थापना

गमगढीका चाेकचाेकमा गुञ्जन्छन् दृष्टिविहीन नेपालीका गीत,गाएर मात्रै चल्दैन गुजारा

मुगु । हातमा लौरी अनुहारमा कालो चस्मा लगाउने कल्से नेपाली  मुगु जिल्लाका जन्मजात दृष्टिविहीन हुन् । उनी  दैनिक जसो कहिले  आफन्तको सहारा त कहिले एक्लै सदरमुकाम गमगढी बजार डुल्छन् । 

उनी डुल्ने एउटै उद्देश्य हो । कतै सार्वजनिक  कार्यक्रम भए गीत गाउने ।  नेपाली गमगढीका चोक र गल्लीमा डुलेको सोह्र वर्ष भयो ।

गीत गाइसकेपछि कोही कसैले आर्थिक सहयोग गर्ने गर्दछन् । त्यही केही उठेको  पैसाले कल्सेकाे कोठामा चुलो बल्छ । 

'पहिले-पहिले माया गरेर सबैले सहयोग गर्दथे। अहिले त  कमैले  हेर्छन्',उनले भने । कोठामा चामल, दाल तरकारी , नुन तेल  जुटाउन पनि गारो भैसकेको नेपालीले गुनासो गरे ।

जन्मजात दुईवटै आँखा नभएका नेपालीलाई हाल कोठा भाडा तिर्न समेत मुस्किल भएको छ । 'भाडा नतिरेको लामो समय भयो । अहिले खासै कमाइ पनि छैन । घरबेटीले कोठा भाडा मागेर हैरान पार्छन्',उनले गुनासो गरे । 

उमेरले ५८ वसन्त पार गरेका नेपालीका  तीन वटी छोरी सहित ५ जनाको परिवार छ । 'मैले सन्सार कस्तो छ भन्ने अनुभूति  नगरे पनि तीन वटै छोरीलाई  स्कुलमा पढाएर राम्रो शिक्षा दिएर सन्सार देखाउन पाएँ',उनले भने । 

'क' श्रेणीको अपाङ्ग  भएकाले नेपाल सरकारबाट खतेड गाउँपालिका  मार्फत ४ हजार र छायानाथ रारा नगरपालिकाबाट १५ सय पाउँदै आएका छन् । 

'यो  संसार कस्तो छ भन्ने  खुल्दुली भन्दा  तीन वटी छोरी  कसैले पढाउने जिम्मा लिइदिएको भए  मलाई सन्सार देखे जस्तो त्यही हुने थियो',उनले भने । 

हेरन्डेक नामक गैर सरकारी संस्थाले हरेक महिना केही मात्रामा चामल, दाल , तेल नुन सहयोग गर्दै आएको उनले बताए । यतिले  नपुगे पछि अहिले कल्से नेपालीलाई पाँच जनाको परिवार पाल्न धौधौ परेको छ ।

प्रकाशित मिति : २० पुस २०८०, शुक्रबार  ३ : ४८ बजे