राष्ट्रपति भवनमा घटस्थापना

दुई कराेड पेस्की लिएर ठेकेदार सुते,सम्झौता मिति ५ मिना चुक्यो बनेन अस्पताल

डोटी । डोटीको जोरायल गाउँपालिका-३ सरस्वतीनगर चन्कट्टेमा निर्माणाधीन अस्पतालको काम सम्झौता मिति चुकेको पाँच महिना बितिसक्दा पनि अलपत्र अवस्थामा रहेको छ । 

१५ शैयाकाे अस्पताल निर्माण लागि राजेन्द्र निर्माण सेवा कम्पनीसँग ०७८ साउन १९ गते २ वर्ष भित्र निर्माण सम्पन्न गर्ने सम्झौता भएको थियो ।

सम्झौता भएपछि उक्त कम्पनीका ठेकेदार भिम बहादुर साउदले काम सुरु गर्ने भन्दै ०७८ माघ १० मा १ करोड ९६ लाख ८० हजार पेस्कीसमेत लिएको गाउँपालिका सूचना अधिकारी चन्द्र सिंह ऐडीले जानकारी दिए । 

भवन निर्माणको सम्झौता मिति सकिएपछि गत असार महिनामा ठाउँ सारी पाउँ भवन निर्माणको काम सुरु गर्छु भन्दै गाउँपालिकालाई उक्त निर्माण सेवा कम्पनीका ठेकेदार भिम बहादुर साउदले निवेदन दिएको ऐडीले जानकारी दिएका छन् । 

बेलाबेलामा ठेकेदार साउदलाई काम सुरु गर्नु भनेर गाउँपालिकाले लिखित तथा मौखिक अभिव्यक्तिबाट अनुरोध गर्दा पनि ठेकेदार साउदले काम अगाडि नबढाएको सूचना अधिकारी ऐडीले बताए । 

उक्त १५ करोडको अस्पताल निर्माण गर्न भनि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको एकीकृत स्वास्थ्य पूर्वाधार विकास कार्यक्रमको आर्थिक सहयोग गरेको थियो । 

निर्माणाधीन अस्पतालको काम २ वर्षमा कम्पनीले सक्नु पर्ने थियो । सम्झौता भएको २ वर्ष  ५ महिना बितिसक्दा पनि भवन बन्ने कुनै ठेगान नभएको गाउँपालिका उपाध्यक्ष जमुना बोहराले बताइन् । 

ठेकेदार साउदलाई बेलाबखतमा अस्पतालको काम अगाडि बढाउन अनुरोध गरेको भए पनि आनाकानी गरेको उपाध्यक्ष जमुना बोहराले बताएकी छन् । 

ठेकेदारसँग गाउँपालिकाले जवाफ माग्दा ठेकेदार साउदले भवन निर्माणको लागि ठाउँ नपुगेको भन्दै काम अघि नबढाएको बताएको उनले बताइन् । समयसम्म निर्माणाधीन अस्पतालको फिल्ड सम्म्याउने कामसमेत पूरा नभएको उपाध्यक्ष बोहराको भनाइ छ । 

गाउँपालिका स्वास्थ्य संयोजक गोविन्द बिस्टका अनुसार अस्पतालले भवनको अभावका कारण तोकेबमोजिम तथा मापदण्ड अनुरूप सेवा प्रवाह नदिन सकेको बताए । 

अस्पतालसँग बर्थिङ, ल्याब, लगायतका सेवा प्रवाह गर्नको लागि कोठा नहुँदा थप समस्या झेल्नु परेको उनले बताए। कम्पनीका लेखापाल पुष्प साउदसँगले जमिनको अभावका कारण काम अगाडि नबढेको बताए ।

उक्त अस्पताल निर्माण गर्न आसपासको जमिन काट्दा समेत ठाउँ नपुग्ने भएपछि काम नगरेको लेखापाल साउदले बताए । तर साउदले अस्पताल निर्माणको काम अर्को ठाउँका लागि गाउँपालिकासँग कुरा भइसकेको बताएका छन्। 

प्रकाशित मिति : २० पुस २०८०, शुक्रबार  ३ : २७ बजे