दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

जडिबुटी बसपार्क नभत्काउन उच्च अदालतको फैसला

काठमाडौं । पूर्व अरनिको यातायात प्रालिले काठमाडौं महानगरपालिका–३२ वडाको जडिबुटीमा निर्माण गरेको बसपार्क नभत्काउन उच्च अदालत पाटनले फैसला गरेको छ ।

निजी लगानीमा निर्माण सम्पन्न भएर सञ्चालन समेत सुरुवात भएको बसपार्क र त्यहाँ निर्माण भएको संरचना महानगरपालिकाले भत्काउने भएपछि त्यसका विरुद्ध पूर्व अरनिको यातायात प्रालि उच्च अदालत पाटन गएको थियो ।

उच्च अदालत पाटनले असोज १२ गते अल्पकालिन अन्तरिम आदेश दिएको थियो । त्यस्तै अदालतले असोज २१ गते नभत्काउनका लागि अन्तरिम आदेश समेत दिएको थियो । अदालतको अन्तरिम आदेश र जिल्ला प्रशासन कार्यालयले अस्थाई रुपमा बसपार्क सञ्चालनको अनुमती दिएपछि पुर्व अरनिको यातायात प्रालिले अहिले बसपार्क सञ्चालन गरिरहेको छ ।

काठमाडौं महानगरपालिकाले हालसम्म बसपार्क सञ्चालनको अनुमती दिएको छैन । उच्च अदालत पाटनले बुधबार अरनिको यातयातको पक्षमा फैसला गर्दै निजी लगानीमा निर्माण भएको बसपार्क र त्यहाँ निर्माण भएको कुनै पनि संरचना नभत्काउन फैसला गरेको पुर्व अरनिको यातायात प्रालिका अध्यक्ष केदार क्षेत्रीले जानकारी दिए ।

अदालतको फैसलासँगै अब आफुहरु बसपार्क सञ्चालनका लागि योजना बनाएर अगाढी बढ्ने अध्यक्ष क्षेत्रीले जानकारी दिए ।

काठमाडौं महानगरपालिकाले असार १ गतेदेखि महानगर क्षेत्रभित्रबाट उपत्यका बाहिरीने लामो, र मध्यम दूरीमा सञ्चालन हुने यात्रुवाहक सवारी साधनहरुलाई अनिवार्य रुपमा काठमाडौंमा रहेको गोङ्गबु बसपार्कबाट नै छुट्नुपर्ने व्यवस्थाको सुरुवात गरेपनि पुर्व अरनिको यातायात प्रालिले भने आफ्नै लगानीमा छुट्टै बसपार्क निर्माण गरेर दशै देखि नै त्यहीबाट बसहरु सञ्चालन गरेको थियो ।

राजधानी पुर्वका जिल्लामा सञ्चालन हुने यातायातका साधानहरु लाई गोङबु बसपार्कमा नै पुग्नुपर्ने निर्णय अव्यवहारीक रहेको भन्दै पूर्व अरनिको यातायात प्रालिले काठमाडौ महानगरपालीका–३२ नम्बर वडाको जडिबुटीमा सुविधासम्पन्न बसपार्क निर्माण सम्पन्न गरेर यात्रुहरुलाई त्यहीबाट सेवा सुविधा दिएको अध्यक्ष क्षेत्रीले जानकारी दिए ।

१४ रोपनी जग्गा भाडामा लिएर पुर्व अरनिको यातायाता प्रालिले सुविधासम्पन्न बसपार्क निर्माण गरेको थियो ।

प्रकाशित मिति : १८ पुस २०८०, बुधबार  ७ : १९ बजे