दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

विदेशिए गोठाला, हराए गोठ

यस्तो छ आजको मौसम पूर्वानुमान

कोसी प्रदेश स्तरीय भलिबल माघमा

टक्सार (भोजपुर) । जिल्ला स्तरीय प्रतियोगिताहरू समेत कम भइरहेको अवस्थामा कोसी प्रदेश स्तरीय अन्तर पालिका भलिबल प्रतियोगिता भोजपुरमा हुने भएको छ । 

षडानन्द नगरपालिकाको केन्द्र दिङलामा प्रदेश स्तरीय भलिबल प्रतियोगिताको आयोजना हुन लागेको हो । 

जिल्ला खेलकुद विकास समितिको आयोजनामा प्रदेशका पालिकाहरूले सहभागिता जनाउन पाउने गरी प्रतियोगिताको आयोजना हुने जिल्ला खेलकुद विकास समिति भोजपुरका अध्यक्ष दावा शेर्पाले जानकारी दिनुभयो । प्रतियोगितामा प्रदेशभरिका एक सय ३७ पालिकाले सहभागिता जनाउने  छन् । 

प्रतियोगितामा विजेता हुने टोलीले एक लाख ५० हजार नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र तथा उपविजेता हुने टोलीले एक लाखको साथमा शिल्ड, मेडल र प्रमाणपत्र पाउने छन् । 

यस्तै प्रतियोगितामा तेस्रो हुने टोलीले नगद ५० हजारका साथमा शिल्ड, मेडल र प्रमाणपत्र पाउने छन् । प्रतियोगिताअन्तर्गत उत्कृष्ट छ विधामा खेलाडीले पाँच हजार साथमा मेडल र प्रमाणपत्र पाउने जिल्ला खेलकुद विकास कार्यालय भोजपुरका सचिव ग्याल्जेन शेर्पाले बताउनुभयो । 

आगामी माघ २४ देखि २७ गतेसम्म सञ्चालन हुने प्रतियोगिताले जिल्लाको खेलकुद पर्यटनमा समेत मद्दत पुग्नेछ । ‘सुन्दर प्रकृति र स्वर्गरुपी मेरो देश, खेलकुदमार्फत पर्यटनको सन्देश’ भन्ने मूल नाराका साथ हुने प्रतियोगितामा कोसी प्रदेशभरिका पालिकाहरूले नगद दुई हजार पाँच सय तिरेर टोली दर्ता गर्न पाउने अध्यक्ष शेर्पाले बताउनुभयो । 

भलिबलका उत्कृष्ट खेलाडीहरू उत्पादन गरेको भोजपुरमा पछिल्लो समयमा कम हुँदै गएको प्रतियोगिताले खेलाडीहरूमा उत्साहसमेत हराएकाले प्रदेश स्तरीय प्रतियोगिता नै आयोजना गर्नुपर्ने आवश्यकता भएको समितिका उहाँको भनाइ रहेको छ । “खेलकुद क्षेत्रको विकासका लागि समितिले काम गरिरहेको छ, खेलकुद क्षेत्रका लागि परिचित जिल्लाका रूपमा भोजपुरलाई चिनाउने गरी काम गर्ने छौँ,” अध्यक्ष शेर्पाले भन्नुभयो । 

‘राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद’ भन्ने नारालाई पूर्ण सार्थकता दिनका लागि खेलकुद अपरिहार्य भएको जिल्ला खेलकुद विकास कार्यालयका सचिव शेर्पाले बताउनुभयो । खेल बिना मानिस अधुरो हुन्छ भने खेलले स्वास्थ्यलाई सुधार्ने काम गर्छ र मानिस पूर्णरुपमा स्वास्थ्य हुन्छ भन्ने कुरामा पनि हामीले ध्यान दिएका छौँ”, उहाँले भन्नुभयो ।

प्रकाशित मिति : १८ पुस २०८०, बुधबार  १० : ०१ बजे