सुर्खेतमा आन्दोलन चर्कियो

सुर्खेत । शुक्रबार ललितपुरको बालकुमारीमा भएको आन्दोलनका क्रममा दैलेखका सुजन रावत र अछामका वीरेन्द्र शाहको मृत्यु भएको घटनालाई लिएर आइतबार वीरेन्द्रनगरमा पुनः आन्दोलन चर्किएको छ ।

‘युवा विद्रोही’ समूहले आइतबार सवारी साधन ठप्प गर्दै राजधानीको मुख्य सडक चक्काजाम गरेको छ ।

रत्न राजमार्ग अन्तर्गत एरिचोक–मंगलगढी चोकको अवस्था अहिले तनावग्रस्त छ । त्यहाँ कुनैपनि सवारी साधनहरू चलिरहेका छैनन् । यही ठाउँमा शनिबार पनि आन्दोलन गरिएको थियो ।

शनिबार नै समूहले आइतबार सुर्खेतमा सवारी साधन बन्द गर्ने घोषणा गरेको थियो ।

आन्दोलनकारीले गृहमन्त्री नारायणकाजी श्रेष्ठ र भौतिक पूर्वाधार मन्त्री प्रकाश ज्वालाको राजीनामा माग गरेका छन् । साथै मृतक युवाहरूलाई शहीद घोषणा गर्न माग गरेका छन् । पीडित परिवारलाई उचित शिक्षा, स्वास्थ्य, लालन पालनको सम्पूर्ण ग्यारेन्टी राज्यले गर्नुपर्ने पनि युवाहरूको माग छ ।

प्रकाशित मिति : १५ पुस २०८०, आइतबार  १ : ५० बजे