आज राष्ट्रिय टोपी दिवस मनाइँदै

काठमाडौं । आज अंग्रेजी नयाँ वर्ष २०२४ को पहिलो दिन टोपी दिवस मनाइँदैछ ।

नेपाली टोपीको प्रवर्द्धन गर्नका लागि भन्दै केही वर्षदेखि स्वतःस्फूर्त रुपमा ईस्वी संवतको नयाँ वर्षको पहिलो दिन पारेर यो दिवस मनाउन थालिएको हो ।

मुलुकमा पश्चिमा संस्कृतिको प्रभाव बढ्दै गएको भन्दै केही युवाको अगुवाईमा २०७० सालदेखि हरेक वर्षको जनवरी १ लाई टोपी दिवस र पुस १७ गतेलाई राष्ट्रिय पोशाक दिवसको रुपमा मनाउन सुरु गरेका थिए।

नेपाल बाहिर रहेका नेपाली र नेपालीभाषीहरुले पनि नेपाली टोपी लगाउने गर्छन् । नेपाली टोपीको साइनो बंगलादेशको ढाका, काश्मीर, टर्की, कैलाश पर्वत र पाल्पासँग जोडिन्छ।

विशेषतः भादगाउँले टोपी र ढाका टोपीलाई नेपाली टोपीका रुपमा लिने गरिन्छ । नेपालका विभिन्न समुदायले आ९आफ्नो पहिचान र परम्परा झल्किने खालका टोपी लगाउने गरेका छन् ।

यो दिन नेपाल र नेपाल बाहिर रहेका नेपाली समुदायले विभिन्न कार्यक्रमको आयोजना गरी धुमधामका साथ नेपाली टोपी दिवस मनाउने गरेका छन् । यो लहरसँगै पछिल्लो समय नेपाली टोपी लगाउनेको संख्या बढिरहेको छ ।

प्रकाशित मिति : १६ पुस २०८०, सोमबार  १० : ३२ बजे