‘आखिर बिरालो म्याउँ गरिछाड्यो’

समृद्धिको मोडलमा देशलाई एमालेले मात्रै हिँडाउन सक्ने कुरा प्रमाणित भइसक्यो : उपमहासचिव गुरुङ

पोखरा ।  नेकपा (एमाले) उपमहासचिव पृथ्वी सुब्बा गुरुङले पार्टी काम व्यवस्थित बनाउन उत्कृष्ट कार्य योजनासहित अगाडि बढ्न आग्रह गर्नुभएको छ । 

पार्टीको गण्डकी प्रदेश कमिटीको पहिलो बैठकलाई सम्बोधन गर्नुहुँदै उपमहासचिव गुरुङले समृद्धिको मोडलमा देशलाई एमालेले मात्रै हिँडाउन सक्ने कुरा प्रमाणित भइसकेको बताउनुभयो ।

वर्तमान गठबन्धन सरकारले विगतको एक वर्षमा कुनै उल्लेख्य काम गर्न नसक्दा देशमा निराशा बढ्दै गएको भन्दै उहाँले बिग्रँदो अर्थतन्त्र, सामाजिक अराजकता लगायत विषयका कारण देश नै बरबादीतिर उन्मुख गराएको जिकिर गर्नुभयो ।

उहाँले नेकपा एमालेले आम जनताको चाहना र इच्छा बुझेर काम गर्नुपर्ने बताउनुभयो । 

पार्टीका सचिव तथा गण्डकी प्रदेशका इन्चार्ज गोकर्ण विष्टले कार्यकर्ता र सबै नेताहरूलाई  सुदृढ पार्टी निर्माणमा हरतरहले लाग्न आग्रह गर्दै सबल र सक्षम कार्यकर्ता निर्माणमार्फत ‘समृद्ध नेपाल, सुखी नेपाली’ को गन्तव्यमा पुग्न सकिने बताउनुभयो । 

पार्टीका स्थायी कमिटी सदस्य खगराज अधिकारीले मिसन–२०८४ को अभीष्ट पूरा गर्न सिङ्गो पार्टी कमिटी र सदस्यहरू एकमना एकताका साथ लाग्नुपर्नेमा जोड दिनुभयो । उहाँले लोकतान्त्रिक गणतन्त्रको कुनै विकल्प नभएको भन्दै अनेकन् अफवाहलाई चिर्दै जनताको बिचमा निरन्तर जानुपर्ने बताउनुभयो । 

नेकपा (एमाले) गण्डकी प्रदेश कमिटीका अध्यक्ष नवराज शर्माको अध्यक्षतामा सम्पन्न बैठकले प्रदेश कमिटीका सदस्यहरूको कार्य विभाजन गरेको प्रदेश कमिटी सचिव धनञ्जय दवाडीले बताउनुभयो ।

एमाले गण्डकी प्रदेश कमिटीको पहिलो बैठक शुक्रवार पोखरामा सम्पन्न भएको छ ।

प्रकाशित मिति : १४ पुस २०८०, शनिबार  ८ : ५१ बजे