दुई समूहबीच झडप भएपछि बाँकेको जयेन्दु बाल सुधार गृहमा तनाव

बाँके । बाँकेको बैजनाथ गाउँपालिका–३ स्थित नौबस्ता बाल सुधार गृहमा तनावग्रस्त सिर्जना भएको छ । आइतबार दिउँसो दुई समूहबीच झडप भएपछि सुधार गृहमा तनाव उत्पन्न भएको हो ।

सुधारगृहका प्रमुख श्याम बहादुर राना अनुसार नेपालगञ्जबाट ल्याइएका टोली र त्यहाँ रहेका टोलीबीच तीन/चार दिन अघि पनि झडप भएको थियो । त्यसक्रममा ४-५ जना घाइते समेत भएका थिए । हिजो पुनः झडप हुँदा स्थिति तनावपूर्ण बनेको प्रमुख रानाले जानकारी दिएका छन् । नौं वर्षअघिको रिसिइबीलाई लिएर दुई समूहबीच झडप भएको उनले बताए । ‘धेरै ठाउँबाट बालकहरू ल्याएका थियौं, ९ वर्षअघि झगडा परेकाहरूको यहाँ भेट भएछ,’ उनले भने । झडपपछि एक समूहले नेपालगञ्जबाट ल्याइएका समूहलाई अन्यत्र सार्न माग गरिरहेको प्रमुख रानाले बताए ।

प्रमुख रानाका अनुसार सुधार गृहको सुरक्षाका लागि प्रहरीको सईको नेतृत्वमा २५ जना नेपाल प्रहरी र ३० जना सशस्त्र प्रहरी खटिएका छन् । उनीहरू सबैलाई सुधार गृहमा रहेकाहरूले भित्र जान दिएका छैनन् । सुधार गृह तनावग्रस्त बनेपछि आफूहरू आइतबार दिउँसो देखि नै त्यहाँ रहेको बाँकेका प्रहरी प्रवक्ता डिएसपी नारायण डाँगीले बताए ।

सुधारगृहमा रहेका बालकहरूले त्यहाँको सुधार गृहको सुरक्षामा खटिएका सुरक्षाकर्मीहरूलाई भित्र जान नदिएको र उनीहरू कम्पाउण्डमा आएर हो–हल्ला गरिरहेको जानकारी दिए । ‘हामी हिजोदेखि नै यहीँ छौं, भित्र जान मिलेन । समन्वय गर्ने प्रयास गर्दैछौं,’ डिएसपी डाँगीले भने ।

उक्त बाल सुधार गृह असोजदेखि मात्रै सञ्चालनमा आएको हो । सरकारले १८ वर्षमाथिकालाई राख्नका लागि बनाएको यस सुधार गृहमा अहिले ११६ जना बालबन्दी छन् । भैरहवा भन्दा १३ जना राखेर सुरू गरिएको बालसुधार गृहमा जयेन्दु बालसुधार गृहबाट ६९ जना, हेटौंडाबाट १८ जना, वीरगञ्जबाट १५ जना, भैरहवाबाट १४ जना ल्याइएका छन् । उनीहरू सबै १८ वर्षमाथिका हुन् । अधिकांश व्यक्तिहरू जबरजस्तीकरणी र लागुऔषध र कर्तव्य ज्यान मुद्दामा सजाय पाएकाहरू छन् । घटनाबारे प्रमुख जिल्ला अधिकारीलाई जानकारी गराइएको र छलफलबाट समस्या समाधान गरिने सुधार गृहका प्रमुख रानाले जानकारी दिएका छन् ।

प्रकाशित मिति : १६ पुस २०८०, सोमबार  ११ : १० बजे