पोखरामा प्रदेशस्तरीय कृषि यान्त्रीकरण प्रदर्शनी हुने 

गण्डकी । पोखरामा आजदेखि प्रथम प्रदेशस्तरीय कृषि यान्त्रीकरण प्रदर्शनी सुरु हुने भएको छ । 

कृषि पूर्वाधार विकास तथा कृषि यान्त्रीकरण प्रवर्द्धन केन्द्र, गण्डकी प्रदेशको कृषि विकास निर्देशनालय, पोखरा महानगरपालिका र नेपाल कृषि मेसिनरी व्यवसायी सङ्घको संयुक्त आयोजना सञ्चालन हुने प्रदर्शनी आगामी आइतबारसम्म चल्नेछ । 

प्रदर्शनीको २० हजारभन्दा बढीले अवलोकन गर्ने आयोजकको अनुमान छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना प्रवर्द्धक रहेको उक्त प्रदर्शनीमा ७० भन्दा बढी प्रदर्शनी कक्ष रहने पोखरा महानगरपालिकाका कृषि महाशाखा प्रमुख मनोहर कडरियाले जानकारी दिनुभयो । 

उहाँका अनुसार एक हजारभन्दा बढी प्रकारका उपकरण तथा प्रविधिका सामग्री प्रदर्शनीमा राखिनेछ । “विदेशी उत्पादक कम्पनीले पनि प्रदर्शनीमा भाग लिँदैछन्”, उहाँले भन्नुभयो, “व्यवसायी तथा किसानलाई कृषियन्त्र, उपकरणबारे जानकारी दिनुका साथै बिक्रीको पनि प्रबन्ध गरिएको छ ।”

पोखरा प्रदर्शनी केन्द्रमा हुने सो प्रदर्शनीमा पोखरा महानगरपालिकाले अनुदानमा आफ्ना किसानलाई कृषि उपकरण र सामग्री वितरणसमेत गर्ने भएको छ । महानगरको कृषि व्यवसाय प्रवर्द्धन समितिको बिहीबार बसेको बैठकले प्रदर्शनीको अवसर पारेर एक सय १६ मिनिटिलर, तीन सय ८५ प्लाष्टिकलगायत सामग्री वितरण गर्ने निर्णय गरेको महाशाखा प्रमुख कडरियाले बताउनुभयो ।

पोखरामा पहिलो पटक आयोजना हुन लागेको कृषि यान्त्रीकरण प्रदर्शनीबाट यस क्षेत्रका किसानले प्रत्यक्ष लाभ लिने उहाँको भनाइ छ । “कम लागतमा कृषि उत्पादन र बजारीकरणका लागि यान्त्रीकरणलाई अवलम्बन गर्न यो प्रदर्शनीले किसानलाई प्रेरित गर्छ, नयाँ नयाँ प्रविधिबारे किसानले सिक्ने र बुझ्ने अवसर पनि पाउँछन्”, महाशाखा प्रमुख कडरियाले भन्नुभयो । 

प्रकाशित मिति : २० पुस २०८०, शुक्रबार  ७ : ०८ बजे