दुई दिनभित्र लाइन जडान नगरे आन्दोलनमा उत्रिने उद्योगीको चेतावनी

काठमाडौं । बुटवल–भैरहवा औद्योगिक करिडोरका उद्योगीले डेडिकेटेड र ट्रंकलाइनको महसुल नतिरेको भन्दै उद्योगमा काटिएको लाइन दुई दिनभित्र जडान गर्न माग गरेका छन् ।

नेपाल विद्युत प्राधिकरण भैरहवा वितरण केन्द्रले घराना फुड्स र सिद्धार्थ पेटप्लाष्ट उद्योगमा गत शुक्रबार राति लाइन काटेको थियो । त्यस क्षेत्रका उद्योगी तथा व्यवसायीहरूले पुस २० गतेसम्म विद्युत जडान नभएमा करिडोरका १९ वटै उद्योग बन्द गरेर आन्दोलनमा उत्रिने जनाएका छन् । प्राधिकरणको भैरहवा वितरण केन्द्र र नयाँमिल वितरण केन्द्रमा ज्ञापनपत्र बुझाउदै उद्योगीहरुले आफूहरुले ट्रंकलाइन माग नगरेको, आपूर्ति पनि नभएको र प्रयोग पनि नगरेको हुँदा काटिएको लाईन जडानको माग गरेका हुन् ।

उद्योगीहरुले आफूहरुले कानूनी उपचार खोजिरहेको र अदालतमा मुद्दा विचाराधीन रहेका बेला प्राधिकिरणले रुपन्देहीका दुई वटा उद्योगको लाइन काट्नु अन्यायपूर्ण व्यवहार भएको भन्दै पुस २० गतेसम्म लाइन जडान गर्न माग गरेका हुन् । सिद्धार्थ उद्योग बाणिज्य संघको ऐक्यवद्धता रहेको भन्दै संघका अध्यक्ष ठाकुर श्रेष्ठले उद्योगीले डेडिकेटेड र ट्रंक लाइन माग गरेको, विद्युत आपुर्ति गरेको र उद्योगले खपत गरेको लिखित प्रमाण पेश गर्न प्राधिकरणको वितरण केन्द्रसंग माग गरे ।

प्राधिकरणको भैरहवा वितरण केन्द्रले २०७४ चैत १४ मा आफ्नो आन्तरिक लोड भार मिलान गर्ने क्रममा १३ वटा उद्योगहरुको कनेक्सन जडान भएदेखि नै लोडसेडिङ खेप्दै आएको उद्योगीहरुले जनाएका छन् । ज्ञापन पत्र बुझ्ने क्रममा प्राधिकरणले उद्योगीको माग माथिल्लो निकायमा पठाउने जनाएका छन् ।

प्राधिकरणले यस क्षेत्रका उद्योगले २०७२ भदौदेखि २०७६ मंसिरसम्म ट्रंकलाइनमार्फत विजुली उपयोग गरेको भन्दै वक्तौता भुक्तानी गर्न भनेको थियो । तर उद्योगीले प्रयोग नै नगरेको ट्रंकलाइन महशुल तिर्न नसक्ने जनाउदै आएका छन् ।

प्रकाशित मिति : १८ पुस २०८०, बुधबार  ५ : ०४ बजे