दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

मानवीय त्रुटिले यती एयरलाइन्सको एटीआर–७२ जहाज दुर्घटना भएको निष्कर्ष

काठमाडौँ ।गत माघ १ गते पोखरामा भएको यती एयरलाइन्सको एटीआर–७२ जहाज दुर्घटना मानवीय कारणले भएको निष्कर्ष निकाल्दै दुर्घटना जाँच आयोगले बिहीबार अन्तिम प्रतिवेदन सरकारलाई बुझाएको छ ।

पूर्व सचिव नगेन्द्रप्रसाद घिमिरे संयोजकत्वको जाँचबुझ आयोगले आठ महिना तीन दिन लगाएर तयार पारेको प्रतिवेदन बिहीबार संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीलाई हस्तान्तरण गरेको हो ।

“जहाज अवतरणको क्रममा ककपिटमा रहेका पाइलटले फ्लेप (Flap) लिभर तान्नुपर्ने थियो तर, कन्डिसन लिभर तानेको पाइयो । यसले गर्दा जहाजस्थिर हुन सकेन”, जहाज दुर्घटनाको कारण बताउँदै आयोगका सदस्यसचिव बुद्धिसागर लामिछानेले भन्नुभयो, “पाइलटका लागि नयाँ विमानस्थल थियो । धावनमार्ग वरिपरि टेरेन्ट पनि थियो । यो पनि दुर्घटनाको कारक थियो । उक्त दुर्घटनामा मानवीय पक्ष बढी जिम्मेवार देखिन्छ ।”

एटीआर–७२ हवाईजहाज दुर्घटनाको मुख्य कारण मानवीय कमजोरी देखिएको आयोगका अध्यक्ष नगेन्द्रप्रसाद घिमिरेले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “पाइलटले फ्लेप लिभर (जहाजको स्पिडलाई स्लो गर्ने) तान्नुपर्नेमा दुर्भाग्यवश ‘कन्डिसन लिभर’ तानेको देखिन्छ । जसले गर्दा जहाज ‘फिदर कन्डिसन’ मा गएपछि अगाडिको ‘मोसन’ जहाजले नपाएकाले दुर्घटनाग्रस्त हुन पुगेको हो । दुर्घटनाको विश्लेषण गर्दा मानवीय त्रुटि बढी देखियो ।” अध्यक्ष घिमिरेका अनुसार जहाज दुर्घटनाको अर्को कारणमा नयाँ विमानस्थल पूर्ण तयारी नभईकन सञ्चालनमा ल्याइनु पनि हो । 

प्रतिवेदन ग्रहण गर्दै मन्त्री किरातीले प्रतिवेदनमा दिइएका सुझावका विषयमा सञ्चालक, नियामक निकाय र मन्त्रालय तिनै पक्षले कडाइका साथ कार्यान्वयन गर्न आवश्यक निर्देशन दिने विश्वास व्यक्त गर्नुभयो । आयोगले आगामी दिनमा यस्ता दुर्घटना हुन नदिन वायुसेवा सञ्चालक, नियामक र मन्त्रालयलाई आठ बुँदे सुझाव दिएको छ ।

विमान दुर्घटना भएकै दिन सरकारले पूर्व सचिव घिमिरेको संयोजकत्वमा पाँच सदस्यीय जाँचबुझ आयोग गठन गरेको थियो । आयोगमा हवाई विज्ञ नेपाली सेनाका अवकाशप्राप्त क्याप्टेन दीपकप्रकाश बाँस्तोला, अवकाशप्राप्त क्याप्टेन सुनिल थापा, जहाज मर्मत सम्भार विषयका इञ्जिनियर एकराजजङ्ग थापा र आयोगको सदस्य सचिवमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछाने हुनुहुन्थ्यो ।

सहसचिव लामिछानेले अहिलेसम्मकै बढी समय लगाएर दुर्घटनाग्रस्त जहाजबारे विस्तृत अध्ययन अनुसन्धान गरिएको दाबी गर्नुभयो । विभिन्न मुलुकका यात्रु पनि दुर्घटनामा परेकाले अन्य मुलुकको चासो रहेको थियो । जहाजको उपकरण फ्रान्सको सुविधा सम्पन्न ल्याबमा परीक्षण गरिएको थियो । दुर्घटना जाँचका सम्बन्धमा सिङ्गापुरमा विज्ञसँग पनि छलफल गरिएको थियो ।

जहाज प्राविधिक कारणले नभई मानवीय (पाइलट)को त्रुटिका कारण दुर्घटनामा परेको अयोगले निष्कर्ष निकाल्दै जहाजले जम्मा २८ हजार सात सय ३१ घण्टा ३३ मिनेट (दुर्घटनाको समयसम्म) मात्र उडान भरेको पाइएको जनाएको छ ।

एटीआर फ्रान्स: एभियसन डी ट्रान्सपोर्ट रिजिनल तथा इटालियनः एयरी डी ट्रान्सपोर्ट रिजिनलले उत्पादन गरेको उक्त जहाज ३० हजार एक सय चार साइकल उडेको आयोगको प्रतिवेदनमा उल्लेख गरेको छ । जहाजको नियमित चेकजाँच, सर्भिसिङको समय सन् २०२३ अप्रिल २४ सम्म रहेकामा समय अगावै प्राविधिक समस्या नरहेको जनाउँदै १४ जनवरी, २०२३ मा जहाज दुर्घटनामा परेको प्रतिवेदनमा उल्लेख गरिएको छ । जहाज उडानका क्रममा दुवै इञ्जिनका प्रोपेलरहरु फेदरमा गएपछि तत्काल गतिशीलता दिन नसक्दा जहाज दुर्घटना परेको अध्ययन समितिको निष्कर्ष छ ।

प्रतिवेदनमा जनाइए अनुसार बिहानको १०ः५१ बजे काठमाडौँबाट पोखराका लागि उडेको जहाज अवतरण गर्ने क्रममा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको मौसम, भिजिबिलिटी तथा प्राविधिक पक्ष राम्रो रहेको थियो । “भीएनपीआरमा टेक अफ, चढाइ, क्रुज र अवतरण सामान्य थियो । मौसम अनुकूल थियो । भीएमसी गन्तव्य एयरपोर्टको बाटोमा भीएनपीआर टावरसँगको पहिलो सम्पर्कको समयमा, एयर ट्राफिक कन्ट्रोलर९एटीसी० सँग विमान अवतरणका लागि अनुमति माग गरेकामा रनवे ३० को अनुमति प्रदान गरिएको थियो । तोकिएको धावनमार्गमा नभएर पाइलटले अकस्मात् रनवे परिवर्तन गरेर १२ को अनुमति माग गरेको पाइएको छ”, प्रतिवेदनमा भनिएको छ ।

रनवे १२ अवतरणका लागि योग्य रहेको एटीसीले सन्देश पठाएको थियो । जहाज छ हजार पाँच सय फिटमाथिबाट एकै पटक सात सय २१ फिटमा झरेर फेरि माथि उठाउन खोज्दा इञ्जिनको गति स्थिर हुन पुगेपछि जहाज तल झर्न पुगेको देखिएको प्रतिवेदनमा उल्लेख गरिएको छ । उक्त जहाज सेती नदीको खोँचमा खसेको थियो । जहाज भुईँमा बजारिए लगत्तै आगजनी हुँदा जहाजमा सवार ७२ यात्रुकै मृत्यु भएको प्रतिवेदनमा जनाइएको छ । दुघ्रटनाग्रस्त जहाजमा चालक दलका चारसहित ७२ जना सवार थिए । 

 

प्रकाशित मिति : १३ पुस २०८०, शुक्रबार  ७ : ०५ बजे