योग्यता नपुगि पशुपति विकास कोषमा नियुक्ति गरिएको भन्दै संसदीय समितिले माग्यो मन्त्रालयसँग कागजात

काठमाडौं । पशुपति क्षेत्र विकास कोषको कार्यकारी निर्देशक नियुक्ति विषय विवादमा परेको छ ।

माओवादी नेतृ लक्ष्मी पुनलाई पशुपति क्षेत्र विकास कोषको निर्देशक बनाउने क्रममा पेस गरिएका कागजात उपलब्ध गराउन संघीय संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिले निर्देशन दिएको छ।

समितिको बैठकपछि निर्णय सुनाउँदै सभापति राजकिशोर यादवले तीन दिनभित्र कागजात उपलब्ध गराउन संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र पशुपति क्षेत्र विकास कोषलाई निर्देशन दिए।

समितिको बिहीबारको बैठकमा सांसदहरूले पुनलाई पशुपति क्षेत्र विकास कोषको निर्देशकमा गरिएको नियुक्तिमाथि प्रश्न उठाएका थिए। परिवार दलका अध्यक्ष एकनाथ ढकालले कार्यकारी निर्देशकमा लक्ष्मी पुनको योग्यता पुगेको छ कि छैन ? मास्टर्स गरेको छ भने १५ वर्ष र स्नातक हो भने २० वर्ष कुनै संस्थामा काम गरेको छ कि छैन ? भन्दै प्रश्न उठाए ।

ढकालले पुन अहिलेसम्म पनि समानुपातिक सांसदको सूचीमा रहेको बताउँदै समानुपातिक सूचीमा रहेको मान्छे कार्यकारी नियुक्त गर्न मिल्छ कि मिल्दैन भन्दै प्रश्न पनि उठाए ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनालले कार्यकारी निर्देशक नियुक्तिमा के आधारमा मापदण्ड पूरा गरिएको भन्दै प्रश्न गरे ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद धवलशमशेर राणाले लक्ष्मी पुन क्रिश्चियन धर्मावलम्बी रहेको कुरा उनी बसेको घरको महिलाले बताएको उल्लेख गर्दै उनको धर्म के हो छानबिन गर्नुपर्ने बताएका थिए ।

गत पुस ४ मा बसेको परिषद् बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीको प्रस्तावमा पुनलाई कार्यकारी निर्देशकमा नियुक्त गरिएको थियो। पुन माओवादी नेता जनार्दन शर्मा गृहमन्त्री हुँदा प्रेस संयोजक भएकी थिइन्।

प्रकाशित मिति : १२ पुस २०८०, बिहिबार  ४ : ०० बजे